शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलोले वन क्षेत्र प्रभावित

युग संवाददाता     200 पटक पढिएको    

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलोले वन क्षेत्र प्रभावित

 

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलोले वन क्षेत्र प्रभावित भएको छ । निकुञ्जको ठाउँठाउँमा डढेलो लागेका कारण वन क्षेत्र प्रभावित भएको हो । निकुञ्जको बाबाताल, रानी ताललगायत शुक्लाफाँटा घाँसे मैदान जाने बाटोमा धेरै ठाउँमा डढेलो लागेको छ । निकुञ्जको पूर्वी क्षेत्रमा पनि विभिन्न ठाउँमा डढेलो लागेको निकुञ्ज कार्यालयले जनाएको छ । ‘करिब एकरडेढ हप्तादेखि ठाउँ ठाउँमा डढेलो लागेका छ,’ निकुञ्जको संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले भने, ‘डढेलो स–सानो मात्रामा भएकाले धेरै ठूलो क्षति गरेको छैन, पातपतिंगर र साना बुट्यान जलेका छन् ।’ उनका अनुसार निकुञ्जको ४० हेक्टर बढी वन क्षेत्र डढेलाले प्रभावित भएको छ ।

रानीताल क्षेत्रदेखि ठाउँ(ठाउँमा डढेलो लागेको संरक्षण अधिकृत वाग्लेले बताए । काठेपुल र मचानलाई डढेलोबाट जोगाउन वरिपरि सरसफाइ गरिएको छ । डढेलोलाई ठूलो रूप लिन नदिन निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको छुट्टाछुट्टै दुई वटा टोली परिचालन गरिएको छ । अग्नि रेखा निर्माणदेखि बाट वरपर सरसफाइ गरिरहेको वाग्लेले बताए । अहिले सानो खालको डढेलो भएकाले साना बुट्यानसँगै सुकेका रुख र घस्रिने जीव जन्तुलाई बढी प्रभावित गर्ने वाग्ले बताउँछन् । हरियो र ठूला रुखलाई खासै असर गर्ने उनले बताए । निकुञ्जभित्र जाने पर्यटकहरूबाटै डढेलो लागेका हुन सक्ने उनले बताए । रानी ताल आसपासको क्षेत्रमा भने डढेलो धेरै क्षेत्रमा फैलिएको छ । नियन्त्रणमा ल्याउनसमेत गाह्रो देखिएको छ । निकुञ्जको अर्जुनी र चौधर नदी पारी लगायतका क्षेत्रमा पनि ठाउँठाउँमा डढेलो लागेको संरक्षण अधिकृत वाग्लेले बताए । नियन्त्रणका लागि विभिन्न पोस्टबाट जनशक्ति परिचालन गरिएको उनले जानकारी दिए ।


निकुञ्ज प्रशसनले खर तथा नरकट जलाउन र ठूलो डढेलो लाग्नुपूर्व नियन्त्रित आगो पनि लगाउने गरेको छ । यसले ठूलो डढेलो लाग्नबाट रोक्ने र वन्यजन्तुका लागि मुना पलाउने भएकाले बर्सेनि नियन्त्रित आगो लगाउने चलन रहेको छ । निकुञ्जको विशाल घाँसे मैदानमा घाँस काटेर जलाउने गरिएको छ । कतिपय स्थानमा नकाटेरै पनि नियन्त्रित रूपमा जलाउने गरिएको छ । घाँस जलाएपछि पलाउने मुना बाह्रसिंगाको मुख्य आहारा हो । यहि चर्नका लागि घाँसे मैदानमा बाह्रसिंगाको झुण्ड भरिन्छ । डढेलोका कारण बर्सेनि निकुञ्जको ठूलो वन क्षेत्र प्रभावित हुने गरेको छ । यसले ठुला वन्यजन्तुलाई धेरै असर नगरेपनि साना र घस्रिने खालका वन्यजन्तु भने धेरै प्रभावित हुने गरेका छन् ।



मङ्गलबार १८, चैत २०८१ ०१:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal