आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

धनगढी उपमहानगरपालिका

युग संवाददाता     407 पटक पढिएको    

आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

धनगढी ।  धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
शनिबार नगरसभाको तेह्रौ अधिवेशनमा नगर उपप्रमुख कन्दकलाकुमारी रानाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

नीति तथा कार्यक्रममा ‘सुख,शान्ति र समृद्धिको सहर कल्याणकारी धनगढी उपमहानगर’ भन्ने दीर्घकालीन सोचकासाथ पर्यावरणीय विकासको लागि ‘हाम्रो धनगढी हामी बनाउछौँ’ भन्ने अभियानलाई गौरवको योजना तथा कार्यक्रममा राख्दै निरन्तरता दिएको नगर उपप्रमुख रानाले बताइन् । आगामी आवमा ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’,सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार,‘हाम्रो धनगढी सफा धनगढी,हरियाली प्रवर्द्धन’,उज्यालो धनगढी कार्यक्रमलाई उपमहानगरको गौरवको कार्यक्रमका रुपमा सञ्चालन गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै,सीप तथा रोजगार मेलाको आयोजना गरी युवा रोजगारी लक्षित कार्यक्रम सञ्चालन गरिने,महिला उद्यम बजार र सन्ध्याकालीन बजार सञ्चालन गर्ने कार्यलाई पनि प्राथमिकतामा राखिएको नगर उपप्रमुख रानाले बताइन् ।

‘जहाँ खाली त्यहाँ,हरियाली’ कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा उपमहानगरले समेटेको छ । उपमहानगरका ग्रामीण र सहरी क्षेत्रलाई एक आपसमा जोडेर आर्थिक गतिविधि सञ्चालन गर्दै उपमहानगरबाासीको आयआर्जन बृद्धि गर्न प्राथमिकतासाथ कार्यक्रम सञ्चालन गर्ने नीति लिइने उल्लेख छ ।

 

उपमहानगर क्षेत्रका विभिन्न सडकहरुको निर्माण एवं स्तरोन्नती गर्न आवश्यक उपकरणको खरिद तथा व्यवस्थापन गर्ने र सहुलियत दरमा सहज रुपमा यातायात सञ्चालन गर्नका लागि नगरबस सञ्चालन गरी सेवा प्रवाह गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

उपमहानगरपालिकाबाट सम्पादित कार्यहरुलाई पारदर्शी, मितव्ययी र गुणस्तरीय बनाइ भ्रष्टाचार विरुद्धको शुन्यसहनशीलताको नीति अवलम्बन गरी सुशासन अभिवृद्धि गर्न तथा सबै प्रकारका सेवा सुबिधाहरुको न्यायोचित वितरणको व्यवस्था मिलाउन आवश्यक नीति अवलम्बन गरिने जनाइएको छ ।

‘हरघडी नगर प्रहरी’ अभियानमार्फत उपमहानगरीय प्रहरी बललाई साधन स्रोत सहित सुसज्जित गरी प्राथामिकताका साथ परिचालन गरिने, उपमहानगपालिका र अन्य स्थानीय तहबीच सहकार्य, साँझेदारी र समन्वय गरी शिक्षा स्वास्थ्य,फोहरमैला व्यवस्थापन,रोजगार, दक्ष जनशक्ति उत्पादन,प्रविधि,पर्यटन,संस्कृति,पूर्वाधार विकास लगायतका क्षेत्रहरुमा सहयोग आदानप्रदान गर्नका लागि दुई पक्षीय कार्यक्रमहरु सञ्चालन गर्ने नीति तथा कार्यक्रममा भनिएको छ ।

उपमहानगरपालिकाले दलित अभियन्ता ‘टीकाराम पार्की छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । दलित समुदायका छात्राहरूको शिक्षामा पहुँच वद्धि, सामाजिक समावेशीकरण र लैङ्गिक समानता प्रवर्द्धन गर्न कक्षा ८ देखि १० सम्म अध्ययनरत दलित छात्राहरूलाई प्रति छात्रा वार्षिक २ हजारसम्मको स्टेश्नरी सामाग्री निःशुल्क उपलब्ध गराउने ।

कक्षा ११ र १२ देखि स्नातकसम्म विज्ञान, शिक्षा, कानुन र कृषि विषय अध्ययनका लागि सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
उपमहानगरले कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । उपमहानगरले आफ्नै प्रयोगशालामार्फत माटो परीक्षण गर्ने,कृषिको तथ्यांक अध्यावधिक गर्ने,प्रयोगमा नरहेको नदीको बगर क्षेत्रमा तरकारी खेती गर्न प्रोत्साहित गर्ने,व्यवसायिक कृषकलाई सक्षम,आत्मनिर्भर बनाउन तालिम,उत्पादन र बजारीकरणका लागि आवश्यक सहयोग गराउने नीतिलाई निरन्तरता दिइने उल्लेख छ ।

खेतीबालीको जोखिम न्यनीकरणका लागि कृषक र बीमा कम्पनीबीच समन्वयात्मक कार्यक्रम गरी कृषि बीमा सम्बन्धी जानकारी गराइने,एकल महिला,अपांगता भएका महिला,दलित महिला,लैंगिक तथा यौनिक अल्पसंख्यक,भूमिहीन,जनजाति,द्वन्द्वपीडित र मुक्त कमैया परिवारको जीवनस्तर उकास्न पुष्प तराकारी एवं च्याउखेती विकास कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

दूध उत्पादनका लागि भैंसी पालन व्यवसायमा संलग्न कृषकलाई आगामी तीन वर्षसम्म दूग्ध विकास संस्थानसँगको समन्वय र सहकार्यमा आवश्यक सहयोग तथा व्याजबाफतको रकम अनुदान उपलब्ध गराउने नीति लिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै उपमहानगरको नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि स्थानीय आवश्यकता एवं प्राथमिकताका आधारमा उपमहानगरपालिका र राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय गैरसरकारी संघ संस्था,व्यक्ति निकाय,समुदायहरुसँग समन्वय र सहकार्य गरी साँझेदारीमा कार्यक्रमहरु सञ्चालन गर्ने तथा एक आपसमा सहयोगको आदान प्रदान गर्ने निति लिइने जनाइएको छ ।

 



शनिबार ०७, असार २०८२ ११:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal