किरन कोलीकी आमा बैतडीबाट न्याय खोज्दै काठमाडौंमा

युग संवाददाता     13 पटक पढिएको    

किरन कोलीकी आमा बैतडीबाट न्याय खोज्दै काठमाडौंमा

 

धनगढी  राजमति कोली सुदूरपश्चिमको बैतडीबाट काठमाडौं आएर माइतीघर मण्डलको एउटा छेउमा बसेर न्यायको याचना गर्न थालेको चार दिन भइसक्यो । १२ वर्षीय छोरालाई साथमा लिएर माइतीघरको एक कुनामा आफ्ना मृतक छोरा९किरन कोलीको फोटो फ्रेम साथमा लिएर बसिरहेकी छिन् उनी । सन्तानको वियोग स्वीकार्न नसकेकी उनी घरीघरी भक्कानिँदै रोइरहेकी हुन्छिन् ।


उनका छोरा किरन कोलीको मृत्यु प्रकरणको कथा बुझ्न हामी साउन १७ को घटनामा पुग्नुपर्छ । बैतडीको डिलासैनी गाउँपालिका–३ गिरीबगडका १४ वर्षीय किरन कोलीको मृत्यु १७ साउनमा भयो । उनको मृत्युको घटना सामान्य भने थिएन । किनकि घरबाट ५ सय मिटर दुरीमा रहेको चमेलिया नदीमा साथीहरुसँग नुहाउन पुगेका उनी नजिकै रहेको बालुवाको थुप्रोमा चढेर खेल्दा करेन्ट लागेर मृत्यु भयो ।

मृत्युको यो घटनाको केही दिनपछि एकाएक सामाजिक सञ्जालमा फैलियो । एकपछि अर्को गर्दै सार्वजनिक भएका नयाँ तथ्यबाट थाहा भयो, नदी छेउमा बालुवा थुपार्ने काम निङ्लासैनी कन्स्ट्रक्सनले गरेको थियो । यो कम्पनी सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालकी श्रीमती मनिषा पालको नाममा दर्ता रहेछ ।


मन्त्री जोडिएको कम्पनीले थुपारेको बालुवामा चढेर दुर्घटना भएकाले विवादमा परिने भएपछि एमालेबाट निर्वाचित वडाध्यक्ष रघुवीर बोहराले उनको खातामा पाँच लाख जम्मा गरिदिए । उनका अनुसार यो कुरा उनलाई थाहा थिएन । उनी छोराको मृत्यु स्वीकार्न नसकेर बेहोस भएका बेला खातामा पैसा हालेर घटना दबाउन र न्याय प्रभावित पार्न स्थानीय नेता र अगुवा मिलेर यो सब काम गरेको उनको भनाइ छ । घटनापछि उनी स्थानीय चौकीमा घटनाबारे जाहेरी दिन पनि खोजेकी थिइन् । तर प्रहरीले जाहेरी नै दर्ता गरेनन् । उनी सदरमुकाम पुगेर जिल्ला प्रहरी कार्यालय पनि पुगिन् तर न्याय मिलेन । त्यसपछि उनले हुलाकबाटै जाहेरी पठाइन् ।

घटनाको एक महिनापछि मृत्यु भएका बालक किरणको विषयमा हुलाकमार्फत पूरक जाहेरी प्राप्त भएको र सनाखतका लागि पत्र पठाइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपककुमार रायले हुलाकबाट पूरक जाहेरी प्राप्त भएको र त्यसमाथि अनुसन्धान भइरहेको बताए ।

तर उनले उक्त घटनामा न्याय सजिलै नमिल्ने शंका लागेको बताइन् । उनले घटनाका बारेमा आफूले खिचेको फोटो र भिडियो स्थानीय प्रहरीले जबरजस्ती डिलिट गरिदिएको अनि न्याय दबाउन आफूलाई थाहै नदिई पाँच लाख खातामा हालिदिएको र तत्कालै प्रहरीले जाहेरी लिन नमानेको जस्ता कुराबाट न्याय कठिन छ भन्ने लागेको बताइन् ।

त्यही भएर उनी देवर र १२ वर्षीय छोरा लिएर काठमाडौं आएकी हुन् उनी । ३६ वर्षीया उनले सुनाइन्, ‘छोराको लागि न्याय लिएरै जान्छु । बरु मर्न परे यहीँ मर्छु ।’ स्थानीय खोलाबाट गिटी बालुवा बोकेर परिवार पालिरहेकी उनले छोराको मृत्युको शोक बोकेर आफूलाई काठमाडौं आउन बाध्य पारिएको बताइन् ।

उनले ‘गल्ती नै नभई किन मेरो खातामा पाँच लाख रुपैयाँ आयो रु किन पुलिसले जाहेरी लिन मानेन् रु घटनापछि खिचेका फोटाहरू किन मेरो मोबाइल मागेर पुलिसले फालिदियो, किन सबुत मेटाउन खोजियो रु’ जस्ता प्रश्न बोकेर उत्तरको खोजीमा बर्बराइरहेकी छिन् ।
उनका देवर तुलाराम कोली ९किरन० भतिजको मृत्युका बेला साउदी अरब थिए । एकल भाउजूका लागि र मृतक भतिजको न्यायका दिलाउन आफू साउदीबाट आएको उनले बताए । उनले भने, ‘मृतक किरनको न्यायका लागि बोल्ने कोही छैन । त्यही भएर भतिजलाई न्याय दिलाउन आएको हुँ न्याय दिलाएरै छोड्छु ।’

तुलारामले जति पहल गर्दा पनि कसैले नसुनेपछि आफूहरू न्याय माग्न काठमाडौं आउन बाध्य भएको बताउँछन् । उनी भन्छन्, ‘हामीले पुलिस चौकी गएर निवेदन दर्ता गर्न खोज्दा दर्ता नै भएन, कति पहल गर्‍यौँ कतैबाट न्याय नपाएपछि यहाँ आएका हौँ ।’

उनका श्रीमान्‌को केही वर्ष अगाडि मृत्यु भइसकेको छ । उनका चार सन्तान थिए । जसमध्ये दुई छोरीको विवाह भइसकेको छ । उनको साथमा अब कान्छा छोरा छन्, किरन उनका जेठा छोरा थिए । उनका अनुसार किरन ठूलो हुँदै गएका थिए । केही वर्षपछि किरन आफ्नो सहारा बन्ने सपना बुनेकी थिइन् । तर बालुवाको थुप्रोमा खेल्ने क्रममा करेन्ट लागेर छोराको मृत्यु भएसँगै आफूले छोराको लागि देखेका सपना पनि चकनाचुर भएको आँखाभरि आँसु बनाउँदै भक्कानिन्छिन् ।कान्तिपुरबाट



सोमबार २३, भदौ २०८२ ०८:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal