कांग्रेस र एमालेबीच सरकार गठनबारे छलफल, मार्ग प्रशस्त गर्न मुख्यमन्त्रीलाई सुझाव

युग संवाददाता     140 पटक पढिएको    

कांग्रेस र एमालेबीच सरकार गठनबारे छलफल, मार्ग प्रशस्त गर्न मुख्यमन्त्रीलाई सुझाव

 

धनगढी । केन्द्रीय सत्ता समीकरणमा आएको परिवर्तनसँगै सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठन हुने भएको छ । अहिले नेकपा एमालेसहितको समर्थनमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री छन् । तर, फेरिएको केन्द्रीय समीकरणपछि एमाले र कांग्रेसले नयाँ सरकार गठनको लागि छलफल थालेका छन् ।


नयाँ सरकार गठनबारे दुबै संसदीय दलका नेताहरुले मंगलबार राति महेन्द्रनगरमा छलफल गरे । काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाह र एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावलबीच दुबै दलहरूको संयुक्त सरकार बनाउने विषयमा छलफल भएको हो ।


छलफलमा नेपाली काँग्रेसका संसदीय दलका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा समेत सहभागी थिए ।
सुदूर पश्चिम सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने र नयाँ सरकार गठनको प्रक्रिया थालनी गर्ने विषयमा छलफल भएको नेपाली काँग्रेसका संसदीय दलका सदस्य प्रकाश बहादुर देउवाले बताए ।


उनले छलफल अत्यन्त सौहाद्र्धपूर्ण र सकारात्मक भएको बताए । दुबै दलका नेताले सुदूरपश्चिम प्रदेशमा विकास र सुशासन दिनेगरि सरकार गठन गर्ने विषयमा छलफल भएको उनले बताए ।

यहाँ काङ्ग्रेससँग १८ र एमालेसँग ११ सांसद छन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार गठन गर्न २७ सांसद आवश्यक पर्छ । कांग्रेस र एमाले मात्रै मिल्दा पनि यहाँ बहुमतको सरकार गठन हुन्छ ।

अहिलेको सरकारमा एमालेका पनि तीन मन्त्री सहभागी छन् । संघीय सरकारमा पनि एमालेको मन्त्री रहेको हुँदा केन्द्रमा फिर्ता भएसँगै यहाँ पनि फिर्ता हुने र त्यसपछि केन्द्रको सल्लाह अनुसार अगाडी बढ्ने एमालेको तयारी रहेको छ ।

भागबन्डा मिलाउन सुदूरपश्चिममा मन्त्रालय फोडिएको थियो । मन्त्रालय फोड्ने विषयको विरोध गरेको कांग्रेसले अब पूर्ववत् अवस्थामै मन्त्रालय फर्काउन लबिङ गर्ने देखिन्छ । एमालेले पनि सुशासन र विकासको लागि पूर्ववत् अवस्थामै मन्त्रालय फर्काउनु पर्ने बताएको छ ।



बुधबार १९, असार २०८१ ०६:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal