आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

युग संवाददाता     326 पटक पढिएको    

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

काठमाडौं, १८ कात्तिक । आज  कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ ।

हरिबोधिनीका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ ।  एकादशीहरूमा सबैभन्दा ठूलो हरिबोधिनी एकादशीलाई मानिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् ।

असाढ शुक्ल एकादशीको दिन भगवान विष्णु सुतेर कात्तिक शुक्ल एकादशीका दिन उठ्ने विश्वास गरिन्छ ।  विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ । हरिबोधिनी एकादशीका दिन भगवान विष्णुले माता तुलसीको प्रार्थना सुनेको र यसै प्रार्थनाको प्रभावले निन्द्राबाट  ब्यूँझिएको धार्मिक कथन छ  । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो ।

हरिबोधिनी एकादशीका दिन घर घरमा पूजा गर्दै आएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिने चलन छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने धार्मिक विश्वास छ ।  तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । 

आजको दिन भगवान् विष्णुको भजनकीर्तन गर्दै रातभर जाग्राम बस्ने चलन छ । यसरी गरिएको पूजा आराधनाबाट सुख, सम्बृद्धि र सबै प्रकारको मनोकामना प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।



शुक्रबार १८, कार्तिक २०७९ ०१:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal