चार लेन पुलमा पोखरीको डिजाइन परिवर्तन

युग संवाददाता     190 पटक पढिएको    

चार लेन पुलमा पोखरीको डिजाइन परिवर्तन

कञ्चनपुर /  नेपालकै गौरवको योजना अन्तर्गत महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पुलमा निर्माण गरिने भनिएको पोखरीको डिजाइन परिवर्तन गरिएको छ । २०७८ फागुनसम्म सम्पन्न भइसक्ने आयोजनामा डिजाइन बाधक बनेपछि पोखरीको डिजाइन परिवर्तन गर्नुपरेको महाकाली पुल योजनाका इन्जिनीयर दुर्गादत्त अवस्थीले बताए । 
उनले भने,‘अब डिजाइन परिवर्तन स्वीकृत भएको छ, ६० प्रतिशत ढुङ्गा र ४० प्रतिशत कंक्रिट अर्थात ढुङ्गा र मसालाको प्रयोगबाट पोखरी निर्माण हुनेछ ।’ डिजाइन परिवर्तनसँगै ठेकेदार कम्पनीको म्याद पनि थप गरिने ईन्जिनियर अवस्थीले बताए । २०७४ भदौ ७ गते ३ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरि ठेक्का सम्झौता भएको थियो ।
त्यसपछि २०७८ जेठ २ र २०७८ फागुन १५ मा गरी दुई पटक म्याद थप भइसकेको छ । अब २०८० साउन मसान्त सम्मका लागि म्याद थप्न सिफारिस गरिएको ईन्जिनियर अवस्थीले बताए । उनले भने, ‘म्याद थप गर्नैपर्छ, हाम्रो कारणले ढिलाई भएको हो, यसमा ठेकेदार कम्पनीको केही भूमिका छैन ।’ 
४ अर्ब २० करोड ८३ लाख ६३ हजार ७ सय ५ रुपैयाँ लागत अनुमान गरिएको योजनामा ठेकेदार कम्पनीसँग २२ प्रतिशत घटीमा ३ अर्ब २७ करोड ९३ लाख ४ सय ९१ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । काम गर्दैजाँदा केही सामान आवश्यक नभएको भेटिएपछि पुनरमुल्याङ्कन गर्दा ३ अर्ब २४ करोड २५ लाख रकम पुगेको थियो । दास्रो पटक केही सामान थप्नुपर्ने भएपछि पुनरमुल्याङ्कन गर्दा ३ अर्ब ६६ करोड ९ लाख हुन पुगेको ईन्जिनीयर अवस्थीले बताए । 
यस पटक धेरै कामहरु थप्नुपर्ने भएपछि लागतमा २५ प्रतिशतभन्दा बढी रकम थप्नुपर्ने महाकाली पुल योजनाका सूचना अधिकारी इन्जिनीयर सविना रानाभाटले बताइन् । उनले भनिन्–‘कति थप्नुपर्छ भन्ने अहिले भन्न सकिदैन फाईल बिभागमा पठाएका छौ, अहिलेलाई २५ प्रतिशतभन्दा बढी बढ्छ भन्न सकिन्छ ।’
यसैबीच, नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । महाकाली पारीको दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने तथा दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुख्खा बन्दरगाहलाई लक्षित गरी महाकालीमा चार लेनको पक्की पुल निर्माण भइरहेको हो । 
३४ वटा पिल्लर र ३२ वटा सल्याप बनाएर निर्माण भएको पुलको ९९ प्रतिशत काम सकिएको छ । पुलमा पिच समेत भइसकेको निर्माण कम्पनी कुमार सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले बताए । उनले भने,‘पुलको काममा दुई तीन सय मिटर पिच गर्न मात्र बाँकी छ ।’ चार वर्षअघि निर्माण सुरु भएको ४ लेनको पुलको काम वर्षा रोकिने बित्तिकै पिच गरेर सम्पन्न गरिने पाण्डेयले बताए । 
इन्जिनियर पाण्डेयले भने,‘पुलको दुवैतर्फ निर्माण हुने पहुँच मार्गको काम पनि ९५ प्रतिशत सकिएको छ ।’ बाटोमा पर्ने ३ वटा पुल निर्माण सम्पन्न भइसकेको छ । निर्माण हुने ७.८ किलोमिटर सडक भरानको काम पनि सकिएको छ । पुलको पारी ६ सय मिटर र वारि १८ सय मिटर बाहेक ५४ सय मिटरमा पिच भइसकेको छ । 
सडक किनारमा निर्माण गर्नुपर्ने १२ किलोमिटर नाली निर्माणको काम सम्पन्न भइसकेको इन्जिनीयर पाण्डेयले बताए । उनले थपे,‘पिचको काम पूरै सम्पन्न भइसक्थ्यो तर पोखरीको डिजाइनमा समस्या आएपछि त्यस वरिपरिको सडकमा पिच गर्न रोकेका हौं, अब समस्या सामाधान भइसक्यो तीव्र गतिमा काम हुन्छ ।’ 
महाकाली पुल योजनाको समग्र कार्यमा ८१ प्रतिशत प्रगति भएको महाकाली पुल योजनाका साइट हेर्ने इन्जिनीयर दुर्गादत्त अवस्थीले बताए । उनले भने,‘पुलको काम सम्पन्न भएको छ, समग्र योजनाकै कुरा गर्ने हो भने ८१ प्रतिशत काम सम्पन्न भएको छ ।’
भीमदत्त नगरपालिका–१३ ओदाली र माहाकाली नगरपालिका–१ चाँदनीलाई जोडनेगरि निर्माणाधीन पक्की पुलको २०७४ भदौ ७ मा प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका थिए । 
आठ सय मिटर लम्बाइ र २४ मिटर चौडाइको पुलको काम तीन वर्षभित्र सक्ने गरी कुमार सिएफइसी जेभीसँग ३ अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको थियो । पुलको दुवैतर्फ बाँध बाँधेर आँखा आकारको पोखरी निर्माण गरी पर्यटकीय स्थलका रुपमा समेत विकसित गरिने गरी पुलको डिजाइन गरिएको छ । 
पुलको उत्तरपट्टि १ वर्ग किलोमिटरभन्दा ठूला २ वटा पोखरी र दक्षिणपट्टि ०.३ वर्ग किलोमिटरका दुई वटा पोखरी निर्माण गरिने बताइएको छ । उत्तरपट्टिको तालमा ६ वटा आइसल्याण्ड बनाइने र ती आइसल्याण्डलाई पिकनिक स्पोर्टका रुपमा प्रयोग गरिने डिजाइनमा उल्लेख छ । 
‘तीन वर्षभित्रै काम नसकिने भएपछि निर्माण कम्पनीको आग्रहमा म्याद थप गरी २०७९ कात्तिकभित्र काम गरिसक्नु पर्ने म्याद दिएको छ । ‘पहिले महाकालीमा भारतले पानी छोड्ने समस्या र मुआब्जा विवादका कारण म्याद थप गर्नुप¥यो’ इन्जिनियर पाण्डेयले भने, ‘यो अवधीभित्र काम सक्नेगरी हामी लागेका हौं, तर ताल बनाउँदा प्रयोग गर्नुपर्ने ढुङ्गा नपाइएपछि डिजाइन परिवर्तन गर्नुप¥यो, अस्ति मात्र डिजाइन परिवर्तन भएर आएको छ, अब हामीले २०८० असारमा काम सक्छौ ।’ 
पुल निर्माण भएसँगै यस क्षेत्रका व्यापार व्यवसायसँगै सडक सञ्जालबाट टाढा रहेको महाकाली पारीको क्षेत्रलाई पनि यातायातसँग पहुच जोडिनेछ । यस क्षेत्रका उद्योगी व्यवसायी र दोधारा चाँदनीबासीले वर्षाैदेखि पक्की पुलको माग गर्दैआएका थिए । 



मङ्गलबार ३१, साउन २०७९ ०९:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.