सीमा समस्या समाधान गर्नेलाई मत दिने

युग संवाददाता     134 पटक पढिएको    

सीमा समस्या समाधान गर्नेलाई मत दिने

कञ्चनपुर । कञ्चनपुर भीमदत्त नगरपालिका–४ की स्थानीयवासी ललितादेवी भटट वर्षमा दुई पटक स्वास्थ्योपचारका लागि भारत जानुपर्छ । तर, आवतजावत गर्दा प्रायः सबै भारतीय सुरक्षाकर्मीको अनावश्यक ज्यादतीको झमेला भोग्नुपर्छ । 
यस पटकको निर्वाचनमा सीमावर्ती बजारदेखि दिल्लीसम्म जाँदा भोग्नुपर्ने झन्झटको कूटनीतिक समाधान निकाल्ने उम्मेदवारलाई मतदान गर्ने पक्षमा उनी छन् । उनले भनिन्,‘हरेक उम्मेदवारलाई मैले भारत आवतजावत गर्दा नेपालीले पाउने सास्ती अन्त्य हुन्छ कि हुँदैन भनेर सोध्ने गरेकी छु । मलाई चित्त बुझ्ने उत्तर दिने उम्मेदवारलाई भोट हाल्छु ।’
जनताको असीमित आशा र अपेक्षाका बीच सुदूरपश्चिम प्रदेशको सुगम जिल्ला कञ्चनपुरमा चुनावी सरगर्मी बढेको छ। मङसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा जनताबाट अनुमोदित हुने प्रयासमा उम्मेदवार छन । स्थानीय तहको निर्वाचनअनुसार सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको मतभार बलियो रहँदा नेकपा (एमाले) मुख्य प्रतिस्पर्धीका रूपमा देखिएको छ ।
सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यमा कञ्चनपुर क्षेत्र नं. १ मा माओवादी नेत्री बिना मगर, क्षेत्र नं. २ मा कांग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश (एनपी) साउद र क्षेत्र नं. ३ मा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक छन् । एमालेका तर्फबाट क्षेत्र नं. १ मा तारा लामा तामाङ, क्षेत्र नं. २ मा नरबहादुर धामी र क्षेत्र नं. ३ मा नीरूदेवी पाल उम्मेदवार छन् । 
सडक सञ्चालनले सबै पालिका र वडाहरू जोडिए पनि कालोपत्रे नहुँदा आमनागरिकले सास्ती बेहोर्नुपरिरहेको छ । कांग्रेस नेता साउदले आफू निर्वाचित भएपछि सडक स्तरोन्नतिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।  
उनले कञ्चनपुरलाई समुन्नत बनाउन व्यवस्थित गुरुयोजना बनाएर अघि बढने पनि बताए । उनले भने,बताए । उनले भने–‘महाकाली तेस्रो परियोजना म सिँचाइमन्त्री हुँदा सुरु भएको थियो, फुलेलीसम्म पुगेको छ । अब मालाखेतीसम्म लैजाने प्रबन्ध हुँदै छ ।’
नदी नियन्त्रण, शुक्लाफाँटा आरक्षणको सीमावर्ती क्षेत्रसँग जोडिएका क्षेत्रका नागरिकको समस्या समाधानदेखि र थारू बस्तीदेखि शुक्लाफाँटासम्म सडक जोडन सके पर्यटकीय विकास हुने भएकाले यसका लागि पहल गर्ने उनको अठोट छ । 
माओवादी नेत्री मगरले अघिल्लो कार्यकालमा सम्पन्न हुन बाँकी रहेका सडक आयोजना, विद्युत विस्तार र आमनागरिकको आर्थिक विकासका कार्यक्रमहरू पूरा गर्ने बताइन् । एमाले उम्मेदवारद्वय पाल र धामीले अघिल्लो कार्यकालमा विकासका काम गरेको बताउँदै जिल्लाको विकासका मुद्दा उठाएका छन् । 
कञ्चनपुर क्षेत्र नं. ३ का उम्मेदवार एवं कांग्रेस नेता लेखकले भारतसँगको सीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्न परराष्ट्र मन्त्रालयसँग धेरै पटक कुरा गरेको बताए । उनले भारतका विदेशमन्त्रीसँग पनि यस विषयमा कुरा भइसकेको बताउँदै निर्वाचनपछि बन्ने सरकारलाई कूटनीतिक समाधानका लागि पहल गर्न दबाब दिने प्रस्ट पारे । 
उनले भने,‘सीमा क्षेत्रको समस्या सचेत भएर उठान गर्नुपर्छ, मैले सम्बन्धित निकायसँग छलफल गरेरै कुरा अघि बढाएको छु । यस विषयमा दुवै देशका सम्बन्धित निकायसँग संवाद अघि बढाइनेछ ।’ प्रतिनिधि सभातर्फ कञ्चनपुर क्षेत्र नं. १ मा १० जना, क्षेत्र नं. २ मा १० जना र क्षेत्र नं. ३ मा १२ जना उम्मेदवार छन् । प्रदेश सभाका छ क्षेत्रमा ५० जनाले उम्मेदवारी दिएका छन् ।     



सोमबार २८, कार्तिक २०७९ ०६:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.