निर्वाचन गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउनू : स्वास्थ्य मन्त्रालय

युग संवाददाता     401 पटक पढिएको    

निर्वाचन गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउनू : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा। समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रमहरूमा भीडभाड गर्दा कोभिड–१९ को संक्रमण दर बढ्नसक्ने बताए ।

उनले देशमा कोभिड संक्रमण दर धेरै नभए पनि संक्रमणको अवस्था भने यथावत रहेको उल्लेख गरे । प्रवक्ता अधिकारीले भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरू पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानी अपनाउनु जरुरी रहेको बताए । उनले कोभिड–१९ विरुद्धको खोप नलगाएका व्यक्तिलाई भीडभाड हुने ठाउँमा नजान पनि आग्रह गरे ।

उनले विश्वव्यापीरूपमा कोभिड–१९ को संक्रमण घटेको पनि बताए । नेपालमा पनि विगतभन्दा सहज अवस्था रहेको अधिकारीको भनाइ छ । तर, पनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनाका कारण सावधानी अपनाउनुपर्ने उनले स्पष्ट पारे । 

डा. अधिकारीले देशमा अहिले ६ सयको हाराहारीमा कोभिड–१९ का संक्रमितहरू रहेको बताए ।  डा. अधिकारीले अहिलेसम्म ६ करोडभन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ । जसमध्ये साढे ५ करोड मात्रा खोप लगाइसकिएको तथ्यांक छ । उनले खोप लगाउने लक्षित जनसंख्या २ करोड ३३ लाख भन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको जानकारी दिए ।

उनले ८० लाख बुस्टर मात्राको प्रयोग भएको पनि बताए । प्रवक्ता अधिकारीले कोभिड–१९ विरुद्धको खोप सरकारसँग बाँकी रहेको पनि जानकारी दिए । सर्वसाधारणलाई नियमित रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीलाई सम्पर्कगरी कोभिड–१९ बिरुद्धको खोप लगाउन पनि डा। अधिकारीले आग्रह गरे ।  



मङ्गलबार २२, कार्तिक २०७९ ०७:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.