अझैं दुई हजार भन्दाबढि सिमा क्षेत्रमा  नेपाली अलपत्र

Yugnepal     1017 पटक पढिएको    

अझैं दुई हजार भन्दाबढि सिमा क्षेत्रमा  नेपाली अलपत्र


धनगढी । भारतका विभिन्न स्थानबाट घर फर्किएकामध्ये दुई हजार बढि नेपाली अझैं पनि सुदूरपश्चिम प्रदेशका सिमा क्षेत्रमा अलपत्र अवस्थामा रहेका छन । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाको सिमाना भारतसंग जोडिएको छ ।

यी पाँच जिल्लाका सीमा क्षेत्रमा अझैं पनि दुई हजार ३८ जना नेपालीहरू अलपत्र रहेको जनाइएको छ ।

दार्चुला जिल्लाको चार वटा स्थानमा आठ सय ३० जना नेपालीहरूलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुँवरले सीमा क्षेत्रको बालुवाकोट, धार्चुला लगायतका चार स्थानमा आठ सय ३० नेपालीहरूलाई क्वारेन्टीनमा राखिएको छ । उनले त्यहाँ भएका सबै नेपालीहरूको स्वास्थ्य अवस्थामा सामान्य रहेको बताए । उनले भने– सोमबार सीमा रहेका नेपाली र भारतीयहरूलाई आ–आफनो जिल्ला पठाउने तयारी भएको थियो । तर, दुई देशबिचको सहमतिले गर्दा अझै अन्यौल भएको छ । उनले भारतिय र नेपाली पक्षबीच सीमा पारी क्वारेन्टीनमा राखिएका सबैको अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्र ल्याउने समझदारी अनुसार उनीहरूलाई थप एक हप्ता उतै राखिने भएको बताए ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई दुवै पक्षबीच उक्त समझदारी भएको भन्दै तत्काल उनीहरूलाई नेपाल भित्र्याउने अनुमती नदिएको जनाइएको छ । उनले भने– सम्बन्धीत स्थानीय तहका जनप्रतिनिधीहरूले आफनो क्षेत्रका मानिस लग्न आवश्यक बस पठाएका थिए । तर, भित्र्याउने अनुमति नपाएपछि सीमा पारीका नेपालीहरू त्यतै छन ।’

बैतडी क्षेत्रअन्र्तगत पर्ने भारतीय सीमाका विभिन्न १५ स्थानमा क्वारेन्टीन स्थापना गरिएको जनाइएको छ । बैतडी सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले भारतले विभिन्न १५ स्थानमा क्वारेन्टीन स्थापना गरेको बताए । उनले भने –‘ती क्वारेन्टाइनमा बैतडीकामात्र आठ सय ३७ जनालाई राखिएको छ ।’ उनले क्वारेन्टीनबाहेक पनि अन्य स्थानमा नेपालीहरू रहेको बताए । उनले भने –‘क्वारेन्टाइन क्षेत्रभन्दा बाहिर भारतमै भाडामा बसीरहेका नेपालीहरू पनि रहेका छन तर, उनीहरूको तथ्यांक आएको छैन ।’

डडेल्धुरा पनि भारतीय सीमा क्षेत्रसंग जोडिएपनि उक्त स्थानमा कुनै पनि नाका नभएका कारण दुबै देशको कुनै पोष्ट नरहेको डडेल्धुरा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । उनले भने –‘यस जिल्लाका मानिस धार्चुला, वनवासा, लखिमपुर लगायतमा अल्पत्र छन ।’ उनले भारतसंग जोडिएको डडेल्धुराका कुनै पनि सीमामा नेपालीहरू नरहेको बताए ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार टनकपुर, खटीमा, बनबासा लगायतका विभिन्न भारतीय सीमा क्षेत्रमा दुई सय ५१ नेपालीहरूलाई क्वारेन्टीनमा राखिएको जनाइएको छ । कार्यालयले ती सबै नेपालीहरूको अवस्था सामान्य रहेको जनाएको छ ।

कैलाली जिल्ला प्रशासन कार्यालयका अनुसार भारतको लखिमपुर खिरिमा एक सय २० नेपालीहरूलाई क्वारेन्टीनमा राखिएको जनाइएको छ ।

यथाशिघ्र प्रवेश गराउन आग्रह

सुदूरपश्चिमेली समाज अन्तराष्ट्रिय समितिले सीमावर्ती भारतीय क्षेत्रमा रहेका नेपालीहरूलाई तत्काल नेपाल प्रवेश गर्न दिन सरकारसंग आग्रह गरेका छन् ।

‘भैरहवा लगायतका नाकाहरूबाट नेपालीलाई प्रवेश गर्न दिएपनि एक महिना अघिदेखि सीमामा रहेका सुदूरपश्चिमेलीहरूलाई नेपाल प्रवेश गर्न नदिनु दुःखद कुरा हो,’ सुदूरपश्चिमेली समाज अन्तराष्ट्रिय समितिका अध्यक्ष धन बहादुर बलायरले भने –‘नेपाल सरकारले तत्काल धार्चुला, झुलाघाट, बनवासा, पलिया लगायतका भारतीय भूभागमा एक महिनादेखि कष्टपूर्ण जिन्दगी बिताइरहेका नेपालीहरूललाई तत्काल नेपाल प्रवेश गर्न दिनुपर्छ ।’

उनीहरूको स्वास्थ्य परीक्षण गरी नेपाली भूमिमै क्वारेन्टीनमा राख्ने व्यवस्था मिलाउन पनि बलायरले सरकारसंग आग्रह गरे ।

उनले भारत, मलेशिया, खाडी मुलुकहरू लगायत प्रवासमा रहेका नेपालीहरूको राहत तथा उद्दारका लागि पहल गर्न समेत आग्रह गरे ।

यसैगरी सुदूरपश्चिमेली समाज अन्तराष्ट्रिय समितिका कोषाध्यक्ष भुवन प्रसाद भट्ट, सुदूरपश्चिमेली समाज भारतका कावा अध्यक्ष कटक बहादुर बिष्ट र महासचिव मोहन बीर साउ“दले सीमामा रहेका नेपालीहरूलाई तत्काल नेपाल प्रवेश गर्न दिन आग्रह गरेका छन् ।

उनीहरूले भारतको मुम्बई, पुना, बैग्लोर, दिल्ली लगायतका शहरमा लकडाउनका कारण अप्ठ्यारोमा परेका नेपालीहरूको राहत तथा उद्दारका लागि भारत सरकारसंग समन्वय गर्न नेपाल सरकारसंग आग्रह गरेका छन् ।

भारतको बिभिन्न शहरबाट आएका झण्डै दुई हजार सुदूरपश्चिमेली एक महिनादेखि सीमावर्ती भारतीय भूभागको क्वारेन्टीनमा कष्टपूर्ण जिन्दगी बिताईरहेका छन् । उनीहरूले सरकारसंग नेपाल प्रवेश गर्न दिन आग्रह गर्दै आएका छन् ।



मङ्गलबार १६, बैशाख २०७७ ०१:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.