राष्ट्रपतिको निर्वाचन नसार्न निर्वाचन आयोग र सरकारसँग कांग्रेसको माग

युग संवाददाता     214 पटक पढिएको    

राष्ट्रपतिको निर्वाचन नसार्न निर्वाचन आयोग र सरकारसँग कांग्रेसको माग


काठमाडौं माघ ९  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको आज भएको बैठकले सो निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । 

बैठकले कुनै पनि कानुनी अड्चन देखाएर राष्ट्रपतिको निर्वाचन पछि सार्न नहुनेबारे सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो । बैठकमा राष्ट्रपतिको निर्वाचन समयमै गर्नुपर्ने र कुनै कानुनी समस्या भए त्यसलाई समाधान गरी निर्वाचन प्रक्रियालाई अघि बढाउनुपर्ने सम्बन्धमा छलफल भएको उनले बताए । 

कांग्रेसले राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा अरू दलको पनि सहयोग लिएर प्रस्तुत हुने दृष्टिकोण राखेको प्रवक्ता महतले बताए । यसका लागि कांग्रेसले संसद्मा रहेका अन्य दलसँग पनि सरसल्लाह गर्ने जनाएको छ ।


नेपालको संविधानको धारा ६३ मा राष्ट्रपतिको कार्यकाल पाँच वर्ष हुने उल्लेख छ । राष्ट्रिपति विद्यादेवी भण्डारी २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि सो पदमा निर्वाचित भएकी हुन् । यसैगरी राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ४ मा आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने उल्लेख  छ । 



सोमबार ०९, माघ २०७९ ०१:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.