धनगढी रोजगार मेलामा एक हजारलाई रोजगारी

युग संवाददाता     270 पटक पढिएको    

धनगढी रोजगार मेलामा एक हजारलाई रोजगारी

धनगढी जेठ २८  /  सुदूरपश्चिम प्रदेशको धनगढीमा आइतबारदेखि शुरु भएको श्रमाधान रोजगार मेलाको पहिलो दिन एक हजार जनाले रोजगारी प्राप्त गरेका छन् । यसैगरी मेलामा २२ सय ५० जनाले रोजगारीका लागि आवेदन दिएको आयोजकले बताएको छ ।

मेला अवलोकनका लागि आएका एक हजार युवाले रोजगारी प्राप्त गरेको र हजारौंले रोजगारीका लागि आवेदन दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्त बोहोराले जानकारी दिए ।

मेलामा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट युवाहरु रोजगारीबारे जानकारी लिन तथा आवेदन दिनका लागि सहभागी भएका थिए । मेलामा रोजगारीबारे जानकारी लिने युवाहरु, निजी क्षेत्रका रोजगारदाता, रोजगारसम्बन्धी सरोकारवाला संघ संस्थाहरुको ठूलो उपस्थिति रहेको थियो । मेलामा आन्तरिक रोजगार सम्बन्धित निजी क्षेत्र, वैदेशिक रोजगारसम्बन्धी जानकारी गराउने सरकारी निकाय, सामाजिक सुरक्षा कोषबारे जानकारी गराउने उद्देश्यका साथ ३७ वटा स्टलहरु रहेका छन् ।

मेलाको आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका हुन् । उनले उद्यमशीलता र रोजगारी वर्तमान अवस्थामा अतिआवश्यक रहेकाले मेलाले रोजगारदाता र रोजगार खोज्नेबीच समन्वय कायम हुने विश्वास व्यक्त गरे । मेला स्वदेशमा रोजगारीको अवसर सिर्जना गरी आवश्यक जनशक्ति तयार गर्न कोशेढुंगा सावित हुने उनको भनाइ थियो । मेलामा निजी क्षेत्र तथा सरकार मातहतका निकायहरुले एउटै थलोमा बसेर रोजगारसम्बन्धी सम्पूर्ण जानकारी लिन र दिन सक्ने मन्त्री भण्डारीले बताए ।

मेलामा रोजगारीका लागि फारम भरेका सबैले रोजगारी पाउने अवस्था भने छैन । सुदूरपश्चिममा रहेको व्याप्त बेरोजगारी धनगढीमा आयोजना गरिएको रोजगार मेलाले देखाएको छ ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सुदूरपश्चिममा व्याप्त बेरोजगारी रहेको बताए । उनले भने, ‘हामी तीनै तहको सरकार यहाँ छौं । यो भिडले अबको आवश्यकता देखाएको छ । अबको युवालाई रोजगारी चाहियो । अबको युवालाई सीप चाहियो ।’

सुदूरपश्चिम प्रदेशका नागरिक रोजगारीको खोजीमा भारतका विभिन्न क्षेत्रमा जाने गरेका छन् । केही युवाहरु तेस्रो मुलुकमा समेत रोजगारीका लागि जाने गरेका छन् ।

दैनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने युवाहरुको भिड हुने गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलकोजस्तै भिड आइतबार धनगढी रोजगार मेलामा देखिएको थियो ।

सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री टीका थापाले कृषिमा शून्य प्रतिशत ब्याजमा ऋण दिने गरेको बताइन् । उनले भनिन्, ‘मार्गदर्शन छ । किसानलाई परिचयपत्र पनि दिएका छौं । विदेशबाट फर्किएका युवालाई शून्य व्याजमा ऋण पनि दिएका छौं ।’

सुदूरपश्चिमका स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले रोजगारीका अवसरहरु सिर्जना गर्न नसकेको गुनासो छ । तीन तहका सरकारले युवाहरुलाई दक्षसमेत बनाउन नसकेको तर्क गरिएको छ ।

तर सुदूरपश्चिममा रोजगारीका लागि औद्योगिक क्षेत्र स्थापनाको चरणमा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दाबी गरेका छन् । उनले भने, ‘संस्थानहरु थन्काइएको छ । हामी कानून संशोधन गरेर सञ्चालनको तयारीमा छौं । सुदूरपश्चिममा पनि सम्भावनाहरु छन् ।’ सुदूरपश्चिममा एउटै गतिलो उद्योग नभएका कारण पनि बेरोजगारी समस्या वर्षेनी बढ्दै गएको छ ।

श्रमाधान मेला जेठ १७ देखि कोशी प्रदेशको विराटनगरबाट शुरु भइ यही जेठ ३० गेत बागमती प्रदेशको ललितपुरमा समापन हुने मन्त्रालयले जनाएको छ ।



सोमबार २८, जेठ २०८१ ०५:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal