धनगढी नेपाली काङ्ग्रेसले कैलाली क्षेत्र नम्बर ५ का लागि उम्मेदवार टुंगो लगाएको छ । पार्टीले नर नारायण शाह मनु लाई प्रतिनिधिसभा निर्वाचनका लागि टिकट दिएको हो । शाह नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्रीसमेत हुन् ।
काङ्ग्रेस कैलालीका सचिव नृप सुनारले शाहलाई कैलाली–५ बाट औपचारिक रूपमा टिकट प्रदान गरिएको जानकारी दिए । उनका अनुसार पार्टीको केन्द्रीय निर्णयअनुसार शाहलाई उम्मेदवार बनाइएको हो ।
टिकट प्राप्त गरेपछि शाहले लामो राजनीतिक यात्रापछि आफूले प्रतीक्षा गरेको क्षण आएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै उनले आफ्नो उम्मेदवारीलाई विश्वास र जिम्मेवारीका रूपमा लिएको उल्लेख गरेका छन् ।
शाहले लेखेका छन्, “राजनीतिक यात्रामा लामो समय पश्चात् अन्ततः प्रतीक्षाको घडी समाप्त भएको छ । समस्त निर्णयकर्ताहरू प्रति हार्दिक कृतज्ञताका साथ आभार व्यक्त गर्दछु । आगामी दिनहरूमा यहाँहरू सबैको अपार साथ र सहयोगका लागि अन्तरमनदेखि नै धन्यवाद ज्ञापन गर्दछु । साथै, भविष्यमा सक्रिय सहयोगको अपेक्षा समेत राखेको छु ।”
काङ्ग्रेसभित्र लामो समयदेखि क्रियाशील रहेका शाह पार्टी संगठन सुदृढीकरण, आन्दोलन र चुनावी अभियानमा सक्रिय रहँदै आएका नेता हुन् । पार्टी नेतृत्वले संगठनात्मक अनुभव, स्थानीय पकड र राजनीतिक निरन्तरताका आधारमा उनलाई उम्मेदवार बनाएको काङ्ग्रेस स्रोतको भनाइ छ ।
कैलाली–५ लाई प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रका रूपमा लिइँदै आएको छ । विभिन्न दलहरू आ–आफ्नो तयारीमा जुटिरहेका बेला काङ्ग्रेसले शाहलाई उम्मेदवार बनाएसँगै चुनावी सरगर्मी थप बढ्ने देखिएको छ ।
प्रतिकृया दिनुहोस