अनिश्चितकालका लागि सुदूरपश्चिम प्रदेश सभाको बैठक  स्थगित

प्रदेश सभा

युग संवाददाता     207 पटक पढिएको    

अनिश्चितकालका लागि सुदूरपश्चिम प्रदेश सभाको बैठक  स्थगित


धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक अर्को सूचना जारी नहुँदा सम्मको लागि स्थगित गरिएको छ । तेस्रो अधिवेशनको सातौँ बैठकमा मंगलवार सभामुख भीम भण्डारीले अनिश्चितकाल सम्मको लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

बैठक स्थगित हुनु अघि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सामान्य छलफल भएको थियो । कांग्रेस सांसद मानबहादुर रावलले प्रज्ञा प्रतिष्ठानको काम कारबाही बारे आफूहरू बेखवर रहेको र १० जना सदस्यहरू बाट १८ जना सदस्य बनाउने कुरा उचित नभएको बताएका थिए । माओवादी सांसद शिवसिंह ओलीले सुदूरपश्चिम प्रदेशको पहिचान र संस्कृति भाषा साहित्यको लागि प्रज्ञा प्रतिष्ठान आवश्यक रहेको बताए ।

राजनैतिक हस्तक्षेप नगर्ने गरी प्रज्ञा प्रतिष्ठान बनाउनु पर्नेमा जोड दिए । ‘यसमा सरकारको मुख्यमन्त्री कुलपति मन्त्री सहकुलपति बन्नु पर्ने केही कारण छैन ’उनले भने ‘कुलपति र उपकुलपति पनि प्राज्ञिक व्यक्तिलाई दिनुपर्छ ।’ एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रज्ञाको क्षेत्रमा पनि राजनैतिक हस्तक्षेप गर्न नहुने बताएका थिए । प्रदेशलाई आर्थिक भार बढाउने गरी सङ्ख्या बढाउन थालेको भन्दै ९ जिल्लाका ९ प्रतिनिधिको रूपमा ल्याउनु पर्नेमा उनले जोड दिए ।


नागरिक उन्मुक्ति पार्टीकी इन्दिरा जोशीले प्रदेशको कला संस्कृति र भाषा संरक्षणमा प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरिन् ।
नेकपा एकीकृत समाजवादीका प्रकाश रावलले सुदूरपश्चिमको संस्कृति व्यवस्थित गर्न विधेयक आएको बताए । ओझेलमा परेको भाषा र संस्कृति संरक्षणमा टेवा पुग्ने उनको भनाइ थियो । काङ्ग्रेसकी सांसद तुलसि देवकोटाले समय सापेक्ष अनुसार परिवर्तन गर्नु पर्ने बताइन् ।सामान्य छलफलमा उठेका प्रश्नबारे आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले जवाफ दिएका थिए ।ठुलो क्षेत्र भएको हुँदा १८ जना सदस्य आवश्यक पर्ने उनले बताए ।



बिहिबार २५, माघ २०८० ०३:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal