रोकिएको कर सङ्कलन अध्यादेश जारीपछि कर सङ्कलन सुरु

युग संवाददाता     177 पटक पढिएको    

रोकिएको कर सङ्कलन अध्यादेश जारीपछि कर सङ्कलन सुरु

धनगढी सुदूरपश्चिममा चालु आर्थिक वर्षको सुरुवातबाट रोकिएको कर सङ्कलनको कार्य बिहीबारबाट फेरि सुरु भएको छ । प्रदेश सरकारले ‘प्रदेश सामूहिक कर सङ्कलनसम्बन्धी अध्यादेश २०८१’ जारी गरेपछि कर सङ्कलनको कार्य सुरु भएको हो । साउन १ देखि यो कार्य रोकिएको थियो । बिहीबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले अध्यादेश पारित गरेलगत्तै प्रमाणीकरण र राजपत्रमा प्रकाशितका लागि सो अध्यादेश प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो ।

प्रदेश प्रमुख नजिर मियाँले अध्यादेश प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले जानकारी दिए । प्रमाणीकरण र राजपत्रमा प्रकाशितपछि अध्यादेश ऐन सरहको कानुन बनेको छ । साथै राजस्व सङ्कलनको बाटो खुलेको छ । दीर्घबहादुर सोडारी नेतृत्वको तत्कालीन सरकारले बजेटसहित आर्थिक र विनियोजन विधेयक पास गर्न नसक्दा राजस्व सङ्लन र खर्च रोकिएको थियो । त्यसपछि प्रदेशमा देखिएको आर्थिक शून्यतालाई भङ्ग गर्नका लागि सरकारले अध्यादेशमार्फत गाँठो फुकाएको छ ।


विश्वासको मतपछि सरकारले चाँडै नै नयाँ बजेट पनि ल्याउने मुख्यमन्त्री कमलबहादुर शाहले बताए । उनले प्रदेश सरकारले जारी गरेको ‘प्रदेश सामूहिक कर सङ्कलनसम्बन्धी अध्यादेश २०८१’ प्रमाणीकरण भएर बिहीबारबाटै राजस्व सङ्कलनको कार्य सुरु भइसकेको उल्लेख गरे । प्रदेश सरकारले यातायात कर, लिखत पाससम्बन्धी कर, स्थानीय तहले लिने मनोरञ्जन करलगायतका कर सङ्कलन गर्दै आएको छ । राजस्व सङ्कलनको कार्य रोकिएपछि तीन हप्ताभन्दा बढी समय सरकारले दैनिक ४० लाखको दरले करिब नौ करोड २० लाख रुपियाँ राजस्व गुमाएको छ ।

‘प्रदेश सामूहिक कर सङ्कलनसम्बन्धी अध्यादेश २०८१’ ल्याउनका लागि प्रदेश सभाको विशेष अधिवेशन बुधबार रातिबाट लागु हुने गरी अन्त्य गरिएको थियो । प्रदेश सभाको अधिवेशन अन्त्य नभएसम्म सरकारले अध्यादेश जारी गर्न नपाउने प्रावधान रहेको छ । गएको असारमा मनजुनजन्य विपत्ले प्रदेशमा गरेको क्षतिको सन्दर्भमा छलफलका लागि प्रदेश प्रमुख मियाँले साउन ८ गते विशेष अधिवेशन आह्वान गरेका थिए । चालु अधिवेशन अन्त्यका लागि प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारिस गरेपछि उहाँले अधिवेशन अन्त्य गरेका हुन् ।



शुक्रबार २५, साउन २०८१ ०१:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal