अछाममा छाउगोठमा किशोरी बलात्कृत  संसदमा उठ्यो प्रश्न, जवाफ दिन गृहमन्त्रीलाई रुलिङ

युग संवाददाता     176 पटक पढिएको    

अछाममा छाउगोठमा किशोरी बलात्कृत  संसदमा उठ्यो प्रश्न, जवाफ दिन गृहमन्त्रीलाई रुलिङ

काठमाडौं  अछामको पञ्चदेवल नगरपालिका–२ मा एक छाउगोठमा किशोरी बलात्कृत भएको विषय संघीय संसदमा उठेको छ । सरकार गम्भीर नभएको भन्दै सांसदहरूले प्रश्न गरे गरेपछि राष्ट्रिय सभाले उक्त घटनाकबारे जवाफ दिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गरेको छ ।

आइतबार बसेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जवाफ दिन गृहमन्त्रीलाई रुलिङ गरेका हुन् ।

‘अछामको छाउपडीको विषयमा, जुन विषय उठेको छ, त्यसको बारेमा गृहमन्त्रीले आएर जवाफ दिन म ध्यानाकर्षण गराउँछु । सचिवालयलाई पत्र पठाउन म निर्देशन दिन्छु’ अध्यक्ष दाहालले भने ।

यही असार असार ३ गते अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक किशोरी छाउगोठमा बलात्कृत भएकी थिइन् । 

मामाघरमा बसेर पढिरहेकी १६ वर्षीया किशोरी मध्यराति मामा नाता पर्नेबाट बलात्कृत भएकी थिइन् । प्रहरीले आरोपित १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार किशोरीलाई राति २ बजे पिसाब फेर्न छाउगोठ बाहिर निस्केका बेला मामा नाता पर्नेले बलात्कार गरेका थिए । बलात्कारपछि किशोरी बेहोस भएर अस्पताल लगिएको थियो । होस आएपछि उनीमाथि बलात्कार भएको खुलेको थियो ।

त्यसयता यो विषय संघीय संसदमा निरन्तर उठिरहेको छ । सांसदहरुले अपराध कर्ममा संलग्न किशोरमाथि हदैसम्मको सजाय माग गरिरहेका छन् । तर, गृहमन्त्रालय मौन रहेको भन्दै सरारको जवाफ माग गर्दै आएका छन् । सांसदहरुको माग अनुसार घटनाबारे जानकारी दिन सरकार तयार नभएको भन्दै सभाध्यक्ष दाहालले गृहमन्त्री लामिछानेलाई रुलिङ नै गरेका हुन् । 

विगतमा उठेका विषय विगतमा पठाउने गरेको भएता पनि सरकार गम्भीर नभएको सभाध्यक्ष दाहालको भनाइ छ । रुलिङ गर्नेक्रममा उनले आकस्मिक समय, शून्य समयलगायत समयमा सांसदले उठाएका विषय सम्बन्धित मन्त्री कहाँँ नियमित पठाउने गरेका स्मरण गरे ।

‘हरेक दिन पठाएका छौँ । यहाँ उठेका विषयहरूका बारेमा जवाफ दिन मन्त्रीहरूको कार्यतालिका नै हामीले दिइसकेका छौँ’ सभाध्यक्ष दाहालले भनेका छन्, ‘यी सबै विषयमा हामीले गम्भीर ढंगले रुलिङ गरेर ध्यानाकर्षण गराएका छौँ ।’ 

सभाध्यक्षको रुलिङसँगै अब सरकारले तयारी गरेर संसदमा जवाफ दिनुपर्छ । संसदीय अभ्यासमा सभाध्यक्षको रुलिङलाई बाध्यकारी मानिन्छ । कतिपयले यसलाई कार्यपालिकालाई व्यवस्थापिकाले जवाफदेही बनाउन गर्ने अभ्यासको रुपमा समेत अर्थ लगाउने गर्दछन् । 



सोमबार १०, असार २०८१ ०५:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal