धनगढी फागुन १३ आज नेपाली महिला फुटबल अन्तर्राष्ट्रिय स्तरमा चिनिएको छ । तर साढे दुई दशक अघि महिला फुटबलका लागि मैदान, अवसर र प्रतियोगिता सबै अभावमै थिए । त्यही बेला धनगढीमा ईतिहास रचियो सेती आमन्त्रण अन्तर्राष्ट्रिय महिला गोल्डकप आयोजना गरेर । नेपालमै पहिलो पटक आयोजना भएको यो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताले दर्जनौं खेलाडीलाई आफ्नो प्रतिभा देखाउने मञ्च दिएको थियो । धेरैले यही मैदानबाट नेपाली राष्ट्रिय टिमको जर्सी लगाउने सपना पुरा गरेको फुटबल प्रशिक्षक यज्ञराज श्रेष्ठले बताए । “महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता दिनु त्यो बेला साहसिक काम थियो । मनु दाईको व्यवस्थापन प्रशंसनीय थियो ।” उनले भने, “धनगढीमा यस्तो प्रतियोगिता हुनु गर्वको कुरा थियो । महिला खेलप्रति सोच बदलियो ।”
त्यो समय महिला प्रतियोगिता आयोजना गर्नु आफैमा ठूलो चुनौती थियो । स्रोतको अभाव, संरचनाको कमी, सामाजिक सोच सबै बाधा पार गर्दै प्रतियोगिता सफल बनाउने मुख्य व्यवस्थापक थिए नर नारायण शाह मनु । सेती आमन्त्रण अन्तर्राष्ट्रिय महिला गोल्डकपले आफुहरुलाई प्लेटफर्म दिएको नेपाली महिला फुटबल टोलीकी पुर्व कप्तान चन्द्रा भण्डारीले बताईन् । “हामीलाई खेल्ने प्लेटफर्म नै थिएन । सेती गोल्डकपले नै हामीलाई मौका दियो की हामी पनि सक्छौं ।” पुर्व कप्तान भण्डारी भन्छिन्, “त्यो प्रतियोगिताबाटै मेरो राष्ट्रिय टिमको यात्रा सुरु भयो । आयोजकप्रति सधैं आभारी छु ।”
सेती गोल्डकप केवल प्रतियोगिता मात्रै थिएन महिला सशक्तिकरणको अभियान बन्यो । नयाँ पुस्ताका खेलाडी जन्मिए, राष्ट्रिय टिम बलियो बन्यो, समाजको दृष्टिकोण बदलियो । खेलकुद मार्फत समाज रूपान्तरणको अभियान चलाएका मनु अहिले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका उम्मेदवार छन् । खेल, युवा, महिला र विकासका मुद्दा लिएर जनतामाझ पुगेका छन् । “महिलालाई अवसर दिए समाज अघि बढ्छ । खेलकुद विकास मेरो प्राथमिकतामा रहनेछ ।” मनुले भने । महिलाको मैदानबाट सुरु भएको त्यो परिवर्तन अब नीतिगत तहसम्म पुर्याउने लक्ष्यका साथ अघि बढ्दैछन् नर नारायण शाह मनु ।
प्रतिकृया दिनुहोस