दुर्गममा चामलः कतै विक्री भएन, कतै पाइँदैन

Yugnepal     611 पटक पढिएको    

दुर्गममा चामलः कतै विक्री भएन, कतै पाइँदैन

 

जिल्ला सदरमुकाम मार्तडीस्थित नेपाल खाद्य संस्थान बाजुराले चामलको मूल्य घटाउँदा पनि विक्री हुन सकेको छैन । बजार मूल्यभन्दा संस्थानको चामलको मूल्य कम भए पनि विक्री हुन नसकेको हो । दशैं(तिहार आउनुअगावै चामल किन्नेको घुइँचो हुने संस्थानमा पछिल्लो समय चामल विक्री हुन छाडेको नेपाल खाद्य संस्थान बाजुराका प्रमुख मेघराज ओझाले बताए ।

‘कम मात्रामा चामल विक्री हुन थालेपछि दशैं र तिहारका लागि संस्थानको गोदाममा चामल प्रशस्त रूपमा रहेको छ । यो वर्षको चाडपर्वमा चामलको कुनै अभाव हुने छैन,’ उनले भने ।

बजारका पसलहरूमा सहजै चामल पाउन थालेपछि संस्थानको चामल कम मात्रामा बिक्री हुन थालेको प्रमुख ओझाको दाबी छ । खाद्य संस्थान बाजुराले प्रतिकिलोग्राम मोटो चामल ४५ रुपैयाँ, सोना मनसुली ४८ रुपैयाँ र जिरा मसिनो चामल ६२ रुपैयाँका दरले विक्री गर्दै आएको छ ।

उनका अनुसार, विगतमा दैनिक १५० जनाले चामल किन्न संस्थानमा आउने गर्थे तर यो वर्ष दैनिक ४० जना पनि मुस्किलले चामल किन्न संस्थानमा आउने गरेका छन् ।

संस्थानको चामल खरिद गर्ने उपभोक्ताहरू ह्वात्तै घटेकोप्रति उनले चिन्ता व्यक्त गरे । ुयसरी चामल किन्ने उपभोक्ताहरू घट्दै जाने हो भने गोदाममै चामल कुहिन सक्ने अवस्था आउन सक्छ,ु शाखा प्रमुख ओझाको भनाइ छ ।

दशैंमा खाद्य अभाव नहुने

यस वर्षको दशैं र तिहारमा खाद्य अभाव नहुने भएको छ । गोदाममा चामल यथावत रहेकाले खाद्यवस्तुको अभाव नहुने प्रमुख ओझाले जानकारी दिए ।

सदरमुकाम मार्तडीस्थित संस्थानको गोदाममा २ हजार ४ सय ८२ क्विन्टल र काल्टीको गोदाममा २ हजार ६ सय ९७ क्विन्टल गरी कुल ५ हजार १ सय ७९ क्विन्टल चामल रहेको प्रमुख ओझाले जानकारी दिए । विगतका वर्षजस्तै जिल्लामा चालम छैन । खाद्य अभावले सङ्कट निम्त्याउला भन्ने आशङ्का नरहेको उनको भनाइ छ ।

मार्तडीस्थित संस्थानको गोदाममा जिरा मसिनो २ हजार ७०, मोटो १ हजार ७ सय र सोना मनसुली ७ सय ८१ क्विन्टल चामल छ । तीमध्ये साउन महिनामा मात्र २ सय क्विन्टल चामल विक्री भएको छ । अघिल्लो वर्ष साउन भदौमा १ हजार १ सय क्विन्टलभन्दा बढी चामल विक्री भएको संस्थानले जनाएको छ ।

यसैगरी, कोल्टी डिपोमा सोना मनसुली ६ सय, जिरा मसिनो २ हजार ५ सय र मोटो चामल १ हजार ५ सय क्विन्टल छ ।

विक्री केन्द्रमा चामल छैन

जिल्ला खाद्य संस्थान बाजुराले हिमाली गाउँपालिकाका स्थानीय तहलाई लक्षित गरी कवाडीमा सञ्चालन गरिएको विक्री केन्द्रमा चामलको अभाव छ ।

केन्द्रमा चामलको अभाव भएपछि उपभोक्ताहरू रितो हात घर फर्कन बाध्य भएका छन् । दशैं तिहारका लागि जोहो गर्न केन्द्रमा आउने स्थानीय उपभोक्ताहरूले चामल नपाएपछि बजारबाट चर्को मूल्यमा खरिद गर्नुपरेको गुनासो स्थानीयवासीको छ ।

सो विक्री केन्द्रबाट हिमाली गाउँपालिकाका बिच्छ्या, रुगिन र छिमेकी जिल्ला हुम्लाका स्थानीयवासीलाई चामल विक्री हुँदै आएको छ । चामल ढुवानीका लागि ठेक्का प्रक्रिया सम्झौता भइसकेकाले दशैंअगावै चामल पुर्‍याउने गरी पहल भइरहेको प्रमुख ओझाले बताए ।

उनले विक्री केन्द्र भएका कारणले कर्मचारी नबस्ने र ठेक्का प्रक्रियाको माध्यमले कोल्टीबाट चामल पुर्‍याएर विक्री गर्नुपर्ने भएकाले केही ढिलाइ भएको उनको दाबी छ ।

हिमाली गाउँपालिकाको बिच्छ्याबाट कोल्टी आउनजान द्ध दिनको पैदलयात्रा गर्नुपर्ने बाध्यता छ ।

तीन विक्री केन्द्र माग

नेपाल खाद्य संस्थान बाजुराले तीनवटा स्थानीय तहका लागि खाद्यान्न विक्री केन्द्र माग गरेको एक वर्ष बितिसक्दा पनि सञ्चालन हुन सकेको छैन् ।

जगन्नाथ गाउँपालिकाको जुड्डी, खप्तड छेडेदह गाउँपालिकाको डोगडी र गौमूल गाउँपालिकाको घटमुनाका लागि विक्री केन्द्र राख्नुपर्ने माग नेपाल खाद्य संस्थान केन्द्रीय कार्यालयसँग गरेको भए पनि हालसम्म स्वीकृत भएर नआएको प्रमुख ओझाको भनाइ छ ।

भौगोलिक विकटताले सबै जनताले खाद्यको पहुँचमा नपुग्ने भएकाले सो क्षेत्रमा विक्री केन्द्र सञ्चालनमा ल्याउन माग गरेको बताइएको छ । माग गरिएका क्षेत्रमा विक्री केन्द्र सञ्चालनमा आए स्थानीयवासीले महँगोमा चामल किन्ने समस्या हट्ने बताइएको छ ।
रासस



मङ्गलबार ३१, भदौ २०७६ ०६:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.