दार्चुला । दार्चुलामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुर पस्तीमा घर पुरिएर दुई जनाको मृत्यु भएको हो।
घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका ५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का वडासदस्य केशवसिंह धामीले जानकारी दिए। उनीहरुको घरभित्रबाट शव निकालिएको छ।
यस्तै घटनामा परी घर धनी ३५ वर्षीया लक्ष्मी ढोली, ९ वर्षीय छोरा शुभम र १४ वर्षीया छोरी सोनिया घाइते भएका छन्। तीन जनालाई स्थानीय र प्रहरीले घरभित्रबाट जीवितै उद्धार गरेको स्थानीय अनिल खत्रीले जानकारी दिए।
घाइते लक्ष्मी र छोरी सोनियाको थप उपचारको लागि हेलिकोप्टर ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदमबहादुर विष्टले जानकारी दिए। बिहान ३ बजेतिर घरमाथिबाट पहिरो आएको हो। पहिरोमा पुरिएर मृत्यु भएका मिलन र अर्जुन दाजु भाइ हुन्।
उनीहरु गौरा पर्वको लागि लुगा सिउने कामको लागि शंकरपुरपस्ती आएका हुन्। घाइतेहरुको अहिले शंकरपुर स्वास्थ्य चौकी पस्तीमा उपचार भइरहेको छ।
प्रतिकृया दिनुहोस