डडेल्धुराको उग्रतारा मन्दिरमा आज देहीजाँत, यस्ताे छ किंवदन्ती

युग संवाददाता     141 पटक पढिएको    

डडेल्धुराको उग्रतारा मन्दिरमा आज देहीजाँत, यस्ताे छ किंवदन्ती

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज मेला लाग्दैछ । डडेल्धुराको अमरगढी नगरपालिका-८ मा लाग्ने उक्त मेलालाई स्थानीय भाषामा ‘देहीजाँत’ भनिछ । त्यहाँ हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ।

खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आई दिउसेडी मेला सुरु भएको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाट समेत हजारौँ श्रद्धालु आउने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए ।

उग्रतारा मेलालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न तथा मेलामा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि मेलाभर जुवातास तथा मदिराजन्य वस्तु बिक्रीवितरणमा रोक लगाउने समितिको निर्णय छ । किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साँकी जातिका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो । आफूले खान ल्याएको खिचडीले टालेर रगत रोकिएपछि देवी उत्पन्न भई दर्शन दिएको र स्थापना गरिएको विश्वासमा त्यसबेलादेखि कात्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेला लाग्ने परम्परा छ ।

सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्यहरू, इष्टमित्र तथा साथीसंगीसँगकाे भेटघाट तथा दुःखसुख साटासाटका साथै सुदूरपश्चिमको लोकप्रिय परिकार माँडाकाे स्वाद देहिजाँतमा पाइन्छ । बिहान ४ बजे धार्मिक परम्पराअनुसार दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंख, घण्टा इत्यादी बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु हुन्छ ।

मेलामा हराउँदै गएका अन्नबाली फापर, टिमुर, तिललगायत अदुवा, बेसार, चुक, मह, घ्यू, सुन्तला, मौसमी केरालगायत स्थानीयस्तरमा उत्पादित विभिन्न वस्तुसँगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग र तरकारीको मेलामा राम्रो व्यापार हुन्छ ।



बुधबार २३, कार्तिक २०७९ ०२:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.