सुगम जिल्लाको दुर्गुम ठाउँको कथाबेथा गाउँपालिकाको कार्यालयमा पुग्न ६ घण्टा

Yugnepal     1245 पटक पढिएको    

सुगम जिल्लाको दुर्गुम ठाउँको कथाबेथा गाउँपालिकाको कार्यालयमा पुग्न ६ घण्टा

 

बैतडीको सिगास गाउँपालिका ९ चौखामकी लक्ष्मी चन्दलाई केन्द्र पुग्न ६ घण्टा हिँड्नुपर्ने हुन्छ । केही काम परे त्यो दिन उतै बास बस्ने तयारी गरेर उनले घरबाट निस्कनुपर्छ। सडक नभएकाले पैदल हिँडेरै जानुपर्ने वाध्यता रहेको उनले सुनाइन् । ‘गाडी चढेर सदरमुकाम छिटो पुगिन्छ। तर सडक नपुगेकाले गाउँपालिकाको केन्द्र पुग्न साह्रै समस्या भएको छ’ उनले भनिन्।

सिगास–६ थालाकाँडाका स्थानीय पनि एकदिन बास बस्नेगरी जोहो गरेर घरबाट निस्किनुपर्छ। कार्यालय समयभित्र काम गरेर एक दिनमा घर फर्किन समय नपुग्ने गरेको स्थानीय पदम रोकायाले बताए । ‘कर्मचारी अभाव हुँदा गाउँपालिकामै पुग्नुपर्ने बाध्यता छ’, उनले भने।

धेरै वडाका जनताले लामो दुरीमा हिँडेर सेवा लिनुपर्ने अवस्था छ। ‘सिगास गाउँपालिका जिल्लाका अन्य स्थानीय तहभन्दा दुर्गम छ’, प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले भने,‘ सडकको पहुँच नपुग्दा केन्द्रसम्म पुग्न समस्या भइरहेको छ। ’ गाउँपालिकाको बजेटले मात्रै तुरुन्तै सडक निर्माण गर्न नसकिने सिगास गाउँपालिकाकी उपाध्यक्ष द्रोपती चन्दले बताइन् । ‘सडक नहुँदा पैदल हिँड्नुपर्ने बाध्यता छ’, स्थानीय भानबहादुर बोहराले भने,‘गाउँ–गाउँमा सिंहदरबार आएको भने पनि अनुभूति हुन पाएको छैन।’

जिल्लाका अन्य स्थानीय तहमा पनि सडकको अभाव रहेको छ। कच्ची सडक वर्षातको समयमा अवरुद्ध हुने भएकाले सेवा लिन गाह्रो हुने गरेको सुर्नया गाउँपालिका ८ का कमल बोहराले बताए। डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँमा सडक नभएकै कारण सम्पर्क कार्यालय रुद्रेश्वरमा सञ्चालन गरिएको छ। स्थानीयले भने सडक निर्माण गरेर धामीगाउँमै कार्यालय सञ्चालन गर्नुपर्ने बताएका छन् । गाउँपालिकाको केन्द्रमा सडक पुर्‍याउने तर्फ जनप्रतिनिधिले ध्यान नदिएको स्थानीयको गुनासो छ।



सोमबार ०९, असार २०७६ ०४:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal