सेती नदी बस्ती पसेपछि बैतडीका ६० परिवार विस्थापित

युग संवाददाता     182 पटक पढिएको    

सेती नदी  बस्ती पसेपछि बैतडीका  ६० परिवार विस्थापित

बैतडी /  सेती नदीको जलस्तर बढेर बाढी बस्ती पस्न थालेपछि बैतडीको सिगासका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० घरपरिवारलाई स्थानीय शारदा माविमा सारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । उनले भने, ‘सेती नदी गाउँ पस्ने खतरा बढेपछि ढुङ्गाडका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारेका हौँ । स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा माविमा सारिएको छ ।’

नदीमा बाढीको सम्भावना बढेसँगै उनीहरू पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका हुन् । अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । नदी किनारमा लगाएको तटबन्धमाथि जलस्तर पुगेपछि स्थानीय बासिन्दा घर छाड्न बाध्य भएका इन्द्रबहादुर चन्दले बताए । सेती नदीमा पानीको बहाव बढ्दै गएपछि सिगास गाउँपालिका–५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको उच्च जोखिममा परेका छन् । यस्तै वडा नं ६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा परेका बताइएको छ ।
सेती नदीको बाढीले यहाँ बर्सेनि आतंक मच्चाउने गरेको छ। यसअघि २०७८ कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले सिगास–५ ढुङ्गाडलगायत क्षेत्रमा सेतीको बाढी पस्दा ठूलो क्षति गरेको थियो । लगातार वर्षा भइरहेकाले जोखिम हुनसक्ने भन्दै सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ



आइतबार २३, असार २०८१ ०६:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal