लकडाउनमा पनि  काठ तस्करी बढ्दै

Yugnepal     1147 पटक पढिएको    

लकडाउनमा पनि  काठ तस्करी बढ्दै

 

धनगढी । कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनको मौका छोपी काठ तस्करी भइरहेको पाइएको छ। जिल्लाका विभिन्न ठाउँमा काठ तस्करले रुख काटेर ओसार्न थालेका छन्।

चैत २९ मा कैलालीको घोडाघोडी नगरपालिका १० आमखैया जंगलबाट अवैध काठ तस्करी भईरहेको सूचनाका आधारमा गएको सशस्त्र प्रहरी बलको टोलीले दुई गोलिया काठ बरामद गरेको जनाएको छ।

उक्त काठ ईलाका वन कार्यालय पहलमानपुरलाई बुझएको सशस्त्र प्रहरी बल नेपाल नं। ३४ गणले जानकारी दिएको छ।

चैत २७ गते पनि तस्करीमा संग्लन गोदावरी १२ हलौडेका नरीबहादुर साउद पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले भने, ‘साउदको घरमा अबैध चिरान काठ तथा काठको गोलियाहरु लुकाई राखेको खबर प्राप्त भएपछि गएको टोलीले चेकजाँच गर्दा उनको घर छेउ तथा गोठमा चिरान कडी, चौपट, सिल्ली, तक्ता र तीन थान गोलिया गरी एक सय २१ क्युफिट काठ बरामद भएको हो ।’

चैत २० गते भजनी नगरपालिका–३ कटानपुरमा रहेको वनदेवी सामुदायिक वनमा तस्करले काटेर राखेको अवस्थामा पाँच थान सालका गोलीया भेटिएका थिए। उक्त घटनामा काठ काट्नेको पहिचान हुन नसकेको सामुदायिक वनका पदाधिकारीले जनाएका छन्। 

यस्तै, बर्दगोरीया गाउँपालिका–४ मा रहेको पुरैना सामुदायिक वनमा काठ काट्दै गरेका ६ जनालाई स्थानीयले नियन्त्रणमा लिएका थिए। स्थानीयका अनुसार घोडाघोडी नगरपालिका– ६ बसन्ताका सुरेन्द्र चौधरी लगायतलाई रंगेहात पक्राउ गरिएको थियो। समितिले उनीहरुलाई १४ हजार ७ सय जरिवाना गरेर छाडेको थियो । 

त्यस्तै बर्दगोरीया गाउँपालिका– ३ का भेषराज जैशीलाई मोटरसाइकलमा सालको कडी बोकिरहेको अवस्थामा स्थानीयले पक्राउ गरेका थिए। पक्राउ परेका जैशी मोटरसाइकल र सालका कडी छोडेर स्थानीयको नियन्त्रणबाट भागेका थिए । उनले छाडेको मोटरसाइकल र सालका कडी स्थानीयले इलाका प्रहरी कार्यालय बौनीयाँको जिम्मा लगाएको स्थानीयले जनाएका छन्। 

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले लकडाउनको फाउदा लिन गलत व्यक्तिहरु सकृय भएको हुनसक्ने बताए। उनले मुलुक नै लकडाउनमा भएकाले चोरी तस्करी नियन्त्रणमा समस्या भैरहेको जानकारी दिए। उनले ठाउँ ठाउँमा सडक अवरुद्ध पारिएकाले नियमित गस्तीमा समेत समस्या भैरहेको बताए । कँडेलले प्रतिकूल परिस्थितिका बाबजुदसमेत आफ्नो टोली वन संरक्षणमा सकृय रहेको जानकारी दिए । 



आइतबार ३०, चैत २०७६ १०:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.