उग्रतारा–मेलौली सडक कालोपत्रे सुरु

युग संवाददाता     159 पटक पढिएको    

उग्रतारा–मेलौली सडक कालोपत्रे सुरु


डडेलधुरा। सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना उग्रतारा– मेलौली सडकअन्तर्गत थप १० किलोमिटर सडक कालोपत्रे सुरु भएको छ । डडेलधुराको उग्रतारा मन्दिरको फेददेखि बैतडीको पञ्चेश्वर गाउँपालिका जोड्ने राजमार्ग निर्माण सुरु भएको तीन दशकपछि थप १० किलोमिटर कालोपत्रे हुन थालेको हो ।


सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय डडेलधुराको करिब २३ करोड रुपियाँ लागतमा कालोपत्रे हुन थालेको हो । पूर्वाधार विकास कार्यालय प्रमुख नवराज रावलले अजयमेरु गाउँपालिकाको–१, बयलडाँडादेखि–२, चमडासम्म कालोपत्रे गर्ने कार्य सुरु भएको बताए। ‘डीबीएस टी’ प्रविधिमा कालोपत्रे हुन थालेको यो सडकको चौडाइ भने पाँच मिटर रहेको छ । केएस कन्स्ट्रक्सनमार्फत कालोपत्रेको काम भइरहेको छ, रावलले भन्नुभयो, “चालु आर्थिक वर्षभित्रै पूरा गर्ने गरेर सम्झौता भएको छ ।”


यसअघि उग्रतारादेखि बयलडाँडासम्म आठ किलोमिटर सडक सोही कम्पनीले कालोपत्रे गरेको हो । डडेलधुरा र बैतडीको तल्लो स्वराज क्षेत्र पञ्चेश्वर जोड्न उग्रतारा–मेलौली सडकको योजना अघि बढाइएको थियो ।यसअघि पूर्वाधार विकास कार्यालयकै कुल १२ करोड ४५ लाख रुपियाँ लागतमा आठ किलोमिटर सडक कालोपत्रे भएको थियो । सडक कालोपत्रे भएपछि अजयमेरु गाउँपालिका–२ को चमडा क्षेत्रमा यातायात सहज हुनेछ । सडक कालोपत्रे भएसँगै चमडावासीले कच्ची सडकको यात्रा गर्नुपर्ने बाध्यता हट्ने स्थानीय हरि ऐरले बताए।


निर्माणाधीन उक्त सडकको सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले निरीक्षण गर्नुभएको छ । उहाँसँगै प्रदेश सचिव प्रेमदत्त भट्ट, पूर्वाधार विकास कार्यालयका प्रमुख रावलले पनि निर्माणाधीन सडकको निरीक्षण गर्नुभएको हो। सो अवसरमा मन्त्री देउवाले सडक निर्माणको कार्य समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । मन्त्री देउवाले लामो समयदेखि अलपत्र परेका योजनाको चालु आर्थिक वर्षभित्रै टुङ्गो लगाउन निर्देशन दिए ।

“निर्माण व्यवसायीको कमजोरी र अन्य विभिन्न कारणले लामो समयसम्म कतिपय योजना अलपत्र परेका छन्,” उनले भने, “त्यसमा सम्बन्धित कार्यालयको पनि कमजोरी हुन सक्छ । निर्माण व्यवसायीको कमजोरी छ भने चालु आर्थिक वर्षभित्रै काम सुरु हुनुपर्छ। अब म्याद थप गर्न आवश्यक छैन । काम नगर्ने तर म्याद मात्र थप्ने गर्दा समस्या हुन्छ ।” मन्त्री देउवाले विगतमा टुक्रे योजनाका लागि बजेट विनियोजन गर्दा निकै समस्या भएको बताउँदै ती योजनाबारे पनि सोच्नुपर्ने समय आइसकेको बताए ।



आइतबार १७, बैशाख २०८० १०:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.