कञ्चनपुरमा नौ सिटका लागि ८२ जना प्रतिस्पर्धी

युग संवाददाता     144 पटक पढिएको    

कञ्चनपुरमा नौ सिटका लागि ८२ जना प्रतिस्पर्धी

कञ्चनपुर / कञ्चनपुरमा प्रतिनिधि सभा तथा प्रदेश सभाका नौ पदका लागि ८२ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । तीमध्ये स्वतन्त्र र विभिन्न पार्टीका बागी उम्मेदवार १८ जना छन् । 
कञ्चनपुरको क्षेत्र नं. १ मा प्रतिनिधि सभाका लागि तीन जनाको स्वतन्त्र उम्मेदवारी छ। नेकपा (एमाले) प्रदेश कमिटी सचिवालय सदस्य खेम सुवेदी, नेपाली कांग्रेस निकट जगतबहादुर सायर र हरिनादेवी भट्ट रहेका छन्। पार्टीका उम्मेदवारविरुद्ध बागी रहेका सुवेदीलाई नेकपा (एमाले)ले पार्टीबाट निष्कासन गरिसकेको छ । 
सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का बिना मगर र नेकपा (एमाले) कञ्चनपुरका पूर्वअध्यक्ष तारा लामा तामाङसमेत चुनावी मैदानमा छन् । क्षेत्र नं. १ को ‘क’ मा नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारीको स्वत्रन्त्र उम्मेदवारी परेको छ । अधिकारीलाई पनि नेकपा (एमाले)ले कारबाही गरेको छ । ‘क’ प्रदेशमा आठ जनाले प्रतिस्पर्धा गर्दै छन् । जसमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बन्धु राना र नेकपा (एमाले)का पूर्वअध्यक्ष वीरबहादुर थापा पातलसमेत चुनावी मैदानमा छन् । 
यस्तै क्षेत्र नं. १ को ‘ख’ मा नेकपा (एमाले)का जिल्ला कमिटी सदस्य टेकबहादुर साउद र नागरिक उन्मुक्ति पार्टी निकट नेत्रलाल चौधरीको स्वत्रन्त्र उम्मेदवारी परेको छ । सो प्रदेशमा पनि आठ जनाले प्रतिस्पर्धा गर्दै छन् । प्रदेश सभा ‘ख’ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता तथा संविधान सभा सदस्य दिवानसिंह विष्ट र नेकपा एमालेका सचिव पल्लवराज भट्ट चुनावी मैदानमा रहेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए । 
यस्तै क्षेत्र नं. २ मा प्रतिनिधि सभाका लागि १० जनाको उम्मेदवारी परेको छ । सो क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउद र पूर्वसांसद तथा एमालेका नेता नरबहादुर धामीसमेत प्रतिस्पर्धामा छन् । 
यसैगरी यस्तै क्षेत्र नं. २ प्रदेश सभा ‘क’ का लागि नौ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। एमालेका तर्फबाट युवा सङ्घ नेपालका पूर्वअध्यक्ष बचनबहादुर सिंह र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता ओमविक्रम भाट ‘सरल’ चुनावी मैदानमा छन् । 
यस्तै क्षेत्र नं. २ को ‘ख’ प्रदेश सभा सदस्यका लागि पनि नौ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। जसमा एमालेका तर्फबाट संविधान सभा सदस्य कृपाराम राना, नेकपा (एकीकृत समाजवादी)का तर्फबाट पूर्वप्रदेशमन्त्री लालबहादुर खड्का र गठबन्धनका तर्फबाट पूर्वसांसद बहादुरसिंह थापासमेत चुनावी मैदानमा छन् । 
यस्तै क्षेत्र नं. ३ मा प्रतिनिधि सभाका लागि १२ जना चुनावी मैदानमा छन् । जसमा गठबन्धनका तर्फबाट पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक र नेकपा एमालेका पोलिटब्युरो सदस्य, कञ्चनपुर जिल्ला इन्चार्ज निरुदेवी पालसमेत चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा चार जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार बन्नेमा नेपाली कांग्रेस नजिकका दीपकबहादुर सिंह र शारदादेवी चन्द तथा दल नखुलेका मदन दमाई र सुभाषसिंह धामी रहेका छन् । 
यसैगरी क्षेत्र नं. ३ को ‘क’ मा प्रदेश सभा सदस्यका लागि पनि ११ जनाबीच प्रतिस्पर्र्धा हुने भएको छ । जसमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकेन्द्रप्रसाद भट्ट, नेकपा (एकीकृत समाजवादी)का तर्फबाट प्रदेश सरकार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट धर्मराज जोशी प्रतिस्पर्धी रहेको छ । जोशी राप्रपा र एमालेको तालमेलका उम्मेदवार हुन । सो क्षेत्रमा नेपाली कांग्रेस नजिकका तथा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वर्तमान अध्यक्ष पीताम्बर जोशी, नेकपा (एकीकृत समाजवादी) नजिकका नेता लोकविक्रम थापालगायत पाँच जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । 
यस्तै क्षेत्र नं. ३ को ‘ख’ मा प्रदेश सभा सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ । जसमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता बेलबहादुर रानामगर, नेकपा एमालेका तर्फबाट अध्यक्ष तथा भीमदत्तका नगरपालिकाका पूर्वप्रमुख सुरेन्द्रबहादुर विष्ट, नेपाली कांग्रेस (बीपी)बाट धनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका तर्फबाट लक्ष्मण रोकाया र भीमबहादुर कुमाल स्वतन्त्र उम्मेदवार रहेका छन् ।   



शनिबार २९, असोज २०७९ ०६:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.