तत्काल गठबन्धनमा कुनै पनि समस्या छैनः सञ्चारमन्त्री शर्मा

युग संवाददाता     189 पटक पढिएको    

तत्काल गठबन्धनमा कुनै पनि समस्या छैनः सञ्चारमन्त्री शर्मा


 


धनगढी असार ८ / सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले तत्काल गठबन्धनमा कुनै पनि समस्या नरहेको भन्दै जनमत र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउन प्रयास भइरहेको बताएकी छन् । प्रेस सेन्टर कैलालीद्वारा शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सो कुरा बताइन् ।

उनले सरकार सूचना प्रविधि दशक अभियानको तयारीमा लागि परेको पनि बताइन् । मन्त्री शर्माले त्यसका लागि सरकारी कार्यदल बनाएर दश वर्षे गुरुयोजना निर्माण गरिने बताइन् । उनले सूचना प्रविधि दशक अभियानले निजी क्षेत्र उत्साहित भएको र सूचना प्रविधिलाई व्यवस्थित बनाउन सकिए अर्बौँ राजस्व भित्र्याउन सकिने बताइन् । 

मन्त्री शर्माले मिडिया काउन्सिल ऐन संसदमा रहेको र सामाजिक सञ्जालसम्बन्धी विधेयक, आमसञ्चार विधेयक दर्ता प्रक्रियामा रहेको तथा दूरसञ्चार ऐनको ड्राफ्ट तयार भएको जानकारी दिइन् । आमसञ्चारसम्बन्धी सबै विधेयक, कानून पारित भएमा पत्रकारिता क्षेत्रमा पुनर्संरचना हुने मन्त्री शर्माले बताइन् । 

सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले सरकारले सुशासन, समृद्धि, सामाजिक न्यायका पक्षमा केन्द्रित भएर काम गरिरहेको बताइन् । जनताका आशा र अपेक्षालाई सम्बोधन हुने गरी सरकारले राम्रा काम गरिरहेको र त्यसले जनतालाई आशावादी बनाएको उनको भनाइ छ ।

जनअपेक्षा अनुसार समयमै पाठ्यपुस्तक, मलखादको वितरण लगायतका कामलाई सरकारले व्यवस्थित ढंगले अघि बढाएको उनको भनाइ छ । यस्तै, ललिता निवास प्रकरण, भुटानी शरणार्थी, सुन काण्ड लगायतमा अडिग भइ सरकारले काम गरेको र त्यसले जोसुकै भएपनि सजाएको भागिदार हुन्छ भन्ने स्थापित गरेको छ ।

पत्रकारको जिज्ञासामा मन्त्री शर्माले सरकारले विपद् व्यवस्थापनका लागि पूर्व तयारीको काम गरिरहेको र सञ्चारमाध्यममार्फत विपद् सचेतना सामग्री प्रसारणको व्यवस्था गरेको बताइन् । उनले भनिन्, ‘बजेटका कारण सरकार तलमाथि हुँदैन, त्यो सम्भावना छैन, वर्तमान गठबन्धन राजनीतिक स्थायित्व दिनेगरी पूरै अवधि लैजाने सहमति भएको छ ।’

सरकार बजेट निर्माणको प्रक्रिया छ, विनियोजनमाथि छलफलमा छ, त्यसैले बजेट चाँडै पारित हुने उनको भनाइ छ ।

बजेटमा देखिएका कमिकमजोरीलाई सुधार परिमार्जन गर्न प्रयत्न गरिने समेत उनले बताइन् । सञ्चारकर्मीको अर्को जिज्ञासामा मन्त्री शर्माले राजदूत लगायतका नियुक्ति सरकारको नियमित प्रक्रिया भएकाले त्यो स्वाभाविक भएको उल्लेख गर्दै त्यसलाई बजेटसँग जोड्न उपयुक्त नहुने बताइन् ।

मन्त्री शर्माले सामाजिक सूचना सन्देश प्रवाहका क्षेत्रमा चलचित्र क्षेत्र महत्वपूर्ण प्रभावकारी माध्यम भएकाले सरकारले शारीरिकरुपमा अपाङ्गता भएका कला क्षमता भएकाहरूलाई पनि कला क्षेत्रमा जोड्ने गरी सरकार लागि परेको बताइन् । 



आइतबार ०९, असार २०८१ ०७:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal