टीकापुरमा बाढीबाट सात सय परिवार विस्थापित

युग संवाददाता     171 पटक पढिएको    

टीकापुरमा बाढीबाट सात सय परिवार विस्थापित

टीकापुर / लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् । यस्तै जानकी गाउँपालिकामा ३६ परिवार विस्थापित भएका छन् । यीमध्ये ४७ घर पूर्णरुपमा क्षति भएको छ । विस्थापितका घरमा बाढीले क्षति पु¥याएपछि खानेपानी तथा शौचालयको समेत समस्या भएको छ ।

बाढी प्रभावित हुनेमा टीकापुरमा एक सय बढी गर्भवती र सुत्केरी, तीन सय २० पाँच वर्षमुनिका बालबालिका, चार सय पाँच वर्षमाथिका बालबालिका, ५५ ज्येष्ठ नागरिक, २० अपाङ्गता भएका व्यक्ति र नौ अन्य बिरामी रहेका नगरपालिकाले जनाएको छ । बाढीका कारण नागरिक समस्यामा परेकाले विपद् व्यवस्थापन समितिको बैठकले बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्राथमिकताका आधारमा राहत दिने निर्णय गरेको छ ।

नगरपालिकालाई बाढीपीडितका लागि तत्काल टेन्ट, त्रिपाल, खाद्यान्न, भाँडाकुँडा, खानेपानी, तयारी खाना, गुन्द्रीलगायतका सामान आवश्यक पर्ने भएकाले त्यसको जोहोका लागि सरोकारवालासँग छलफल गरिएको छ । बाढीका कारण टीकापुर नगरपालिका सबै वडा प्रभावित भएका छन् । बाढीले बढी क्षति वडा नं ५, ६, ७, ८ मा पु¥याएको छ । कर्णाली नदीमा पानीको बहाव बढेपछि कतिपय ठाउँमा नदी ओभरफ्लो भएर बस्तीमा पसेको छ भने कतिपय ठाउँमा नदी फुटेर बस्तीमा पसेको हो । टीकापुर–८ को वनगाउँमा कर्णाली नदी फुटेर बस्तीमा पस्दा त्यहाँ ठूलो क्षति भएको छ ।

बाढीले नागरिक प्रभावित मात्र नभई धानबाली सडेर बोटमै उम्रन थालेको छ । फुल्न थालेको धान पनि सखाप भएको वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए । “पाकेको धानबाली सबै हावा तथा पानीले ढलेर नास भइसकेको छ । फुलिरहेको धान पनि डुबान तथा पटानले सकियो, नदी बस्तीमा पसेपछि धानबाली रहने त कुरै भएन”, उनि भन्छन्, “प्रभावित नागरिक राहतभन्दा पनि दीर्घकालीन समाधानको माग गर्छन् । त्यहाँ भोकमरी सुरु हुने भएको छ ।”

वडा नं ५ का वडाध्यक्ष बलवीर चौधरी पनि आफ्नो वडामा धानबाली खेतमै उम्रिसकेको बताउँछन् । “अझै जलमग्न छ । धान खेतमै सडिसक्यो”, उनले भने, “घरमा पानी पस्यो, घरका सबै सामान नोक्सान भए, खेतमा रहेको धानबाली पनि सखाप भयो । हामीले कसरी स्थानीयवासीलाई सान्तवना दिनु रु”



बुधबार २६, असोज २०७९ ०८:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.