धनगढी । आर्थिक लेनदेनकाे अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चाैधरीले पदबाट राजीनामा दिएका छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चाैधरीले शनिबार मन्त्रालयमै पत्रकार सम्मेलन आयाेजना गर्दै राजीनामा दिएकाे घाेषणा गरेका हुन् ।
मन्त्री चाैधरीले दीगाे वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि बनाउने विषयमा छलफल गरेकाे अडियो सार्वजनिक भएपछि चाैधरीले नैतिकताका आधारमा पदमा नबस्ने घाेषणा गरेकाे बताए ।
चाैधरीले उक्त अडियाे भदाै महिनातिरकाे भएकाे बताउँदै केही काठ व्यवसायी र पार्टीका व्यक्ति छलफलमा रहेकाे खुलाएका छन् ।
भर्खरै मन्त्री बनेका कारण सचिवालयका कर्मचारीकाे आग्रहमा आफ्नै निवासमा उनीहरूसँग छलफल गरेकाे तर नियत गलत नभएकाे दाबी गरेका छन् ।
अडियोमा सुनिएजस्ताे त्यसमा मुख्यमन्त्रीलाई मिलाउने कुरा आफूले नगरेकाे तर साेध्नुपर्ने कुरा राखेकाे उनी बताउँछन् ।
प्रदेशका मुख्यमन्त्रीकाे उक्त प्रकरणमा कुनै संलग्नता नरहेकाे दाबी समेत गरिएको छ ।
सार्वजनिक अडियोमा दीगाे वन व्यवस्थापन सम्बन्धि कार्यविधि आइतबार पारित गर्ने बताएका मन्त्रीले २५ देखि ३० चाहिने र पाँच जति मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताएको सुनिएको छ ।
तर मन्त्री चाैधरीले उक्त कार्यविधि अहिलेसम्म पारित नभएको बताए । अडियोमा सार्वजनिक भएकाे विषयमा आफूले कुनै लेनदेन नगरेकाे तर वन सम्बन्धि अनुभव नभएका कारण छलफलमा मात्र गरेकाे दाबी मन्त्री चाैधरीकाे छ ।
उनले आफूमाथि छानबिन गर्न माग गर्दै दाेषी देखिए कारवाही भाेग्न तयार रहेको बताए ।
मन्त्री चाैधरीले नागरिक उन्मुक्ति पार्टीको आन्तरिक शक्ति संघर्ष र अन्य राजनीतिक दलकाे षड्यन्त्रकाे सिकार आफूलाई बनाईएकाे दाबी गरेका छन् ।
प्रतिकृया दिनुहोस