काठमाडौंको सनसिटीका आमा–छोरालाई कोरोना भएको पुष्टि  संक्रमितको संख्या १६ पुग्यो

Yugnepal     1205 पटक पढिएको    

काठमाडौंको सनसिटीका आमा–छोरालाई कोरोना भएको पुष्टि  संक्रमितको संख्या १६ पुग्यो

काठमाडौं । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै आएका तीन जनामध्ये दुई जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार तीन जनाको स्वाब परीक्षण गरिएकामा दुई जनालाई कोरोना पोजिटिभ देखिएको हो । एक जनाको रिपोर्ट भने साँझसम्म आउने बताइएको छ । 

एकै परिवारका तीनमध्ये आमा र छोरालाई पोजेटिभ देखिँदा बुहारीलाई भने पुनः परीक्षण गरिने जनाइएको छ । 

यसअघि सोमबार उनीहरुको र्यापिड टेष्ट गर्दा तीनै जनामा पोजेटिभ देखिएको थियो । 

बेलायतबाट फर्केर काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बसेका  उनीहरुको र्यापिड टेस्ट पोजेटिभ देखिएपछि सोमबार साँझ पाटन अस्पतालको आइसोलेसनमा लगिएको थियो । 

एकै परिवारका ८१ वर्षीया वृद्धा आमा, ५८ वर्षका छोरा र ५६ वर्षकी बुहारी भएको बताइएको छ । उनीहरु चैत ५ गते आए पनि घरमै बसिरहेका थिए । पछिल्ला दिनहरुमा उनीहरु बाहिर देखिएका थिए । छिमेकीले भनेपछि उनीहरु परीक्षणका लागि आफै गएका थिए । 

सोमबार साँझदेखि सनसिटीमा सीलबन्दी गरिएको छ । 

दुई जनामा कोरोना पोजेटिभ देखिएपछि मंगलबार दिउँसो प्रहरीले माइकिङ गर्दै कोटेश्वरदेखिकै क्षेत्रलाई सील गर्न सक्नेबारे छलफल भइरहेको बुझिएको छ । 

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । 



मङ्गलबार ०२, बैशाख २०७७ ०१:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.