विधान संशोधन ऐतिहासिक  पत्रकार महासङ्घ

Yugnepal     886 पटक पढिएको    

विधान संशोधन ऐतिहासिक  पत्रकार महासङ्घ

विधान संशोधन ऐतिहासिक  पत्रकार महासङ्घ

कास्की, ११ फागुन 
 नेपाल पत्रकार महासङ्घले यही फागुन ९ र १० गते पोखरामा सम्पन्न भएको साधारणसभा तथा विधान अधिवेशन ऐतिहासिक रहेको बताएको छ । महासङ्घको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्ने गरी विधानमा व्यवस्था गरिनु ऐतिहासिक भएको र यसबाट महासङ्घको जीवनमा दूरगामी महत्व रहने महासङ्घले जनाएको छ । 

विधान अधिवेशनबाट पारित विशेष प्रस्ताव तथा निर्णय सार्वजनिक गर्न आज पोखरामा आयोजित पत्रकार भेटघाटमा केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सभामा प्रस्तुत विधान संशोधनको मस्यौदा केन्द्रीय समितिमा एकजना महिला उपाध्यक्ष र एक महिला सदस्य थप्ने गरी संशोधनसहित सर्वसम्मतरूपमा पारित भएको बताउनुभयो । 

नौ वर्षअघि नेपालगञ्ज, त्यसपछि पोखरा र चितवनमा गरी तीनवटा साधारणसभामा विधान संशोधनको प्रस्ताव सफल नभए पनि यसपटक पोखरामा संशोधन हुनु महासङ्घको इतिहासमा बिरलैमध्येको घटना भएकोे भनाइ अध्यक्ष आचार्यले राख्नुभयो । उहाँले भन्नुभयो,“पोखराको यस अधिवेशन ऐतिहासिक र नमूनायोग्य भएको छ । साधारणसभाको मूल भावनाअनुसार विधानमा व्यवस्था हुन्छ । अब महासङ्घ आफ्ना मुद्दामा केन्द्रित रहन्छ ।”

महासङ्घका उपाध्यक्ष विपुल पोखरेलले प्रत्यक्ष निर्वाचनको व्यवस्थाले महासङ्घलाई लोकतान्त्रिक पद्दतिमा लगेको बताउनुभयो । महासङ्घका महासचिव रमेश विष्टले विगतमा केन्द्रीय प्रतिनिधिको राजनीतिले महासङ्घलाई कमजोर बनाएको उल्लेख गर्दै सदस्यता शुद्धीकरणमार्फत महासङ्घलाई व्यावसायिक पत्रकारको छाता संस्थाको रूपमा विकास गरिने बताउनुभयो । 

स्थानीय व्यवस्थापन समितिका संयोजक एवं महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले केन्द्रले कास्की शाखालाई प्रदान गरेको जिम्मेवारी पूरा गर्न पाउँदा गौरवको अनुभूति भएको बताउनुभयो । महासङ्घको पोखरा साधारणसभा तथा विधान अधिवेशन विभिन्न १७ बुँदे प्रश्ताव पारित गर्दै शुक्रबार साँझ सम्पन्न भएको थियो । 
 



शनिबार ११, फागुन २०७५ ०६:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.