बारामा आएको आँधिबेहरी नभई भुमरी, यसअघि पनि आएको थियो नेपालमा

देश

Yugnepal     884 पटक पढिएको    

बारामा आएको आँधिबेहरी नभई भुमरी, यसअघि पनि आएको थियो नेपालमा

बारामा आएको आँधिबेहरी नभई भुमरी, यसअघि पनि आएको थियो नेपालमा 

काठमाडौं । बारा र पर्सामा आएको आँधिबेहरी मात्र नभई भुमरी नै भएको मौसमबिदको दाबी छ । बाराको फेटा लगायतका स्थानको अबस्था हेर्दा आइतबार राति आएको आँधीबेहरीले बाँसको झाङ नै उखेलिएको, घरका भित्ताहरु नै एक घरबाट अर्को घरमा  गएर बजारिन गएको, बिद्युतका पोलहरु निस्केको त्यो सामान्य आँधीले हुनै नसक्ने बरिष्ठ मौसमबिद राजेन्द्र श्रेष्ठले दाबी गरे । 

भुमरीले भुँइका सामान आफ्नै साथमा उखेलेर लाने गर्छ , बारा बिपद्को प्रकृति पनि त्यस्तै देखिएकाले यो भुमरी नै हुनुपर्ने उनले दाबी गरे । यस्ता खालको वायु बिकसित हुनका लागि बन्ने बादलको आयु नेपालमा ४, ५ घण्टामात्र रहने गरेको छ भने अन्य समुद्री राष्ट्रमा भने यस्ता बादल एकदेखि २ सातासम्म रहने गरेको बिज्ञहरु बताउँछन् । 

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यका अनुसार पोखराबाट बिकसित भएको हावाको गति बारामा पुग्दा प्रति घण्टा ९०किलोमिटर पुगेको छ । यही समयमा काठमाडौंमा पुगेको हावाको गति प्रति घण्टा ५० किलोमिटर पुगेको थियो । 

बिभागले  भने यो कस्तो खालको, कुन प्रकृतिको आँधि वा भुमरी के हो भन्ने टुंगो लगाउन केही समय लाग्ने बताएको छ । सोमबार र मंगलबार दिनभर मिडिया अन्र्तवार्ता दिँदैमा समय गएको र अब यसबारे आन्तरिक छलफल गर्नुको साथै प्रभावित क्षेत्रको प्रकृति हेरेर मात्र टुंगो लगाउने बिभागका मौसमबिद राजु प्रधानांगले बताए । 


बाराको सिमरामा वायु नाप्ने स्टेशन भएपनि हावा आएको समयमा जनशक्ति नभएकाले यसको पुर्वानुमान गर्न नसकेको हुनसक्ने  पुर्व मौसमविदहरुले आँकलन गरेका छन । सिमरा स्टेशनको टावरमा जनशक्ति नै बसेपनि २४ सै घण्टा बस्ने व्यवस्था नभएकाले यो समस्या निम्त्याएको हुन सक्ने उनले बताए ।

बितण्डा मच्चाएको  अघिल्लो दिन भारतको मौसम पुर्वानुमान केन्द्रले त्यहाको उत्तर प्रदेश र बिहारमा हावाहुरी आउने उल्लेख गरेको थियो ।

यदी यसलाई मात्रै ख्याल गरेर बारा पर्सामा सर्तकता अपनाउन सचेतना गराएको भए यति धेरै क्षति नहुने बिज्ञहरुले बताएका छन् । 

नेपालमा यो पहिलो पटक नभएको 
यस्तो खालको भुमरी र आँधिबेहरी नेपालमा यो पहिलो पटक नभएको पनि बिज्ञहरुले ठोकुवा गरेका छन । यसअघि २९ फागुन २०४४ मा काठमाडौंस्थित दशरथ रंगशालामा प्रतियोगिता आयोजना भइरहेका बेला हावाहुरी चल्दा ९३ जनाको ज्यान गएको थियो । त्यो बेला आएको आँधिबेहरी पनि सामान्य खालको नभएको वरिष्ठ मौसमबिद श्रेष्ठले बताए । 

नेपालको सुर्खेतमा मात्र राडार छ, जसले पश्चिमी क्षेत्रको हावाहुरीको पूर्वामानसहित गति नाप्ने गर्दछ ।अन्य क्षेत्रमा समेत राडार स्थापना गर्न जरुरी रहेको वैद्य बताउँछन् । यसका लागि आउने आर्थिक बर्षमा उदयपुर र पाल्पामा राडारको व्यवस्था गर्न लागिएको उनले बताए । 

महानिर्देशक वैद्यले स्थानीय वायुको प्रभाव र मौसममा हुने बदलीबारे जानकारी दिन सक्ने प्रणाली  राडार अभाव भएकाले मौसममा छोटो अवधिमा आएको परिवर्तनलाई पूर्वानुमान गर्न नसकिएको स्विकारे ।

अब तत्काल उच्चस्तरको प्रबिधी, अत्याधुनिक प्रणाली, दक्ष जनशक्ति, फोरकास्ट मोडल तथा अनुसन्धान र बिकासमा जोड दिइएन भने बारा पर्साको बिपद् भोली अर्को स्थानमा नआउला भन्न सकिन्न । 



बुधबार २०, चैत २०७५ १०:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.