पुनर्वास । वर्षौंदेखि भोग चलन गर्दै आएको आफ्नो जग्गा भारतीय वन विभागले खेतीपाती गर्न रोक लगाउँदै कब्जामा लिएपछि कञ्चनपुर पुनर्वास ४ आनन्दबजारका किरण सुनारको परिवार अहिले बिचल्लीमा परेको छ ।
भारतीय दुधुवा निकुञ्ज नजिकै रहेको नेपाली भुमिमै रहेको उनको जग्गा २०५२ सालमा भारतीय वन विभागले अतिक्रमण गरी उनको जग्गा खोसेको थियो ।
२०२८ सालमा उक्त जमिनको लालपुर्जा सुनारले पाएको भए पनि २४ वर्ष देखि भोग चलन गर्न पाएका छैनन् । लालपुर्जा भएको जग्गामा भएको भारतीय अतिक्रमण हटाई फिर्ताका लागि पटकपटक माग गर्दै जिल्ला र स्थानीय नेताहरु संग आग्रह गरे पनि कहिँ कतैबाट पहल नहुँदा बिचल्ली भएको पिडित सुनारले बताए ।
नेपालको भुमि भित्रको जग्गामा भारतीय पक्षबाट गरिएको अतिक्रमणका कारण जिल्लाको दक्षिणी क्षेत्रका थुप्रै स्थानहरुमा नेपाली भुभाग गुम्न पुगेको छ ।
यसरी लालपुर्जा भएको नेपाली भूमि भारतीयले कब्जा गर्दासमेत सम्बन्धित सरोकार वाला मौन बसेपछि पिडित परिवार झनै पीडामा परेका हुन् ।
५८ बर्षिय करण सुनार अहिले बिरामी भएर हिडडुल गर्न सक्ने अवस्थामा छैनन् । बुबाको यस्तो हालत भएको थाहा पाएपछि भारतको कालापहाडबाट छोराहरू बाबुको स्याहार गर्न भनी आएर घरमै बसेका छन् । कमाएर घर खर्च चलाउने छोराहरू अहिले घरमा आएपछि दुईचार पैसा आउने ठाउँ नै बन्द हुन पुगेको छ ।
तीन चार जना छोराछोरी भएर के गर्ने घरमा खेतीपाती गरौँ भने जग्गा छैन । भारतमा मजदुरी गरी छोराहरू घरपरिवार चलाईरहेका छन् । तैपनि पेट पाल्न धौ धौ हुन्छ। दुःखेसो पोख्दै ५३ बर्षिया तुलसा सुनार सुनाउँछिन् ।
‘खाई नखाई रकम साँचेर जमिनको कर बर्सेनि तिर्दै आएका छौं । ऋण कर्जा गरेर भए पनि परिवारको पाल्दै आएको छु। सरकारले हामी जस्ता गरिबको कुरा सुन्दैन। सरोकार निकायलाई पटक पटक मौखिक र लिखित जानकारी गराउँदा समेत कुनै पहल नभए पछि आफुले गुमेको जग्गा पाउने आश मरिसकेको छ ।’ तुलसाले भनिन् ।
गुमाएको जमिन फिर्ता पाउने आश मारिसकेका तुलसाका कान्छा छोरा कमल बहादुर सुनारको देखेसो पनि उस्तै छ। ‘हामी गरिबका कुरा सुन्ने कोहि भएनन। परिवारको पेट पाल्नकै लागि भए पनि परदेशमा पसिना बगाउन बाध्य भएका छौं ।’ उनले भने ।
‘आफूहरु सानै हुँदा आमा बुवाले ज्याला मजदुरी गरि हुर्काए । जब हामी खाउँ खाउँ लाउँ लाउँ भन्ने उमेरका भएपछि भारतीय एस एस बी ले आफ्नो जमिनमा कब्जा गरेको हो ।’ तुलसा सुनारका जेठा छोरा बिनोद बहादुर सुनार बताउँछन।
आफ्नो जमिन भारतमा पर्छ भनी खोसेपछि आफूहरुको बिचल्ली भएको उनी बताउँछन् । आफ्नो रोजगार पनि नभएको र गरि खाने जग्गा पनि नभए पछि भारतको काला पहाडमा काम गर्दै आएको बताउछन बिनोद बहादुर सुनार ।
यसरी भारतले आफूहरुरूको जमिन खोसे पछि अर्काको जमिन अधिया गर्न बाध्य भएका छन् । यसरी अधिया खेती गर्दा खेतबाट उब्जनी भएको फसल आधा जग्गा मालिकले लग्ने र आधा मात्र आफुहरूले पाउने भएकाले बर्षभरी खान समेत नपुग्ने करण सुनारका बुहारी सीता सुनार बताउँछिन् ।
सरोकारवाला निकायले आफ्नो लालपुर्जा वाला जमिन फिर्ता गराई दिनु पर्यो कि भने त्यसको सट्टामा अन्यत्र जग्गा उपलब्ध गराईदिनु पर्ने बताउँछिन् सीता सुनार ।
यसरी नेपाली लालपुर्जावाला जमिन भारतीयले खोस्दा पनि सरोकारवाला निकाय मौन बस्दा करण सुनार जस्तै सयौँ नेपाली दुःख पाईरहेका छन् ।
प्रतिकृया दिनुहोस