सात पहाडी जिल्लामा पहिरो तराईमा डुबानमा ठाउँ–ठाउँमा सडक अवरुद्ध

युग संवाददाता     230 पटक पढिएको    

सात पहाडी जिल्लामा पहिरो तराईमा डुबानमा ठाउँ–ठाउँमा सडक अवरुद्ध


धनगढी  /  सुदूरपश्चिम प्रदेशमा वर्षाका कारणले सात पहाडी जिल्लामा पहिरोले ठाउँ–ठाउँमा सडकहरु अवरुद्ध भएका छन् । धेरै स्थानमा वर्षा र तराईमा बाढीका कारण जनजीवन प्रभावित भएको छ । 

पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको छ भने कतै बाढीका कारण स्थानीय जोखिममा परेका छन् । लगातारको वर्षाले पहिरो खसेपछि बैतडीको सतबाँझ–श्रीभावर सडक अवरुद्ध भएको छ । सुर्नया गाउँपालिका–४ बङसल्लामा पहिरो खसेपछि सडक अवरुद्ध हुन पुगेको हो । सतबाँझ–श्रीभावर सडकमा नयाँ कटिङ भएका ठाउँमा पहिरो खसेको छ । उक्त सडक अवरुद्ध भएपछि सुर्नया गाउँपालिकाको केन्द्र आवत–जावतमा समस्या भएको छ ।

प्रदेश गौरवको आयोजनाको रुपमा रहेको सतबाँझ–श्रीभावर सडकमा स्तरोन्नतिको काम भइरहेको छ । स्तरोन्नतीका लागि सडक डबल कटिङ गरेको र ठाउँ–ठाउँमा पहिरो खसेको यातायात व्यवसायी रामबहादुर बिष्टले बताए ।

बङसल्ला हुँदै सुर्नया गाउँपालिकाको केन्द्र जोड्ने र सनशेरीमाडौं हुँदै पालिकाको केन्द्र जोड्ने दुवै सडकमा पहिरो खसेको छ । वर्षाले बैतडीका तीन घरमा क्षति भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकामा एक÷एक घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । वर्षापछि शनिबार दिउँसो दशरथचन्द नगरपालिका–९ गुवाडास्थित मनध्वज रानाको दुई तले कच्ची घर भत्किएको छ । 

यस्तै मेलौली नगरपालिका–२ टाकतोलास्थित सुशीलबहादुर चन्दको दुई तले कच्ची घरमा क्षति पुगेको प्रहरी निरीक्षक पाण्डेयले बताए । वर्षाको पानीले घरको पर्खाल भत्किएको हो । त्यस्तै पुर्चौडी नगरपालिका नगरपालिका–९ डण्डाखाली रिउले सार्कीको घरमा पहिरोले क्षति पुर्‍याएको छ । रिउलेको निर्माणाधिन घरमा माथिबाट खसेको पहिरोले क्षति पुर्‍याएको हो । पहिरोका कारण थप तीन घर जोखिममा परेका छन् । 

स्थानीय रिउले सार्की, झुसे सार्की र काशी सार्कीको घर उच्च जोखिममा परेका छन् ।  जोखिम परेका १५ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । उता दार्चुलामा बाढीले वस्ती जोखिममा पारेपछि ९२ जनाले आफ्नो घर छाडेका छन् । जिल्लाको मार्मा गाउँपालिकाको गन्याड खोलाको बाढीले बस्ती जोखिममा पारेपछि १४ परिवार विस्थापित भएका हुन् । 

लगातारको वर्षाका कारण मार्मा गाउँपालिका–४ र ५ को बीचको गन्याड खोलाको बाढीको जोखिमका कारण आसपास बस्तीका ९२ जना घर छाडेर विद्यालयमा बास बसेका छन्। सुदूरपश्चिममा तीन दिनसम्म वर्षा हुने अनुमान गरिएको छ । महाकाली बेसिन कार्यालय अत्तरियाले तीन दिनसम्म सतर्क रहन आग्रह गरेको छ । सो कार्यालयका प्रमुख सञ्जयकुमार साहले कैलाली र कञ्चनपुरका स्थानीयले सतर्कता अपनाउनुपर्ने बताए ।

पहाडी जिल्ला डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र बैतडी उच्च जोखिममा रहेकाले अझ बढी सतर्कता अपनाउनुपर्ने उनले बताए । प्रमुख साहका अनुसार शुक्रबार बिहान साढे ११ बजे पछिको तीन घण्टामा मात्रै ३६।६ मिलिमिटर पानी परेको छ । मनसुन न्यून चापीय रेखा केहीदिन नेपालको दक्षिणी भू–भागको आसपास रहने भएकोले २३ गते आइतबारसम्म वर्षा हुने अनुमान जल तथा मौसमविज्ञान महाशाखाले गरेको छ । 

कैलालीको भजनी क्षेत्र डुबानमा

वर्षाले कैलालीको भजनी क्षेत्र डुबानमा परिसकेको छ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिममा गरेको मौसम पूर्वानुमान तथा त्यसले पार्ने प्रभावको आधारमा सुदूरपश्चिम प्रदेश सरकारले तयारी अगाडि बढाएको छ । आन्तरिक मामिला मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह कार्कीले खोज, राहत र उद्धार नै मन्त्रालयको प्रमुख कार्य रहेको बताउँदै यो मनसुनमा ५३ हजार ३६२ घरधुरी तथा २ लाख ३३ हजार १९० जनसंख्या प्रभावित हुन सक्ने बताए । मन्त्रालयसँग हाल हाल २ सय थान टेन्ट, २ सय थान त्रिपाल मात्र मौज्दात रहेको छ ।

४ सय ३० थान त्रिपाल खरिद कार्य अगाडि बढाएको कार्कीले बताए । भूक्षय तथा नदी कटान रोकथामको लागि एक हजार थान बोरा खरिद गरिएको छ । विपद व्यवस्थापनको लागि प्रदेश सरकारले विपद व्यवस्थापन कोष खडा गरेको छ । सो कोषमा हाल १८ करोड बजेट रहेको मन्त्रालयले जनाएको छ ।



आइतबार २३, असार २०८१ ०७:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal