धनगढी । सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिको सम्भावना बोकेको कैलाली निर्वाचन क्षेत्र नम्बर–४ मा यसपटक नेपाली कांग्रेसका तर्फबाट गोरख बहादुर बिष्ट ‘आनन्द’ प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् । लामो राजनीतिक अनुभव, प्रवासमा संगठन विस्तार, लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका तथा निरन्तर समाजसेवामार्फत स्थापित छविका कारण बिष्टलाई कांग्रेसले विश्वासका साथ चुनावी मैदानमा उतारेको हो ।
डोटीको जोरायल गाउँपालिका–५ गडसेरामा २०२९ साल साउन १३ गते जन्मिएका बिष्टको प्रारम्भिक शिक्षा स्थानीय महेन्द्र प्राविबाट सुरु भएको थियो । त्यसपछि धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनले उच्च शिक्षाका लागि भारतको देहरादुन पुगेर प्लस–टु अध्ययन पूरा गरे । स्वदेश फर्किएपछि काठमाडौँस्थित शंकरदेव क्याम्पसबाट स्नातक तथा एमबीए अध्ययन सम्पन्न गर्दै उनी सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् ।
युवावस्थादेखि नै लोकतान्त्रिक आन्दोलनमा संलग्न बिष्टले २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । भारतको देहरादुनमा नेपाल विद्यार्थी संघको सचिवको जिम्मेवारी सम्हाल्दै उनले प्रजातन्त्र पुनःस्थापनाका गतिविधिमा सहभागिता जनाएका थिए भने दिल्लीस्थित नेपाली दूतावास अगाडि गरिएको आन्दोलनमा समेत उनको सक्रिय उपस्थिति रहेको थियो ।
पछि अमेरिका पुगेपछि उनले प्रवासमा नेपाली कांग्रेसको संगठन विस्तार गर्दै लोकतन्त्र र मानवअधिकारको पक्षमा विभिन्न अभियान सञ्चालन गरे । नेप्लिज डेमोक्रेटिक युथ काउन्सिलका संस्थापक अध्यक्षका रूपमा उनले संयुक्त राष्ट्र संघ अगाडि प्रदर्शन, अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपाली लोकतन्त्रको पक्षमा आवाज उठाउने लगायतका गतिविधिमा नेतृत्वदायी भूमिका खेलेका थिए । २०६२र०६३ को जनआन्दोलन सफल भएसँगै नेपाली कांग्रेसका तत्कालीन सभापति स्व। गिरिजा प्रसाद कोइरालाले अन्तर्राष्ट्रिय स्तरमा गरेको योगदानको कदर गर्दै उनलाई २०६४ सालको पहिलो संविधानसभा निर्वाचनका लागि डोटीबाट टिकट प्रदान गरेका थिए । तर पार्टी एकता र वरिष्ठ नेताप्रतिको सम्मानका कारण उनले उक्त टिकट स्व। सिद्धराज ओझालाई हस्तान्तरण गरेका थिए । त्यसयता प्रत्यक्ष निर्वाचन नलडे पनि संगठन र विचारको राजनीतिमा निरन्तर सक्रिय रहेका बिष्ट अहिले पार्टीको निर्णयअनुसार कैलाली–४ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा होमिएका छन् ।
राजनीतिसँगै समाजसेवा
राजनीतिसँगै समाजसेवालाई समान रूपमा अघि बढाउँदै आएका बिष्ट विपद्का हरेक समयमा अग्रपंक्तिमा देखिने नेतृत्वका रूपमा परिचित छन् । २०७२ सालको विनाशकारी भूकम्पका बेला उनले प्रवासमै रहेर राहत संकलन गरी दोस्रो दिनमै नेपाल आएर प्रभावित क्षेत्रमा राहत वितरण, अस्थायी आवास निर्माण, खाद्यान्न तथा औषधि व्यवस्थापनका साथै भत्किएका विद्यालयहरूको पुनर्निर्माणमा सहयोग गरेका थिए । सो समयमा भूकम्प प्रभावितका लागि करिब ७५ लाख रुपैयाँ सहयोग नेपाली कांग्रेसको खातामार्फत उपलब्ध गराइएको उनले बताएका छन् ।
िकोरोना महामारीका समयमा समेत उनी प्रत्यक्ष रूपमा राहत तथा सहयोग अभियानमा सक्रिय रहे । संक्रमणको जोखिमका बाबजुद फिल्डमै खटिएर उनले समस्यामा परेका नागरिकलाई औषधि, खाद्यान्न, मास्क तथा सेनिटाइजर वितरण गरेका थिए । विभिन्न क्षेत्रबाट संकलन गरिएको करिब १ करोड ३५ लाख रुपैयाँ पार्टीमार्फत स्वास्थ्य सामग्री तथा पीसीआर मेसिन व्यवस्थापनमा सहयोग गरिएको उनको भनाइ छ ।
यसका अतिरिक्त बिष्टले डोटीमा एम्बुलेन्स सहयोग, विद्यालयहरूमा आर्थिक सहयोग तथा छात्रवृत्ति वितरण, आश्रम तथा सामाजिक संस्थालाई सहयोग उपलब्ध गराउने, विदेशमा समस्यामा परेका नेपालीहरूको उद्धारमा पहल गर्ने लगायतका सामाजिक कार्य निरन्तर गर्दै आएका छन् । देशलाई विपद् पर्दा अग्रसर हुने समाजसेवी नेतृत्वका रूपमा उनको पहिचान स्थापित भएको छ ।
विभिन्न क्षेत्रबाट सम्मानित
लोकतन्त्र स्थापना तथा सामाजिक सेवामा पु¥याएको योगदानका कारण बिष्ट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट सम्मानित भएका छन् । प्रवासमा बसेर नेपाली लोकतन्त्रको पक्षमा भूमिका खेलेको भन्दै युरोपेली युनियन तथा मानवअधिकारसम्बद्ध संस्थाहरूले उनलाई सम्मान गरेका थिए । कोरोना महामारीका समयमा स्वदेश तथा विदेशमा रहेका नेपाली समुदायका लागि गरेको सेवाको कदरस्वरूप न्यूयोर्क सिटीका मेयरद्वारा समेत सम्मानित भएको उनी बताउँछन् । त्यतिमात्रै नभई उनलाई अमेरिकाका भुतपुर्व राष्ट्रपति जो बाइडेनलेसामाजिक कार्यकै कारण उत्कृष्ट सामाजिक मेडलबाट सम्मान गरेका थिए । सामाजिक सेवामार्फत अन्तर्राष्ट्रिय समुदायमा समेत उनको सक्रियता स्थापित भएको छ ।
समृद्ध कैलाली–४ को परिकल्पना
उम्मेदवार बिष्टले कैलाली–४ को समग्र विकासलाई प्राथमिकतामा राख्दै पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई केन्द्रमा राखेको विकास दृष्टिकोण अघि सारेका छन् । क्षेत्रभित्र सडक सञ्जाल विस्तार तथा स्तरोन्नतिसँगै ग्रामीण बस्तीलाई सहज यातायात पहुँचमा जोड्ने, कृषिलाई आधुनिकीकरण गर्दै उत्पादनलाई बजारसँग जोड्ने तथा युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्ने उनको योजना रहेको छ ।
त्यसैगरी अत्तरिया क्षेत्रलाई शिक्षा तथा स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्दै गुणस्तरीय सेवा विस्तार गर्ने, पर्यटन तथा साना उद्योग प्रवद्र्धनमार्फत स्थानीय अर्थतन्त्र बलियो बनाउने तथा प्रवासी नेपालीको अनुभव र लगानीलाई क्षेत्रीय विकासमा उपयोग गर्ने सोच उनले अघि सारेका छन् । घरदैलो अभियान र जनसंवादमार्फत मतदाताका समस्या प्रत्यक्ष बुझ्दै समाधानमुखी नेतृत्व दिने प्रतिबद्धता उनले व्यक्त गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस