ओलीको बोलीले उल्टियो एमालेको निर्णय, देउवाविरुद्ध कर्ण मल्ललाई फेरि समर्थन

युग संवाददाता     145 पटक पढिएको    

ओलीको बोलीले उल्टियो एमालेको निर्णय, देउवाविरुद्ध कर्ण मल्ललाई फेरि समर्थन

डडेल्धुरा / डडेल्धुरामा नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ललाई सहयोग गर्ने नेकपा एमालेले निष्कर्ष निकालेको छ । डडेल्धुरामा एमाले र कांग्रेस बीपीबीच भाँडिएको चुनावी तालमेल पुनः कायम भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महेन्द्रनगरको चुनावी सभामा डडेलधुरामा मल्ललाई समर्थन गर्न निर्देशन दिएका थिए । ‘हामी हाम्रो प्रतिबद्धतामा कायम छौं । मैले सुने त्यहाँ कसैले वक्तव्य निकाल्यो भनेर । तर त्यस्तो अधिकार अरुलाई छैन,’ ओलीले भने । डडेलधुरा एमालेले भने मल्ललाई समर्थन नगर्ने निर्णय गरेको थियो । एमाले डडेलधुराका अध्यक्ष प्रकाश साउद र सचिव शिवराम ताम्राकारले विज्ञप्ति जारी गर्दै स्वतन्त्र उम्मेदवार विक्रमबहादुर शाहीलाई समर्थन गरेका थिए ।

तर ओलीले त्यो विज्ञप्ति निकाल्ने अधिकारी उनीहरुलाई नभएको भन्दै मल्ललाई समर्थन गर्न निर्देशन दिएका थिए । ओलीको निर्देशनपछि एमाले डडेल्धुराले मल्ललाई समर्थन गर्न बाध्य भएको छ । एमाले डडेलधुराका अध्यक्ष प्रकाश साउदले अब पार्टीले मल्ललाई समर्थन गर्नेमा सन्देह नरहेको बताए । उनले भने, ‘अब एमालेको समर्थन कर्ण मल्ललाई नै हो । अध्यक्ष नै बोलेपछि कुनै दुविधा नै रहने । हामी जिल्लाले भनेको कुरा कटप भइहाल्यो ।’

तर कांग्रेस बिपीले प्रदेश (२) एमालेलाई समर्थन गर्ने नगर्ने नैतिकताको विषय भएको साउदले बताए । उनले भने, ुहामीले कर्ण मल्लजीलाई समर्थन गर्छौँ । उनले प्रदेश (२) मा हामीलाई समर्थन गर्छन् भन्ने विश्वास छ । तर गर्नु भएन भने पनि कारबाही गर्ने विषय भएन । यो उनको राजनीतिक नैतिकताको कुरा हो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग एमाले र कांग्रेस बीपीको साझा उम्मेदवारका रुपमा मल्लले प्रतिस्पर्धा गर्ने निश्चित भएको हो । कांग्रेस बिपीसँग चुनावी तालमेल गर्ने भन्दै एमालेले डडेलधुरामा प्रतिनिधिसभा तर्फको उम्मेदवारी फिर्ता लिएको थियो । प्रतिनिधिसभामा कांग्रेस बिपी र दुवै प्रदेशसभा एमालेले लिने गरी चुनावी तालमेल भएको थियो । तर मल्लले प्रदेश (२) मा सत्ता गठबन्धनमा विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका तारा जोशीलाई समर्थन गरेपछि एमालेले समर्थन फिर्ता लिएको थियो ।

त्यसपछि डडल्धुरामा प्रतिनिधिसभा उम्मेदवार विहीन भएको एमाले डडेल्धुराले एमालेमा विद्रोह गरी स्वतन्त्र उम्मेदवार विक्रमबहादुर शाहीलाई समर्थन गरेपछि मल्ल दबावमा परेका थिए । यो बीचमा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालले फोन गरेर मल्ललाई पार्टीको समर्थन रहने बताएका थिए । ओलीले समर्थनको सार्वजनिक घोषणा गरेपछि मल्ल पनि ढुक्क देखिएका छन् ।

मल्लले भने,  ‘महासचिव र उपमहासचिवले फोन गरेर पनि एमालेको समर्थन तपाईँलाई  नै हो भन्नु भएको थियो । एमाले अध्यक्षज्यूले नै बोलिसकेपछि ढुक्क भइयो ।’  



शनिबार १९, कार्तिक २०७९ ०३:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.