सीमा अपराध नियन्त्रण बनेन चुनावी मुद्दा

युग संवाददाता     110 पटक पढिएको    

सीमा अपराध नियन्त्रण बनेन चुनावी मुद्दा

धनगढी। सीमा क्षेत्रमा हुँदै आएको अपराध नियन्त्रणलाई राजनीतिक दलहरुले चुनावी मुद्दा बनाउन सकेका छैनन् ।

सामाजिक विकासका महत्वपूर्ण पक्षको रुपमा रहेको अपराध नियन्त्रणका कुरालाई दलहरुले बेवास्ता गर्दै आएका हुन । १०१ किलोमिटर नेपाल–भारत खुल्ला सिमाना रहेको कैलालीमा सीमा अपराध रोकिएको छैन । लुटपाट, तस्करी, लागुऔषध ओसारपसारका घटना घट्दै आएका छन् । 

तर, यस्ता घटनालाई निरुत्साहित गर्ने खालको कुरालाई दलहरुले आ–आफ्ना घोषणापत्रमा स्थान दिएको पाइदैन । घरदैलोको क्रममा पनि नेताहरुले सीमा अपराध नियन्त्रणका कुरालाई उठाएको अहिलेसम्म नसुनिएको सीमावर्ती क्षेत्र टीकापुर नगरपालिका–७ बैदीका भोजराज ढुङ्गानाले बताए । ‘अपराधलाई निरुत्साहित गर्ने भनेर चुनावको बेला नेतागणहरुले बोलेको अहिलेसम्म त सुनिएको छैन’, उनले भने,‘तर, केही पार्टीले लागुऔषध दुव्र्यसन नियन्त्रणका कुरालाई भने राखेको पाइएको छ ।’ 

जिल्लाको दक्षिणी क्षेत्र लागुऔषध ओसारपसारको लागि ‘ट्रान्जिट प्वाइन्ट’ नै मानिन्छ । खक्रौला, कालाकुण्डा, भजनी, लालबोझी, हसुलिया, फूलबारी, बङ्गरा, त्रिनगर लगायतका नाका भएर भारतबाट लागुऔषध ओसारपसार हुँदै आएको बताइन्छ ।

त्यतिमात्रै हैन, तस्करीदेखि लिएर लुटपाट, चोरीको घटना पनि हुने गर्दछन् । भारतबाट नेपाल पस्ने चोरले स्थानीयका राँगो, गोरु, बाख्रा, बयलगाडासहित विभिन्न सामान पनि चोर्ने समस्या छ । स्थानीयले विगतदेखि भोग्दै आएका यस्ता समस्यालाई समाधानका लागि पहल कद्मी भूमिका निर्वाह गर्ने कुरा दलहरुबाट नआउने गरेको कैलारी गाउँपालिका–७ का बुझौना चौधरीले बताए।

‘सीमा क्षेत्रमा अपराध नियन्त्रणको कुरा त केवल सुरक्षाकर्मीको ठेक्का जस्तैमात्रै देखिन्छ’, उनले भने,‘यसमा राजनीतिक दलका नेता बोल्दैनन् । बरु, कोही अपराधी पक्राउ परेमा छोड्नका लागि उल्टै सुरक्षाकर्मीलाई नेताहरुदे दबाब दिने गरेको कुरा पनि बेला बेलामा सुनिन्छ ।’ 

नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि पछिल्लो समय कैलालीको १६ स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । सीमा क्षेत्रमा भइरहेका विभिन्न गतिविधिलाई सशस्त्र प्रहरीले चौबिसै घण्टा नजरअन्दाज गर्ने कार्य गर्दै आएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी बसेपछि विगतमा बढी घट्ने गरेका चोरी, डकैती, लुटपाट जस्ता घट्नामा कमी आएको ढुङ्गाना बताउँछन् । ‘त्यस्ता घटना घटेको अहिले सुनिदैन’, उनले भने,‘यद्यपि, अन्य अपराधका घटना यदाकदा घटिरहेका छन् ।’ 

लागुऔषध ओसारपसार र तस्करी भने सीमामा सशस्त्र प्रहरीको उपस्थितिले पनि नियन्त्रणमा आउन सकेको छैन । अझै पनि नियन्त्रणमा आउन नसकेका यस्ता अपराधका घटना निरुत्साहित गर्ने र अमनचयन प्रवद्र्धन गर्ने खालका कार्यलाई दलहरुले वास्ता नगर्ने गरेको सीमा क्षेत्रका बासिन्दाको बुझाइ छ । 

सीमा क्षेत्रमा बसेकै कारण सीमावर्ती नेपालीबाट भारतीय अधिकारीले विभिन्न नाममा नगदका साथै जिन्सी बाली असुल्ने गरेका छन् । त्यतिमात्रै हैन, निःशुल्कमा श्रमदान पनि गराउने गरिएको छ । भारतीय भूमिमा चरिचरन, खरखराइ गर्न दिने भन्दै भारतीय अधिकारीहरुले आफूहरुलाई श्रमदान गराउने गरेको मोहनपुरका स्थानीय बलराम चौधरीको भनाइ छ । उनले भने,‘यस्ता कार्य रोक्नका लागि दलका नेताहरुले पहल कद्मी भूमिका निर्वाह गर्नुपर्दछ । तर, उनीहरु जनताका यस्ता समस्यालाई उजागर गरेको सुनिदैन । खाली विकासको आश्वसनमात्रै बाँड्ने गर्दछन् ।’ 

नगद, बाली दिनुका साथै श्रमदान गरेमामात्रै भारतमा खरखराइ र वस्तुभाउ चरिचरनका लागि जान दिने भनेर भारतीय अधिकारीहरुले स्थानीयलाई धम्क्याउने गरेका छन् । त्यतिमात्रै हैन, कतिपयलाई पक्राउ गरेर मुद्दा लगाएर मोटो रकम असुल्ने गरेको स्थानीय बताउँछन् । सीमावर्ती क्षेत्रका जनतामाथि भारतीय पक्षबाट हुँदै आएको यस्ता कार्य रोक्नु पर्ने भनेर स्थानीय प्रशासनले भने दुई देशको सीमा पार बैठकमा कुरा उठाउँदै आएको छ । सीमा क्षेत्रमा हुने गरेको अपराध, चोरी, तस्करी, बाढी, डुबानका समस्यालाई राजनीतिक दलका नेताहरुले प्राथमिकतासाथ उठाउन आवश्यक रहेको चौधरीको जोड छ । 



शनिबार २६, कार्तिक २०७९ ०४:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.