मनाइँदै गौरा पर्वः स्वास्थ्य नियम पालना गरी मनाउन राष्ट्रपतिको आग्रह

युग संवाददाता     1647 पटक पढिएको    

मनाइँदै गौरा पर्वः स्वास्थ्य नियम पालना गरी मनाउन राष्ट्रपतिको आग्रह
डोटीको जोरायल गाउँपालिका–५ गड्सेरामा रहेको गौरा घरमा गौरादेबी भित्र्याउदै स्थानीय महिलाहरु, तस्वीर– रासस ।

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै गौरा पर्व मनाउन आग्रह गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले गौरा पर्व २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिँदै गौरा पर्वले परिवार तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सद्भावलाई प्रगाढ बनाउनाका साथै राष्ट्रिय एकताको भावनालाई सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छिन् । 

गौरा पर्व जस्तो विशिष्ट सांस्कृतिक चाडका माध्यमबाट फरक भौगोलिक क्षेत्रमा बसोबास गर्ने विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका नेपालीबीचको भावनात्मक एकतालाई थप प्रगाढ बनाउन मद्दत पुगोस् भनी  शुभेच्छा पनि व्यक्त गरेकी छिन् । 

 मध्य तथा सुदूरपश्चिम क्षेत्रमा प्रमुख चाडका रूपमा गौरा  पर्व मनाइन्छ । यस पर्वमा कामविशेषले परदेश गएकाहरू घर फर्कने र  विवाहिता महिलाहरू माइत जाने गर्छन् । 

यस अवसरमा  पाँच प्रकारका अन्नको मिश्रणबाट बनेको ‘बिरुडा’ लाई प्रसादका रूपमा ग्रहण गरी देउडा, धमारी र ढुस्को खेलेर रमाइलो गर्ने चलन छ । 

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म गौरा र महादेवको आराधना गरी मनाइने यस पर्वका अवसरमा महिलाले शिव र पार्वतीको पूजा अर्चनासहित व्रत बस्नाले इष्टदेव र कुलदेव प्रसन्न हुने, निःसन्तानलाई सन्तान प्राप्ति हुने तथा आफ्नो मनोकाङ्क्षा पूरा भई जीवनमा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।



बुधबार १०, भदौ २०७७ ०४:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal