बेलौरी–कलुवापुर सडक कालोपत्रेको माग राख्दै स्थानीयद्वारा गरिएको चक्काजाम तीन दिनका लागि स्थगित

Yugnepal     1083 पटक पढिएको    

बेलौरी–कलुवापुर सडक कालोपत्रेको माग राख्दै स्थानीयद्वारा गरिएको चक्काजाम तीन दिनका लागि स्थगित

कञ्चनपुरको बेलौरी–कलुवापुर सडकखण्ड कालोपत्रेको माग राख्दै बेलौरीको शान्तिपुरका स्थानीयद्वारा गरिएको चक्काजाम तीन दिनका लागि स्थगित गरिएको छ । बेलौरी नगरपालिका वडा नम्बर ४ स्थित शान्तिपुरमा सर्वसाधारण नागरिकहरुले आइतबार दिउँसो देखि उक्त सडकखण्डमा सवारीसाधन आवागमनमा रोक लगाएका थिए । सोमबार साँझ बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकाल र सडक निर्माण कम्पनी सन्तोषी–थेगिम जेभी कैलालीका प्रतिनिधि हेम सुब्बा संग आन्दोलनरत पक्षले गरेको वृहत् छलफल पछि उक्त सहमति भएको हो ।

सडक निर्माण कम्पनी सन्तोषी–थेगिम जेभी कैलालीका प्रतिनिधि हेम सुब्बाले तीन दिनमा उक्त सडकखण्डमा काम शुरु गर्ने प्रतिबद्धता जनाएपछि तीन दिनका लागि विरोधका कार्यक्रम स्थगित गरिएको र तीन दिनमा काम शुरु नभएको खण्डमा थप सशक्त आन्दोलन चर्काउने आन्दोलनरत पक्षका महादेव पाण्डेयले चेतावनी दिनुभयो । आन्दोलनरत पक्षले सडक निर्माण कम्पनीका प्रतिनिधि हेम सुब्बालाई प्रशासनको जिम्मा लगाएका छन् । उनीहरुले ठेकेदार सुनिल थापा आएर लिखित प्रतिबद्धता जनाउनु पर्ने र तुरुन्त काम शुरु गर्नुपर्ने भन्दै त्यतिञ्जेल सम्मका लागि सडक निर्माण कम्पनीका प्रतिनिधि सुब्बालाई नछोड्न प्रहरी प्रशासन संग माग गरेका छन् ।

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले उक्त सडकखण्ड लामोसमयसम्म संघीय सरकार मातहत रहेको र गत वर्ष प्रदेश सरकार मातहत रहने गरी पठाइएकोमा स्थानीय सरकारको तर्फबाट बारम्बार समन्वय र छलफल भइरहेको बताउनु भएको छ । स्थानीय सरकारले जनताको आवाजलाई सम्बन्धित निकाय सम्म पुर्याउन निरन्तर छलफल र बहस गरिरहेको स्मरण गराउँदै उहाँले अझैपनि काममा ढिलाई भए आफु स्वयं आन्दोलनको नेतृत्व गर्दै प्रदेश सरकार समक्ष जान तयार रहेको उल्लेख गर्नुभयो । नगर प्रमुख चौधरीले आफुहरु सडक बन्नु पर्छ भन्ने पक्षमा रहेको र निरन्तर लागिरहेकोले उक्त सडकखण्डमा कसैले पनि गलत नियतले राजनीति नगर्न सबैलाई आग्रह गर्नुभएको छ ।

संघीय सरकारले तीन वर्ष पहिले ठेक्का दिएको सडकखण्ड एकाएक गतवर्ष प्रदेश सरकारलाई हस्तान्तरण गरिएपछि उक्त सडकखण्ड निर्माणको कार्य झनै अलपत्र अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सभा सदस्य कुलबीर चौधरीको बुझाइ छ । केन्द्रले दिएको ठेक्का अवधि नसकिँदै बिना बजेट उक्त सडकखण्ड प्रदेश सरकारलाई हस्तान्तरण गरिएको प्रति उहाँले आक्रोश व्यक्त गर्नुभयो । प्रदेश सरकारले समेत चालुआर्थिक वर्षको बजेटमा बेलौरी–कलुवापुर–नाइल–बुडर सडकखण्ड नाम दिई  प्रदेशको गौरवको योजनामा राखेपनि जम्मा तीन करोड मात्रै बजेट विनियोजन गरेको भन्दै उहाँले आपत्ति जनाउनु भएको छ । सत्तापक्षकै प्रदेश सभा सदस्य रहनु भएका चौधरीले आफुले बारम्बार यो विषयमा प्रदेश सभा र डेलिगेशन मार्फत सरकारको ध्यानाकर्षण गराएपनि कुनै प्रगति नदेखिएको प्रति निराशा व्यक्त गर्नुभयो ।

झण्डै चार दशकदेखि कालोपत्रेको पर्खाइमा रहेको बेलौरी–कलुवापुर सडकखण्ड निर्माणमा बारम्बार यहाँका नेताहरुले चुनावी नारा बनाएर जनतालाई झुक्क्याउने र ठेकेदारले समेत बेलाबेलामा सडक निर्माण गर्छु भन्दै प्रतिबद्धता जनाएर सर्वसाधारणलाई ठग्ने कार्य गर्ने गरेको प्रति स्थानीयले आक्रोश पोखेका छन् । केही वर्ष पहिले कालोपत्रे गरिएको शान्तिपुर देखि बेलौरी बजारसम्मको पुरानो कालोपत्रे सडक समेत नयाँ बनाउने भनी भत्काएर ठेकेदारले जनतालाई झन दुःख दिएको भन्दै सर्वसाधारणले ठेकेदारलाई कारवाहीको माग गरेका छन् । उनीहरुले यहाँका जनप्रतिनिधिहरुले ठोस कदम चाल्न नसक्नु र कमजोर नेतृत्वका कारण ठेकेदारले मनपरी गर्ने अवसर पाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

कलुवापुर–बेलौरी सडकखण्ड कालोपत्रेका लागि वि।सं। २०७३ भदौ १७ गते सन्तोषी थेगिम जेभि, कैलाली नामको निमार्ण कम्पनीसंग वि।सं।२०७५ भदौ १५ गतेसम्म कालोपत्रे गरिसक्नु पर्ने ठेक्का सम्झौता भएको थियो । भ्याट बाहेक १६ करोड ११ लाख सम्झौता रकम रहेको उक्त सडकखण्ड ७।५ मीटर चौडाई रहनुपर्ने र ५।५ मीटर चौडाई कालोपत्रे गरिनुपर्ने उल्लेख छ । पूर्वपश्चिम राजमार्गसँग दक्षिणी क्षेत्र जोड्ने जम्मा २७।५ किलोमिटर लम्बाई रहेको उक्त महत्वपूर्ण सडकखण्ड स्तरोन्नती नहुँदा यहाँका नागरिक कष्टकर यात्रा गर्न बाध्य छन् । हिउँदमा धुलाम्य र वर्षातमा हिलाम्य हुने उक्त सडकखण्डका कारण उनीहरुको दैनिकीमा नै नराम्रो असर परिरहेको छ ।



बुधबार ११, मङि्सर २०७६ ०६:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.