धनगढी – कैलालीको धनगढीमा आजदेखि सुदूरपश्चिम महोत्सव सुरु हुँदै छ । १९ औँ संस्करणको सुदूरपश्चिम महोत्सवको धनगढी उपमहानगरपालिका– १ पशुपति टोलमा सुरु हुन लागेको हो । महोत्सवको उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गर्ने तयारी गरिएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवको तयारी पुरा भएको जनाइएको छ । पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवका लागि मूल आयोजक समिति र २३ वटा उपसमिति गठन गरिएको छ । तीन करोडको लगानीमा आयोजना हुने महोत्सवमा १५ करोडको कारोबार हुने संघले जनाएको छ । महोत्सवमा कृषि उत्पादन, जडीबुटी, हस्तकला, गार्मेन्ट, इलेकट्रोनिक, होटेललगायतका पाँच सय वटा स्टल रहनेछन् । कृषितर्फ ४० तथा महिला उद्यमी, एकल महिला र स्थानीय परिकारका १५ गरी ५५ वटा स्टल निःशुल्क रहने छन् । महोत्सव अवधिभर सात लाख नागरिकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सवको अवलोकनका लागि विद्यार्थी र खेलाडीलाई ५० रुपैयाँ तथा सर्वसाधारणलाई एक सय रुपैयाँ टिकट दर तोकिएको छ । ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
महोत्सवमा बालबालिका तथा खेलप्रेमी दर्शकका लागि नयाँ खेल तथा मनोरञ्जन सामग्री समेत थप गरिएको छ । महोत्सव स्थलमा सुदूरपश्चिमका परिकारसहितका खाना–खाजाका स्टलहरू रहनेछन्, जसको सरसफाइ र व्यवस्थापनका लागि सरोकारवाला निकायसँग समन्वय गरिएको आयोजकले जनाएको छ ।
महोत्सव अवधिभर दर्शक तथा व्यवसायीको सुरक्षालाई ध्यानमा राख्दै पूर्णरूपमा सिसिटिभी क्यामराद्वारा निगरानी, निजी तथा सरकारी सुरक्षाकर्मीको व्यवस्था गरिएको छ । साथै, विमा, दमकल, प्राथमिक उपचार लगायत आकस्मिक सेवाहरू तयारी अवस्थामा रहनेछन् ।
महोत्सवमा डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने उद्देश्यले इसेवासँग अनलाइन टिकट साझेदारी गरिएको छ । दर्शकहरूले मोबाइलबाटै इसेवा मार्फत टिकट काट्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ । यस वर्षको महोत्सवको मुख्य प्रायोजक निशर्ग अस्पताल एण्ड रिसर्च सेन्टर रहेको छ भने संरक्षक नेपाल उद्योग वाणिज्य महासंघ र सुुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य महासंघ रहेका छन् ।
प्रतिकृया दिनुहोस