धनगढी / मातृभूमि राष्ट्रिय जागरण अभियान सुरु गरेका भीम रावल अन्ततस् नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । २०७९ सालमा अछामबाट संघीय निर्वाचनका लागि रावल एमालेबाट सर्वसम्मत पहिलो नम्बरमा सिफारिस भएका थिए । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएनन् । पहिलो नम्बरमा सिफारिस हुँदा पनि टिकट नपाएपछि रावलले एमालेलाई मत माग्ने कुरा भएन, मागेनन् । टिकट नपाए पनि एमालेमा सक्रिय रहेनन्, र पार्टी छोडेको घोषणा पनि गरेनन् । तर, ओलीको आलोचना गर्न भने छोडेनन् । ओलीको आलोचना गर्न नछोडेका रावलले सुदूरपश्चिमका जुनसुकै जिल्लाका कार्यक्रममा जाँदा पनि रावलपक्षका नेता कार्यकर्ताहरूले ओलीको विरोध गरिरहे । पार्टी पनि नछोड्ने अनि ओलीको विरोध पनि जारी राखेपछि एमालेले रावलसँग वार्ता गर्न २०७९ साल चैत मध्यतिर पार्टी केन्द्रीय सचिवालय बैठकमार्फत तीनसदस्यीय टोली गठन गरेको थियो ।
उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वको वार्ता टोलीमा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र पोलिटब्युरो सदस्य कर्ण थापा सदस्य थिए । उक्त वार्ता टोलीले रावलसँग ३ वैशाख २०८० मा पार्टी कार्यालय च्यासलमा पहिलो चरणको वार्ता गरेका थिए । त्यो समयमा वार्ता टोलीका सदस्य कर्ण थापाले पार्टीलाई बलियो बनाएर लैजाने सवालमा नेता रावल पनि सकारात्मक रहेको बताएका थिए । रावल पार्टीमै रहने, एकताबद्ध, बलियो पार्टी बनाउने आ–आफ्ना कमजोरीहरू सच्याएर जाने सहमति भएको थियो । तर, त्यसपछि एमालेको वार्ता टोली र रावलबीच छलफल भएन ।
पार्टीबाट हटाइए
१० पुस २०८१ मा एमालेले रावललाई पार्टीको संगठित सदस्यबाट नै हटाएको थियो । १० पुसमा बसेको सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको थियो । रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेकाले संगठित सदस्यबाट हटाउने निर्णय गरिएको एमालेले जनाएको थियो । रावलले केन्द्रीय कार्यालय भवन व्यापारी मीनबहादुर गुरुङबाट लिने निर्णयप्रति विरोध जनाएका थिए । त्यसपछि ४ कात्तिक २०८१ मा एमालेले रावलसहित स्थायी कमिटी सदस्य डा।बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई स्पष्टीकरण सोधिएको थियो । तर, रावलले स्पष्टीकरण नबुझाएपछि पुसमा साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट कारबाही भएको थियो ।
पार्टीबाट निकालिएको एक महिना नपुग्दै अभियान घोषणा
त्यो समयमा एमालेले पार्टीबाट निकालेको एक महिना नपुग्दै रावलले अलग्गै पार्टी निर्माण प्रक्रिया सुरु गरेका थिए । रावलले पत्रकार सम्मेलन गरी ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामको पार्टी घोषणा गरेका थिए । उक्त अभियानमा सुदूरपश्चिममा एमाले छोडेर नेता कार्यकर्ताहरू जोडिएका थिए । त्यो समयमा सार्वजनिक गरेको अवधारणापत्रअनुसार वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण गरिने बताइएको थियो । तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र समिति १५ देखि २५ सदस्यीय रहने भनिएको थियो । तर, उनको संगठन भने खासै ठूलो भएन ।
नेपाली कम्युनिस्ट पार्टीमा समाहित र पर्ने प्रभाव
रावल अन्ततस् नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । समाहित हुने कार्यक्रममा रावलको अभियानमा जोडिएका र पूर्वएमालेहरू नै बढी देखिन्थे । यसबाट सुदूरपश्चिममा नेकपाको जनाधार बढ्ने अनुमान गरिएको छ । रावलको वर्चस्व भएको प्रदेश हो सुदूरपश्चिम । त्यसको फाइदा नेकपालाई हुने नेताहरू बताउँछन् । नेकपा ९माओवादी केन्द्र० र एकीकृत समाजवादीको जनाधार कमजोर छ । कांग्रेससँगको गठबन्धन हुँदा पनि नेकपा एसले बझाङ, अछाम र डोटीमा एकरएक सिट जितेको थियो । माओवादी केन्द्रले भागवण्डामा परेको सुदूरपश्चिमका कुनै पनि निर्वाचन क्षेत्रमा जित निकाल्न सकेन । यसबाटै के भन्न सकिन्छ भने सुदूरपश्चिममा अहिले बनेको नेकपा कमजोर छ । एमालेको प्रभाव बलियो छ । रावल नेकपामा जोडिएसँगै यसको फाइदा सुदूरपश्चिम प्रदेशमा नेकपालाई पर्ने माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव जनक बुढा बताउँछन् ।
बुढाले भने, ‘भीम रावलजत्तिको राष्ट्रिय नेता नेकपामा जोडिएपछि देशभरि र अझ सुदूरपश्चिम प्रदेशमा बढी प्रभाव पर्छ । उहाँ नेकपामा जोडिएपछि अछाम, बाजुरा, कैलाली र कञ्चनपुरमा बढी प्रभाव पर्छ । निर्वाचनमा हामी जित्छौँ ।’ एमालेबाट रुष्ट भएकाहरू नेकपा एसमा र अझ रावलसँग बढी जोडिने हुँदा त्यसको फाइदा अब नेकपालाई हुने बुढाले बताए । उनले भने, ‘आजै पनि पूर्वएमालेका केन्द्रीय सदस्य प्रकाश शाह, कृष्ण सुवेदीजस्ता नेताहरू नेकपा जोडिनुभएको छ । धेरै नेता कार्यकर्ता जोडिएका छन् । राजनीतिक सन्देश सुदूरपश्चिममा राम्रो परेको छ । यसले निर्वाचनमा सकारात्मक सन्देश जान्छ । रावल सुदूरपश्चिमबाट राष्ट्रियस्तरको नेता हुन्, जसको प्रभाव प्रदेशमा बढी पर्छ ।’
नेकपा बनेपछि र रावल जोडिएपछि सुदूरपश्चिमका नौवटै जिल्लामा सांगठनिक रूपमा र जनमतका आधारमा कांग्रेस–एमालेको कडा प्रतिस्पर्धी भएको बुढा बताउँछन् । उनले भने, ‘गठबन्धन हुँदा पनि संघमा एक निर्वाचन क्षेत्र नजितेका माओवादी र एक मात्र संघ जितेको एस हो तर अब एकतापछि हामी सबै निर्वाचन क्षेत्रमा जितनजिक पुग्छौँ ।’ सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री प्रकाश शाह पनि रावलसँगै नेकपामा सामेल भएका छन्, जसले स्थानीय नेतृत्वलाई मजबुत बनाउँछ । रावल सामेल भइसकेपछि नेकपाको सुदूरपश्चिममा पार्टी बलियो हुने देखिन्छ । नेकपामा एमालेबाट मत हस्तान्तरण हुने आकलन नेताहरूको छ । एमालेमा हुँदा पनि रावल प्रदेशमा बलियो पकड भएका नेता हुन् । उनले एमाले हुँदा पनि प्रदेशको इन्चार्ज मागेका थिए । तर, ओलीले माओेवादीबाट एमालेमा नै बसेका सचिव लेखराज भट्टलाई अगाडि सारेर इन्चार्ज दिएका थिए । आफूले इन्चार्ज नपाएपछि रावल ओलीप्रति झन् आक्रोशित भएका थिए ।
अब रावललाई नेकपाले उच्च स्थान दिएर फिल्डमा खटाएमा स्थानीय प्रभाव बढी हुने देखिन्छ । रावलले सुदूरपश्चिममा एमालेको जनाधारलाई कमजोर बनाउने रणनीति अपनाउनेछन् । उनी एमालेका सुदूपश्चिमका सबै नेताभन्दा बढी प्रभाव भएका नेतामा पर्छन् । एमालेका नेता कार्यकर्ताले अब उनलाई साथ दिन सक्ने विघटित नेकपा एसका एक नेता बताउँछन् । ती नेताले भने, ‘अब हामी पहिलाभन्दा बढी बलियो हुन्छौँ । एमालेमा बढी प्रभाव भएका नेता रावल हुन् । उहाँ आएपछि एमालेलाई क्षति नै हुन्छ । हामी बलियो हुन्छौँ ।’
रावलले आफूसँग जोडिएका सबै नेता कार्यकर्ताहरूलाई आज नेकपामा समाहित गराएका छन् । रावल नेकपामा समाहित भएपछि नेकपाका सबै नेता कार्यकर्ताहरू उत्साहित भएका छन् ।
दशौँ महाधिवेशनबाट टाढिएका
एमालेको दशौँ महाधिवेशनमा रावलले अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका थिए । तर, रावल पराजित भए । हुन त महाधिवेशनमा नै ओलीले उनलाई अध्यक्षमा नउठ्न सुझाव दिएका थिए । ओलीले उपाध्यक्षमा लड्नभन्दा पनि रावलले नमानेर ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । एमालेमा आठौँ महाधिवेशनबाट अध्यक्षमा पराजित नेतालाई वरिष्ठ नेता बनाउने चलन थियो । तर, ओलीले दशौँ महाधिवेशनमा अध्यक्षमा पराजित भएका रावललाई वरिष्ठ नेता बनाएनन् । महाधिवेशनमा केन्द्रीय सदस्य जितेका रावलले केन्द्रीय सदस्य पनि स्वीकारेनन् । बिस्तारै रावल ओलीको विरोधी हुँदै गए ।
आफ्नो विरोध गरेर पार्टीको विधिविधानबाहिर रहेर पार्टीको गतिविधिमा संलग्न नरहेको भन्दै ओलीले प्रतिनिधिसभाको निर्वाचनका लागि २०७९ सालमा टिकट दिएनन् । जबकि रावल पहिलो नम्बरमा अछामबाट सिफारिस भएका थिए ।
रावलले अभियान सुरु गरेपछि उनलाई साथ दिएको भन्दै एमालेले ५९ जना नेता–कार्यकर्तालाई एकै दिन पार्टीबाट निकालेको थियो ।
प्रतिकृया दिनुहोस