भारतबाट फर्केका नेपाली खुशीः स्वदेश फर्किन पाउँदा युद्ध जितेजस्तो अनुभव

Yugnepal     1338 पटक पढिएको    

भारतबाट फर्केका नेपाली खुशीः स्वदेश फर्किन पाउँदा युद्ध जितेजस्तो अनुभव


धनगढी– कोरोना भाइरसको महामारी फैलिएपछि बिचल्लीमा परेर भारतको उत्तर प्रदेशस्थित पलियाको क्वारेण्टीनमा बस्दै आएका ३ सय ७१ नेपालीलाई शुक्रबार स्वदेश फर्काइएको छ। यस्तै कैलालीमा रोकिएका ८ सय २४ जना भारतीयलाई भारत पठाइएको छ।

१५ देखि ४९ दिनसम्म भारतको पलियाका विभिन्न क्वारेण्टीनमा बसेर शुक्रबार गौरीफण्टा हुँदै नेपाल भित्रिएका नेपालीहरु स्वदेश फर्किन पाएपछि खुशी भएका छन्।

शुक्रबार अबेरसम्म कैलालीको गौरीफण्टा नाकाबाट पलियामा रहेका नेपालीलाई भित्र्याइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। उनका अनुसार नेपाल भित्र्याइएका उनीहरुलाई तत्कालका लागि धनगढीमा रहेका विभिन्न विद्यालयमा बनाइएका क्वारेन्टीनमा राखिएको छ।

आज भित्र्याइएका उनीहरु कैलाली लगायत सुदूरपश्चिम प्रदेश र अन्य प्रदेशका विभिन्न जिल्लाका रहेकाले कसरी समन्धित स्थानीय तहमा पठाउने भन्नेबारे छलफल भइरहेको र भोलिसम्म सबैलाई आ–आफ्ना स्थानीय तहमा पठाइसकिने सहायक प्रजिअ जोशीले जानकारी दिए।

उत्तरप्रदेश सरकारले पलियाका विभिन्न क्वारेण्टीनमा बस्दै आएका नेपाली नागरिकलाई गौरीफण्टा नाकासम्म बसमा पुर्‍याइदिएपछि उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा सीमा क्षेत्रमै स्वास्थ्य चेकजाँच समेत गरिएको छ। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतमा रहेका नेपाली मध्ये नेपाल फर्कन चाहनेलाई सीमासम्म पुर्‍याइदिन निर्देशन दिएपछि नेपालीहरु स्वदेश फर्कन थालेका हुन्।

यसैगरी लकडाउनमा परेर घर जान नसकेपछि कैलालीका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेण्टीनमा बस्दै आएका ८ सय २४ जना भारतीय नागरिकलाई पनि स्वदेश फर्काइएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार कैलालीको धनगढी, घोडाघोडी, टिकापुर लगायतका स्थानमा क्वारेण्टीनमा रहेका भारतीय नागरिकलाई गौरीफण्टा नाकामार्फत भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको छ।

शुक्रबार स्वदेश फर्किएका डडेल्धुराको अजयमेरु गाउँपालिका–१ का दिपक ऐरले पलियाको लामो समयको बसाइपछि स्वदेश फर्किन पाउँदा युद्ध जितेर आएको अनुभव भएको बताए। उनले भने, ‘२८ दिन पलियाको क्वारेन्टीनमा बसेर आएँ, त्यहाँ बस्दा अरु दुख नभए पनि यतै मरिने हो कि भन्ने चिन्ता लागेको थियो, आज बाँचेको अनुभव भयो।’

‘भारतमा कोरोनाका संक्रमित बढ्ने क्रम उच्च हुदै जाँदा क्वारेन्टीनमा बस्ने नेपाली निक्कै त्रसित थियौँ, स्वदेश आउन चाहेर पनि यात्रा कठिन थियो’, कैलालीको गौरीगंगा नगरपालिकाका रमेश चौधरीले भने, ‘अर्काको देशमा कोरोनासँगको ठूलो युद्ध जितेर आएका छौँ अब स्वदेशमै बसेर केही गर्न चाहान्छौँ।’

यस्तै कैलालीको गोदावरी नगरपालिका–७ लालपुर मगरटोलका गणेश ओझाले अब कहिल्यै विदेश जनाने सोचका साथ नेपाल आएको बताए। राजस्थानबाट बस बुक गरेर पलिया पुगेका उनी १४ दिन त्यहाँको क्वारेण्टीनमा बसेका थिए। उनीहरु जस्तै स्वदेश फर्किएका प्रायः सबैको मुहारमा खुशी देखिन्थ्यो।



शुक्रबार ०२, जेठ २०७७ ०९:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.