मल नपाएर सुदूरपश्चिमका किसान हैरान

युग संवाददाता     31 पटक पढिएको    

मल नपाएर सुदूरपश्चिमका किसान हैरान

 

धनगढी — धान बाली भित्र्याइसकेका किसान गहुँ छर्ने र तरकारी बाली लगाउने तयारीमा छन् । तर किसान र बिक्रेता समेत मलखाद नपाएर तनावमा छन् । सुदूरपश्चिममा यतिबेला युरिया मलको चरम अभाव छ । अहिले गहुँ, तोरी, मसुरोलगायत खाद्य, दलहन तथा तेलहन बाली र आलुलगायत मुख्य तरकारी लगाउने बेला हो । तर किसानहरु युरिया नपाएर हैरान छन् । धनगढी उपमहानगरपालिका–३ बडहराका किसान मधु चौधरीले बालनाली लगाउने बेला सुरु भइसक्दासम्म मलखाद नपाएर तनाब भएको बताए ।

कैलालीको भजनी नगरपालिका–९ का डबलबहादुर बोगटी किसानले मल नपाएर खेत जोतेर खाली बस्नु परेको बताए । ‘मल कहिलेसम्म आउँछ थाहा छैन । किसानलाई जहिलै मलखादकै समस्या हुन्छ,’ उनले भने । सुदूरपश्चिममा मलखाद आपूर्ति तथा बिक्रि वितरण गर्ने निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड हुन् । हाल दुबै निकायमा युरिया मल छैन । ‘डिएपी छिटफुट भएपछि युरिया भने छैन,’ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालयका सहायक रामचन्द्र जोशी भन्छन्, ‘कहिले कति परिमाणमा आउँछ, अहिले केही भन्न सकिदैन । केन्द्रले कहिले पठाउँछ भन्नेमा भर पर्छ ।’ सुदूरपश्चिमले पाउने मलखादको कोटामा ३० प्रतिशत साल्ट ट्रेडिङ र ७० प्रतिशत कषि सामग्रीले प्राप्त गरेर बिक्रि गर्ने गरेका छन् ।


कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवसिंह बोगटीले आउँदो मंगलबारदेखि मल बिक्रि सुरु गर्ने प्रयास गरिरहेको बताए । ‘दैनिक १ सय २५ मेट्रिक टन बिक्रि गर्न पुग्ने परिमाणमा मौज्दात भए माक्रै बित्रि सुरु गर्छौं,’ बोगटीले भने, ‘बिहीबारसम्म डेढ सय मेट्रिक टन मात्र आइपुगेको छ ।’ क्मप्नीको प्रादेशिक कार्यालयले कञ्चनपुर र डोटीबाहेकका जिल्लाका किसानका लागि मल बिक्रिवितरण गर्दै आएको छ । कञ्चनपुर र डोटीमा कम्पनीको आफ्नै कार्यालय छ ।

प्रादेशिक कार्यालय प्रमुख बोगटीका अनुसार सुदूरपश्चिममा भैरहवाबाट मल आउने गरेको छ । नेपालमा कूल आयात हुने मलमा सुदूरपश्चिमको ९।२२ प्रतिशत युरिया र ९।०७ प्रतिशत डिएपीको कोटा हुने गरेको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा कम्पनीको धनगढी कार्यालयले युरिया १२ हजार ८४३ मेट्रिक टन र डिएपी ८ हजार ६४७ मेट्रिक टन बिक्रि गर्न पाएको थियो । ‘कूल मागको आधा परिमाण पनि होइन यो,’ कार्यालय प्रमुख बोगटी भन्छन्, ‘बार्षिक ३० हजार मेट्रिक टन हाराहारी युरिया र डिएपीको माग हुने गर्छ ।’ किसानले मल अभाव टार्न भारतीय सीमा क्षेत्रबाट चोरीको मल ल्याउने गर्छन् । ‘यस वर्ष भारतीय सीमा क्षेत्रका बजारमा पनि मलखाद पाइएको छैन,’ कैलारीका एक किसानले भने ।

कम्पनीले हाल डिएपीको मूल्य प्रतिक्विन्टल ४ हजार ७७३ र युरिया प्रतिक्विन्टल १ हजार ८७३ रुपैयाँ निर्धारण गरेको छ । कम्पनीले किसानलाई सिधै बिक्रि नगरी निजी क्षेत्रका व्यापारी तथा सहकारीहरुलाई कोटा निर्धारण गरेर मलखाद बिक्रि गर्दै आएको छ । कृषि सामग्री कम्पनीले उपलब्ध गराएपछि डिलरहरुबाट किसानले मल किन्न पाउने ब्यवस्था छ । यसरी डिलर तोक्दा सम्बन्धित स्थानीय तहको सिफारिसमा एउटा वडामा कम्तीमा दुई वटा बिक्रेता निर्धारण गरिँदै आएको कार्यालय प्रमुख बोगटी बताउँछन् । ‘कैलाली जिल्लाभर करिब चार सय डिलर तोकेका छौं,’ उनले भने, ‘धनगढीमा ४७ वटा बिक्रेता निर्धारण गरेका छौं ।’ एउटा बिक्रेतालाई उपलब्ध गराइने मलको परिमाण भने यकिन नहुने बोगटी बताउँछन् । स्थानीय तहको वडा कार्यालयको सिफारिस तथा मूल्य निर्धारण भए अनुसार हुने गरेको उनले बताए ।कान्तिपुरबाट



शुक्रबार १५, कार्तिक २०८२ ०५:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal