सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले दिए पदबाट राजीनामा

युग संवाददाता     151 पटक पढिएको    

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले दिए पदबाट राजीनामा

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्। आज बिहीबार प्रदेश प्रमुख नजिर मियाँको निवासमा पुगेर मुख्यमन्त्री शाहले राजीनामा पत्र बुझाएका हुन्।


प्रदेश सभामा आज विश्वासको मत लिने तयारीमा रहेका शाहले अन्तिममा आएर बहुमत नपाउने भएपछि राजीनामा दिएका हुन्। दिउँसो ३ बजेलाई बोलाईएको प्रदेश सभा बैठक ५ बजेसम्म विश्वासको मत लिने कार्यतालिका थियो। ५ बजेपनि मुख्यमन्त्री शाहको पक्षमा बहुमत नजुटेपछि उनले राजीनामा बुझाएका हुन्।

नागरिक उन्मुक्ति र काँग्रेसको मात्र मुख्यमन्त्री शाहलाई समर्थन रहेको थियो। तर, नागरिक उन्मुक्ति पार्टीले मत नदिने भएपछि राप्रपा र स्वतन्त्र प्रदेश सभा सदस्यले पनि मत नदिने भनेपछि मुख्यमन्त्री शाह समस्यामा परेका थिए। विश्वासको मत दिने नदिने विषयमा नागरिक उन्मुक्ति पार्टीभित्र चर्को मतभेद भएको र स्वतन्त्र सांसदले समेत विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन्।

माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रदेशका मुख्यमन्त्री शाहको साथ छोडेकाले उनी अल्पमतमा परेका थिए। सरकारले कुनै पनि पार्टीको साथ गुमाएपछि सदनबाट एक महिना भित्र विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ। सुदूरपश्चिममा माओवादी केन्द्र,एमाले,एकीकृत समाजवादी पार्टीसहितको नया गठबन्धनको प्रदेश सरकार गठनका लागि बाटो खुल्ला भएको छ। सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्। सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक पर्ने गर्छ ।

 



बिहिबार २२, चैत २०८० ०१:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.