सीमा क्षेत्रमा लफडा, केही नेपाली घाइते

युग संवाददाता     260 पटक पढिएको    

सीमा क्षेत्रमा लफडा, केही नेपाली घाइते

 

धनगढी मंसिर १८  दार्चुलास्थित नेपाल र भारतको सीमानाका क्षेत्रमा लफडा भएको छ। आइतबार जिल्लास्थित नेपाल–भारत जोड्ने महाकाली नदी माथिको पुलमा लफडा भएको हो।


भारतले दार्चुलाको महाकाली नदी किनारमा धार परिवर्तन हुने गरी तटबन्धको निर्माण कार्य गरिरहेको छ। सोही तटबन्ध निर्माणको नेपाली नागरिकहरुले विरोध गरेपछि विवाद भएको हो। 

आज भएको विवादमा भारतीयले नेपाली नागरिकमाथि दार्चुला पारि भारतको धार्चुलाबाट ढुंगा प्रहारसमेत गरेका छन्। घटनाको विस्तृत विवरण नआएको तर भारतीय नागरिकले ढुंगा प्रहार गर्दा चार नेपाली घाइते भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 


प्रहरीका अनुसार नेपाली नागरिकहरुले अहिले तटबन्धको विरोधमा नेपाल–भारत जोड्ने पुलमा आवतजावत बन्द गरेका छन्। आज करीब ४ बजेतिर घटना भएको र केही व्यक्ति घाइते भएको सूचनापछि टोली त्यता पठाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

महाकाली नदी माथिको पुलले वारि दार्चुला र पारि भारतको धार्चुला जोड्छ। भारतले पछिल्लो समय धमाधम तटबन्ध निर्माण गरिरहेको छ। नदीको सतह नै परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्नसक्ने भन्दै स्थानीय आन्दोलित बनेका छन्। भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउदै उनीहरुले आन्दोलन थालेका छन्।



आइतबार १८, मङि्सर २०७९ ०२:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.