जोखिमपूर्ण यात्रामा रहेका १९ महिला फिर्ता

Yugnepal     1133 पटक पढिएको    

जोखिमपूर्ण यात्रामा रहेका १९ महिला फिर्ता

जोखिमपूर्ण यात्रामा रहेका १९ महिला फिर्ता

राँझा, १३ फागुन नेपालगञ्ज नाकाबाट भारततर्फ जोखिमपूर्ण यात्रामा रहेका नेपाली १९ महिलालाई फिर्ता गराइएको छ । नेपालगञ्जबाट दिल्ली जाने बसमा सवार उनीहरूलाई नेपालगञ्जस्थित सीमाक्षेत्र जमुनाहबाट फिर्ता गरिएको इलाका प्रहरी कार्यालय जमुनाहका इञ्चार्ज प्रहरी नायव निरीक्षक वसन्त बस्नेतले जानकारी दिनुभयो । 

 उहाँका अनुसार शुक्रबार राति १० र शनिबार राति नौ जना गरी १९ महिलालाई फिर्ता गरिएको हो । “दिल्ली जाने बसमा जाँच गर्दा शङ्का लागेपछि माइती नेपाल र साना हात संस्थासँगको सहकार्यमा सोधपुछ र परामर्शका लागि रोक्ने गरेका छौँ”, इञ्चार्ज बस्नेतले भन्नुभयो, “कतिपयले खाडीमुलुक र इराक जानेसम्मका कुरा गरेकाले आवश्यक परामर्शका लागि माइती नेपालको जिम्मा लगाउने गरेका छौँ । ”

सीमा नाकाबाट फिर्ता हुनेमा मोरङ, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, गुल्मीका महिला रहेका छन् । उनीहरूलाई माइती नेपालको नेपालगञ्जस्थित कार्यालयमा राखेर परामर्श र पारिवारिक पुनरमिलनको लागि पहल भइरहेको माइती नेपालका संयोजक केशवराज कोइरालाले बताउनुभयो । 

“विभिन्न जिल्लाका महिला दाङ पुगेर दिल्लीको बस चढ्नु आफैँमा शङ्कास्पद कुरा हो, त्यसैले हामीले उहाँहरूलाई रोकेर परामर्श गरिरहेका छौँ” कोइरालाले भन्नुभयो, “परामर्शपछि धेरैजसोले आफ्नो यथार्थता बताइसक्नुभएको छ, उहाँको परिवारसँग सम्पर्क गरी पारिवारिक पुनरमिलन गराउँदैछौँ । ”

मैत्रीपूर्ण बससेवा प्रयोग 

मानव दलालले जमुनाह नाकालाई विभिन्न माध्यमबाट प्रयोग गर्ने गरेका छन् । पछिल्लो पटक सीधा बस सेवामार्फत यसलाई प्रयोग गरेको हुनसक्ने कोइरालाको भनाइ छ । 

सीमावर्ती भारतीय बजार रुपैडिहामा किनमेल, घुमघाम, औषधि उपचार लगायतका निहुँ बनाएर विगतमा नाका पार गर्ने कोसिस हुने गरेकोमा अहिले रातिको समयमा दिल्ली जाने बस प्रयोग गर्ने गरेको पाइएको माइती नेपाल नेपालगञ्जका संयोजक कोइराला बताउनुहुन्छ । 

बुटवल, दाङ र नेपालगञ्जबाट दैनिक तीनवटा जति मैत्रीपूर्ण बस सीधा दिल्लीको लागि नेपालगञ्ज नाका हुँदै भारत प्रवेश गर्ने गर्दछन् । बुटवल, दाङ र नेपालगञ्जबाट भारतको राजधानी दिल्लीका लागि सञ्चालन हुने बसमा जाँचका क्रममा शङ्कास्पद महिला फेला पर्न थालेपछि इलाका प्रहरी कार्यालय जमुनाह, बाँके र मानव बेचबिखन विरुद्ध क्रियाशील संस्थाले सतर्कता अपनाएका छन् । 

शङ्कास्पद महिला फेला परेकाले केही दिनयता दिल्ली जाने बसमा आवश्यक जाँच र सोधपुछलाई प्राथमिकता दिइएको इलाका प्रहरी कार्यालय जमुनाहका इञ्चार्ज बस्नेतले जानकारी दिनुभयो । सन् २०१८ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा माइती नेपालले जमुनाह नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ९२० जनालाई उद्धार गरी परिवारको जिम्मा लगाएको थियो । 
 



सोमबार १३, फागुन २०७५ ०६:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.