बालविवाह रोक्दै, सक्षम बन्दै बैतडीका किशोरकिशोरी

युग संवाददाता     130 पटक पढिएको    

बालविवाह रोक्दै, सक्षम बन्दै बैतडीका किशोरकिशोरी

बैतडी / बैतडीको मेलौली नगरपालिका ६ की हरु भट्ट किशोरकिशोरीका माग पूरा गराउन वडा कार्यालय सम्म पुग्ने गरेकी छन् । किशोरकिशोरीका माग सहित योजना बनाएर उनले वडा कार्यालयमा बुझाइन् ।

किशोरकिशोरीहरुको समग्र विकासका लागि योजना सञ्चालन हुनुपर्ने भन्दै उनले वडामा निवेदन समेत दिएकी छिन् । उनले भनिन् ‘हाम्रा विभिन्न खालका समस्याहरु रहेका छन् । ती समस्या समाधानका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराएका छौं ।’ बालविवाह, लैंगिक हिंसा, भेदभाव लगायतका विभिन्न हानिकारक प्रथा समाजमा कायमै रहेकाले ती प्रथाहरु हटाउन अहिले जिल्लाका विभिन्न स्थानका किशोरकिशोरी सक्रिय भएका हुन् । बैतडीमा सञ्चालनमा रहेको रुपान्तरण कार्यक्रममा आवद्ध किशोरकिशोरीहरुले बालविवाह अन्त्यका लागि पहल गरिरहेका छन् ।

बालविवाहले समग्र किशोरकिशोरीको जीवनमा समस्या ल्याउने भएकाले आफूहरु बालविवाह अन्त्यको अभियानमा लागेको मेलौलीकी लक्ष्मी कार्कीले बताइन् । उनले भनिन् ‘बालविवाहले पार्ने असरका बारेमा थाहा पाएपछि हामीले अहिले गाउँगाउँमा अभियान सञ्चालन गरेका छौं ।हाम्रो अभियानले सकारात्मक सन्देश दिएको छ ।’ संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, भीएसओ र पीसवीन नेपालको सहयोगमा बैतडीका विभिन्न स्थानीय तहमा रुपान्तरण कार्यक्रम सञ्चालनमा रहेको छ ।

सो कार्यक्रम अन्तर्गत किशोरकिशोरीहरुको समूह बनाएर साप्ताहिक रुपमा कक्षा समेत सञ्चालन हुने गरेको छ । साप्ताहिक कक्षामा किशोरकिशोरीका समस्याका बिषयमा छलफल हुने र ती समस्या समाधानका लागि स्थानीय सरकारसंग माग गर्ने गरेको डिलाशैनीकी किशोरी सहजकर्ता अनुष्का भट्टले बताइन् । उनले भनिन् ‘हाम्रा विभिन्न खालका समस्याहरु छन् । बालविवाह रोक्नका लागि हामीले सञ्चालन गरेको अभियानमा वडा कार्यालयको पनि साथ खोजेका छौं । कार्यक्रम सञ्चालनका लागि वडा कार्यालयलाई आग्रह गरेका छौं ।’

बालविवाहले पार्ने असरका बारेमा थाहा पाएपछि बालविवाह रोक्ने अभियानमा किशोरकिशोरीहरु आँफै सक्रिय भएका छन् । गाउँपालिकासंग सचेतनामूलक सडक नाटकका लागि सहयोग गर्न आग्रह गरेको डिलाशैनीका सहजकर्ता पदम मालले बताए । साप्ताहिक रुपमा सञ्चालन हुने कक्षामा छलफल गरेका बिषयवस्तुलाई सडक नाटक मार्फत प्रस्तुत गर्ने योजना रहेको उनले सुनाए ।

किशोरकिशोरीहरुले राखेका मागप्रति स्थानीय सरकारहरु पनि सकारात्मक देखिएका छन् । किशोरकिशोरीहरुको समग्र विकासका लागि नगरपालिकाका तर्फबाट सहयोग गर्ने मेलौली नगरपालिकाकी उपप्रमुख पार्वती बोहरा बिष्टले बताइन् । उनले भनिन् ‘हामीले नगरपालिकाका तर्फबाट किशोरकिशोरी लक्षित कार्यक्रमका लागि बजेट छुट्याएका छौं । उनीहरुकै माग बमोजीम कार्यक्रम सञ्चालन गर्छौ ।’

मेलौली नगरपालिकामा किशोरकिशोरीहरुले बालविवाह अन्त्य गर्न र अन्य हानिकारक प्रथा प्रचलन अन्त्यका लागि गरेको पहल निकै सकारात्मक रहेको र यसमा नगरपालिकाले सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत जगदीश जोशीले बताए । जिल्लाको डिलाशैनी गाउँपालिकाले पनि बालविवाह अन्त्यका लागि किशोरकिशोरीहरुको पहलमा साथ दिने जनाएको छ । किशोरकिशोरीहरुका समस्या समाधान र उनीहरुको क्षमता अभिवृद्धिका लागि गाउँपालिकाले कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए ।

बालविवाह एक सामाजिक समस्या भएकाले यसको अन्त्यका लागि डिलाशैनी सरकार प्रतिबद्ध रहेको उनले बताए । उनले भने ‘हाम्रो पालिकामा किशोरकिशोरीहरुले गरेको पहल निकै सराहनीय छ । हामी यसमा पालिकाका तर्फबाट सहयोग गर्छौं ।’ बालविवाह एक सामाजिक समस्याको रुपमा रहेकाले बालविवाह अन्त्यका लागि रुपान्तरण कार्यक्रम सञ्चालनमा रहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । 



शनिबार १९, कार्तिक २०७९ ०६:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.