पहाडी जिल्लाका सडक अवरुद्ध हुँदा यात्रु समस्यामा

युग संवाददाता     127 पटक पढिएको    

पहाडी जिल्लाका सडक अवरुद्ध हुँदा यात्रु समस्यामा

बैतडी / लगातारको वर्षाले दसैँ मनाएर फर्किने सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका यात्रु समस्यामा परेका छन् । सुदूरपश्चिममा दसैँको दिनदेखि वर्षा भइरहेको छ । वर्षाले यहाँका विभिन्न जिल्लाका राजमार्ग बन्द, हिलाम्मे र खाल्डाखुल्डीले गर्दा  यात्रु जोखिमपूर्ण यात्रा गरिरहेका हुन् ।

पाँच दिनदेखिको अविरल वर्षाले यहाँका दशरथचन्द राजमार्ग, महाकाली राजमार्ग, जयपृथ्वी राजमार्ग, भीमदत्त राजमार्ग, केआइसिंह राजमार्ग बेला–बेलामा अवरुद्ध भइरहेका छन् । राजमार्ग अवरुद्ध हुँदा दसैँ मनाएर फर्किने यात्रु घण्टौँसम्म बाटोमै बस्नुका साथै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कर्मचारी, विद्यार्थीलाई कार्यालय र विद्यालय सञ्चालन भइसकेकाले दसैँको टीका लगाएर फर्किरहेका हुन् ।

बैतडीबाट आठ घण्टामा महेन्द्रनगर पुगिने भए पनि पहिराले ठाउँ–ठाउँमा सडक अवरुद्ध हुँदा १३ घण्टामा पुगिएको गोकर्ण विष्टले बताए । लगातारको वर्षाले कतिबेला पहिरो जाने हो भनेर चिन्तामा यात्रा गर्नुपरिरहेको हो । निरन्तरको वर्षाले ग्रामीण सडक पनि अवरुद्ध हुँदा दसैँ मनाएर फर्किनेसमेत समस्यामा परेका छन् । राजमार्ग क्षेत्रमा पहिराको जोखिम र ग्रामीण सडक हिलाम्मे हुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

यस्तै लगातारको वर्षाका कारण यात्रामा जोखिम हुने भन्दै धेरैजसो गाउँबाटै फर्किन पाएका छैनन् । बाटोमा सडक अवरुद्ध हुने समस्या र जोखिमपूर्ण यात्रा हुने भएकाले काठमाडौंजानबाट रोकिएको दोगडाकेदार–३ श्रीकोटका लोकेन्द्र नाथले बताए । बाटोमा गएर जोखिममा पर्नुभन्दा बरू एक–दुई दिन ढिला जाने तयारी गरेको भए पनि वर्षा नरोकिँदा यात्रा नै अनिश्चित बनेको उनको भनाइ छ ।

पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्ने गरिएको भए पनि लगातारको वर्षाले पुनः अवरुद्ध हुने गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । राजमार्ग क्षेत्रमा डोजर तयारी अवस्थामा राखिएका भए पनि ठाउँ–ठाउँमा पहिरो जाने गरेकाले समस्या हुने गरेको उनको भनाइ छ ।



मङ्गलबार २५, असोज २०७९ ०५:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.