कञ्चनपुरका सबै मतदान केन्द्र लैङ्गिक समावेशी र अपाङ्गमैत्री

युग संवाददाता     187 पटक पढिएको    

कञ्चनपुरका सबै मतदान केन्द्र लैङ्गिक समावेशी र अपाङ्गमैत्री

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका मतदान केन्द्रलाई लैङ्गिक समावेशी र अपाङ्गमैत्री बनाइएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीका अनुसार प्रतिनिधिसभाका तीन वटा निर्वाचन क्षेत्रमा रहेका तीन सय ४६ मतदान केन्द्रलाई लैङ्गिक समावेशी र अपाङ्गमैत्री बनाइएको हो ।

“निर्वाचन आयोगको निर्देशनअनुसार सुत्केरी, गर्भवती, किरियायुत्री, (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) ज्येष्ठ नागरिक, बिरामी र अपाङ्गगता भएका व्यक्तिलाई मतदान गर्न सहज हुने गरी मतदान केन्द्र बनाइएका छौँ”, उनले भने, “यस्ता मतदातालाई लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था गरिएको छ ।”

निर्वाचन क्षेत्र नं १ मा एक सय १९, निर्वाचन क्षेत्र नं २ मा एक सय १८ र निर्वाचन क्षेत्र नं ३ मा एक सय नौ मतदान केन्द्र रहेका छन् । निर्वाचनका लागि तीन सय ४६ मतदान केन्द्रमा दुई हजार सात सय ५० जना कर्मचारीलाई खटाइएको छ । निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी निर्वाचन केन्द्रमा पुगिसकेका छन् । निर्वाचनमा खटिएका कर्मचारीलाई निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचनसम्बन्धी सामग्री उपलब्ध गराई केन्द्रमा खटाइएको हो । 

“निर्वाचनसम्बन्धी तयारी अन्तिम चरणमा पुगेको छ”, कार्यालय प्रमुख जोशीले भने, “निर्वाचनका लागि बुथ निर्माण गर्ने कार्यमा सुरक्षाकर्मी र कर्मचारी जुटेका छन् ।” उहाँका अनुसार जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्र राखिएका छन् । जिल्ला कारागार कञ्चनपुरमा एक र भीमदत्त नगरपालिका कार्यालयमा एक गरी दुईवटा अस्थायी मतदान केन्द्र राखिएको हो । कारागारमा राखिएको अस्थायी मतदान केन्द्रमा ३३ जना कैदीबन्दीले समानुपातिकतर्फको मतदान गर्न पाउनेछन् । भीमदत्त नगरपालिका कार्यालयमा राखिएको मतदान केन्द्रमा कर्मचारीले मतदान गर्न पाउने छन् ।

यसैबीच, निर्वाचनलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मङ्सिर १ देखि ४ गते राति १२ बजेसम्म जिल्लाभर तथा मतदानस्थल र सोको वरिपरि तीन सय मिटर क्षेत्रसम्म निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि कुनै पनि प्रकारको मादक पदार्थ बेचबिखन, ओसारपसार र सेवन गर्न निषेध गरेको छ । निर्वाचनलाई दृष्टिगत गरी अनुमतिबाहेकका कुनै पनि निजी तथा सार्वजनिक सवारी साधनहरु मङ्सिर ४ गते बिहान ४ देखि साँझ ७ बजेसम्म सञ्चालमा रोक लगाइएको छ ।



शनिबार ०३, मङि्सर २०७९ १२:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.