सुर्खेत / कर्णाली प्रदेशभर बाढी पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको छ। प्रदेश प्रहरी कार्यालय, कर्णालीले दिएको जानकारीअनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो।
सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।
उनका अनुसार मुगुमा आठ जना, कालिकोट र हुम्लामा ४-४ जना, जाजरकोटमा तीन जनाको मृत्यु भएको छ। डोल्पा र सल्यानमा २-२ जनाको मृत्यु भएको छ भने दैलेखमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सुर्खेत र रुकुम पश्चिममा भने मानवीय क्षति नभएको प्रहरीको भनाइ छ।
२२ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए। बेपत्ता हुनेहरूमा सबैभन्दा धेरै कालिकोटमा एक प्रहरी जवानसहित २० जना छन् भने जुम्लाका दुई जना र दैलेखका एक जना छन्।
यसैबीच, बाढीपहिरोमा परि प्रदेशभर २१ जना घाइते भएको प्रहरीको तथ्याङ्कमा छ। जसअन्तर्गत कालिकोटका मात्रै सात जना छन् भने मुगु र हुम्लाका ५-५ जना घाइते भएका छन्। यसैगरी, जुम्लाका दुई, रुकुम पश्चिमका एक जना र जाजरकोटका एक जना घाइते भएको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
लतारको बर्षाका कारण कर्णाली प्रदेशभर चार सय ८० परिवार विस्थापित भएका छन्। प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा धेरै दैलेखमा एक सय तीन परिवार विस्थापित भएका छन्।
प्रतिकृया दिनुहोस