मदुरोका छोरासहित आएका तीनजना मन्त्रीको टोलीले के

Yugnepal     752 पटक पढिएको    

मदुरोका छोरासहित आएका तीनजना मन्त्रीको टोलीले के

 भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोका छोरा निकोलस मदुरो गुयरा र नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल।
काठमाडौं,  भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो सरकारका तीन जना मन्त्री र उनका छोरा निकोलस अर्नेस्टो मदुरो गुयरासहितको आठ सदस्यीय टोलीले  नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्रीहरू वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित पार्टीका शीर्षनेताहरूसँग भेटघाट र छलफल गरेको छ।

त्यहाँको संस्कृति उपमन्त्रीसमेत रहेकी युवा संगठन जेपीएसयुभीकी महासचिव श्रीमती रोडबेजा पोलेओको नेतृत्वमा आएको टोलीमा राष्ट्रपतिका छोरा निकोलस अर्नेस्टो मदुरो गुएरा पनि थिए । गुएरा त्यहाँको संविधानसभा सदस्य हुन् । युवा संगठन– जेपीएसयुभीका राजनीतिक सिद्धान्त विभागका सचिव हुन्।

नेकपाको भ्रातृ संस्था– युवा संगठन नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ निमन्त्रणामा उनीहरू नेपाल आएका थिए । तीनदिने नेपाल बसाइका क्रममा टोलीले नेकपा सचिवालय सदस्य रहेका पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्रीद्वय वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग समेत भेटवार्ता गरेका छन्।

युवा संगठन संयोजक ‘दीपशिखा’ ले काठमाडौं प्रेसलाई दिएको जानकारीअनुसार, भेनेजुयलाका राष्ट्रपति मादुरोका सुपुत्र मादुरो गुयरा उक्त भ्रमण दलका सदस्य मात्र हुन् । टोली प्रमुख त्यहाँको युवा संगठनका अध्यक्ष छन् । टोलीमा तीन जना सहायकमन्त्री पनि सहभागी छन्।

उक्त भ्रमण दलले नेपाल भ्रमणका क्रममा असार २९ गते दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतीमा युवा संगठनको आयोजनामा भएको युवा आन्दोलनबारेको एउटा अन्तरक्र्रियामा सहभागिता जनायो । कार्यक्रमको प्रमुख अतिथि नेकपा वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल थिए ।

भ्रमण दलले सोही दिन दिउँसो नेकपा सचिवालय सदस्य वामदेव गौतमसँग भेटवार्ता गर्‍यो । अनेरास्ववियुले भ्रमण दलको स्वागतमा त्यही साँझ ‘डिनर’ गरायो, होटल समिटमा । उक्त समारोहमा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । त्यहीँ नेकपा प्रवक्ता श्रेष्ठसँग भेटवार्ता गर्‍यो । युवा संगठनले असार २९ गते साँझ नै बेलुकी डिल्लीबजारस्थित भोजनगृहमा सांस्कृतिक कार्यक्रमसहित ‘रात्रीभोज’ आयोजना गर्‍यो।

भ्रमण दलले असार ३० गते बिहान नेकपा अध्यक्ष ‘प्रचण्ड’सँग भेटघाट ग¥यो । त्यसपछि केबलकार चढेर चन्द्रागिरी घुम्यो । बेलुकी अर्का वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटघाट गर्‍यो।

भ्रमण दल आज  असार ३१ गते  मध्यान्ह नारायणहिटी संग्रहालय अवलोकन गरेको छ । ‘आज अरु केही कार्यक्रम छैन, खाना खाएर केहीबेर आराम गर्नुहुन्छ र यहाँबाट चीन हुँदै जनगणतन्त्र कोरियातर्फ जाने कार्यक्रम छ’, दीपशिखाले भने।

विश्वभरका साम्राज्यवाद विरोधी, गणतान्त्रिक क्रान्तिकारी युवाहरूको छाता संगठन– डब्लुएफपीवाईको सदस्य छ युवा संगठन नेपाल । भेनेजुयलाको युवा संगठन पनि त्यसमा सदस्य छ । ‘डेढ महिनाअघि नेतृत्वमा भेनेजुयला गएका बेला मैले निम्ता दिएर आएको थिएँ, त्यही निम्ताको आधारमा उहाँहरू आउनुभएको हो’, दीपशिखाले भने, ‘राष्ट्रपतिको छोरो त हामीले यहीँ आएपछि थाहा पायौँ । उनी पनि युवा संगठनको नेता रहेछन् । त्यहाँको युवा संगठनको प्रमुखको नेतृत्वमा आएको टोली हो । तीन जना सहायक मन्त्रीहरू छन्।’  

दीपशिखाका अनुसार, भेनेजुयलाको राजनीतिक संक्रमणमाथि संसारको ऐक्यबद्धताका जुटाउन उक्त टोली आएको देखिन्छ । टोलीमा राष्ट्रपतिका पुत्रभन्दा वरिष्ठ अरु छन् । ‘यो औपचारिक भ्रमण हैन । प्रतिनिधिमण्डललाई सरकारका कोही पनि मन्त्रीले भेटेनन्’, उनले भने, ‘भेटका लागि प्रयास त गरेको थियो तर हाम्रा सरकारी मान्छेले भेटेनन् । उनीहरूको अनौपचारिक भ्रमण भयो । सरकारले रेस्पोन्स दिएन।’

युवा संगठनको अनुरोधमा गृह मन्त्रालयले सुरक्षा प्रबन्ध गरेको थियो । नेपाल समेत हेर्ने भारतका लागि भेनेजुयलाको राजदूतावासले परराष्ट्रलाई चिठी लेखेर आफ्ना ‘भीआईपी’ नेपाल आइरहेको जानकारी गराएको थियो । त्यसैका आधारमा सरकारल सुरक्षा व्यवस्था गरिदिएको हो।

भ्रमणदलका सदस्यहरू 

१० श्रीमती रोडबेजा पोलेओ, महसचिव, जेपीएसयुभी, र संस्कृति उपमन्त्री।

२० निकोलस अर्नेस्टो मदुरो गुयरा, सचिव, राजनीतिक सिद्धान्त, जेपीएसयुभी र संविधानसभा सदस्य ९राष्ट्रपति मदुरोका छोरा।०

३० जर्ज पेरेज, राष्ट्रिय संगठनक, जेपीएसयुभी, र शिक्षा सञ्चार उपमन्त्री।  

४० रञ्डर पेना, सचिव, अन्तर्राष्ट्रिय सम्बन्ध, जेपीएसयुभी, निर्देशक, परराष्ट मामिलाका लागि जनशक्ति मन्त्रालयको अन्तर्राष्ट्रिय संगठन।

५० नोस्लिवो रोड्रिग्वेज, सचिव, सामाजिक आन्दोलन, जेपीएसयुभी र संविधानसभा सदस्य।  

६। अना फुएनट्स, पूर्वक्षेत्र उपाध्यक्ष, राष्ट्रिय निर्देशक, जेपीएसयुभी।

७० ग्रीस कोल्मेनेरिज, टाचिरा प्रदेश प्रतिनिधि।

८० यसनेइडी गुवारिएरी, जेपीएसयुभी, सचिव, प्रोडक्टिभ डेभलप्मेण्ट एन्ड प्रोफेसनल र विश्वविद्यालय तह शिक्षा उपमन्त्री।



बुधबार ०१, साउन २०७६ १०:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.