धनगढी उप महानगरले  बनाउँदै स्मार्ट सार्वजनिक शौचालय

युग संवाददाता     136 पटक पढिएको    

धनगढी उप महानगरले  बनाउँदै स्मार्ट सार्वजनिक शौचालय


धनगढी, ३ फागुन । सार्वजनिक शौचालयको कमीको समस्या बेहोरिरहेका धनगढी उपमहानरबासीहरू अब स्मार्ट ९आधुनिक० शौचालयको सुविधा पाउने भएका छन् । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले बजारका मुख्य क्षेत्रहरूमा स्मार्ट सार्वजनिक शौचालय निर्माण कार्य अघि बढाएको हो ।

उपमहानगरपालिका कार्यालयका अनुसार पहिलो चरणमा कार्यालय परिसर अगाडि र जिल्ला प्रशासन कार्यालय अगाडि स्मार्ट सार्वजनिक शौचालय निर्माणाधीन छन् । उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर द्विजराज भट्टले भने– पहिलो चरणमा दुई स्थानमा निर्माण भइरहेका छन् । विस्तारै अरु स्थानमा समेत निर्माण गर्ने योजना छ ।

धनगढीको मुख्य सडक हाल स्तरोन्नती भइरहेको छ । करिब डेढ लाख जनसंख्या रहेको र दिनभरी यात्रुहरूको निकै चाप हुने धनगढी उपमहानगरपालिकामा सार्वजनिक शौचालयको कमीका कारण निकै समस्या हुने गरेको छ । डिभिजनल इन्जिनियर भट्टले भने– हामी व्यवस्थित सहर निर्माणको क्रममा छौ । सभ्य र सुन्दर सहरका लागि सार्वजनिक शौचालय अपरिहार्य भएकोले पहिलो चरणमा दुई वटा निर्माण गरिरहेका छौ । थप शौचालय निर्माणका लागि पनि जग्गाको खोजी भइरहेको छ ।

उपमहानगरपालिका कार्यालय अगाडि निर्माणाधीन शौचालयको निर्माण कार्य करिब ५० प्रतिशत पुरा भइसकेको छ । इन्जिनियर भट्टका अनुसार सो शौचालय निर्माणमा ५० लाख रुपैयाँ खर्च हुने अनुमान रहेको छ ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय अगाडि निर्माण भइरहेको सार्वजनिक शौचालयको लागत २३ लाख रुपैयाँ रहेको छ । जिल्ला प्रशासन अगाडि बुधबारदेखि निर्माण कार्य सुरु भएको छ ।

स्मार्ट सार्वजनिक शौचालयमा स्यानिटरी प्याड, पर्याप्त पानी, बत्ती र सुविधाजनक शौचको सुविधा रहेको छ । शौचालयमा महिला, पुरुष र अपाङ्गता भएका व्यक्तिका लागि छुट्टाछुट्टै कक्ष बनाइने छन् ।

स्मार्ट सार्वजनिक शौचालयमा सफाईका लागि पानी, ट्वाइलेट पेपर, स्प्रे, साबुन तथा विद्युतीय हिटरको समेत सुविधा रहने छ । स्मार्ट शौचालयमा पानी धारा र बत्तीमा सेन्सर प्रणाली जडान गरिने छ ।

त्यस्तै, शौचपछि प्रयोग गरिने सामग्री व्यवस्थापनका लागि आधुनिक उपकरण समेत राखिने छ । डिभिजनल इन्जिनियर भट्टले भने– यो ९स्मार्ट सार्वजनिक शौचालय ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालमैत्री हुनेछ ।

उपमहानगरपालिकाले सार्वजनिक शौचालय बाहिर पनि सरसफाई तथा स्वच्छ वातावरण बनाउन आवश्यक प्रबन्ध गर्ने समेत जनाएको छ ।



बिहिबार ०३, फागुन २०८० ०१:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.